एन्टिबायोटिक्सको घेराबन्दीमा नागरिक, म्याद सकिएका एन्टिबायोटिक्स किसानलाई वितरण
काठमाडौं । यती बेला गरिब देशहरू एन्टिबायोटिक्सको घेराबन्दीमा परेका छन् । जथाभावी रुपमा गरिएको प्रयोगबाट एन्टिबायोटिक्सले काम गर्न छाडेको छ ।
चिकित्सा जगतमा लामो काम गरेका अधिकारीहरू भन्छन्, ‘गरिब देशहरूमा एन्टिबायोटिक्सले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ। एन्टिबायोटिक्सले काम गर्न छाडेसँगै एन्टिमाइक्रोबियल रेसिस्टेन्ट बढ्न थालेको छ। सर्वसाधारण कुनै न कुनै रुपमा एन्टिबायोटिक्सको घेराबन्दीमा परिरहेका छन् ।’
म्याद हुँदासम्म फार्मेसीबाट एन्टिबायोटिक्स किनेर खाएका नागरिकले म्याद सकिएपछि तरकारी तथा फलफुलमार्फत खानु परेको विज्ञहरू बताउँछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रमुख विशेषज्ञ डा.संगिता मिश्राले म्याद सकिएका एन्टिबायोटिक्सहरू किसानले लगेर प्रयोग गर्ने गरेको बताईन् ।
राजधानीमा गरिएको एउटा कार्यक्रममा डा. मिश्राले म्याद सकिएका एन्टिबायोटिक्स सुरक्षित रुपमा नष्ट गर्नेभन्दा पनि किसानले लगेर विभिन्न स्थानमा प्रयोग गर्ने गरेको बताईन् ।
म्याद सकिएका यस्ता एन्टिबायोटिक्स कृषिमा प्रयोग हुँदा थप जोखिम बढेको अधिकारीहरू बताउँछन् । यस्तै कारणले विस्तारै एन्टिबायोटिक्सको कार्य क्षमता शून्यमा पुग्दै गएको र भविष्यमा देशले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आएको शिक्षण अस्पताल महाराजगञ्जका क्लिनिकल फार्माकोलोजी विभागका सह प्राध्यापक डा. सतिस देव बताउँछन् ।
नेपालमा भएका विभिन्न अध्ययनहरूका अनुसार चिकित्सकको प्रेस्किप्सन बिना हुने एन्टिबायोटिक्स बिक्रिदर ५० प्रतिशत पुगेको छ । साथै दुर्गममा एन्टिबायोटिक्सको प्रेस्किप्सन दर ५० दशमलव ४ प्रतिशत रहेको छ ।
त्यस्तै हेल्थ पोष्टमा ५२ दशमलव २ प्रतिशत रहेको छ । यो अत्यन्तै भयावह अवस्था रहेको त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीव विज्ञान विभागका पूर्वप्रमुख डा. मेघराज बन्जारा बताउँछन् ।
‘प्रमुख विशेषज्ञ डा. मिश्राले भनिन्, ‘एन्टिबायोटिक्स औषधिको म्याद सकिन्छ त्यो कहाँ जान्छ भन्ने थियो । म्याद सकिएको एन्टिबायोटिक्स खेति गर्ने किसानहरूले लैजाने रहेछन् । यसले मानिसको स्वास्थ्यमा गंभिर समस्या ल्याउँछ ।’
उनका अनुसार आईसीयूमा चाहिनेभन्दा धेरै एन्टिबायोटिक्स चलिरहेको छ । चिकित्सकहरूले पनि डराएर हो वा किन हो, सुरुमै एन्टिबायोटिक्स चलाइरहेका छन् । यसलाई सबै सचेत हुनुपर्ने बेला आएको छ ।
डा. बन्जारा भन्छन्, ‘स्वास्थ्यकर्मीहरूको जानकारी बिना मनलाग्दी रुपमा एन्टिबायोटिक किनेर खानेहरू ६७ देखि ९७ प्रतिशतसम्म देखिएको छ । फार्मेसीहरूले पनि चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक्स दिने दर ५० प्रतिशत रहेको छ ।’
एन्टिमाइक्रोबियल रेसिस्टेन्ट बढ्नुमा गरिब देशहरूमा आधाभन्दा बढी औषधि चिकित्सकको सिफारिस बिना बिक्रि गर्नु, पसले आफैले पनि बिना ज्ञान बिक्रि गर्नु र स्वयं व्यक्ति आफै मागेर खाने गर्नुको ठूलो हात रहेको छ । अझ पछिल्लो समय म्याद सकिएका एन्टिबायोटिक्स किसानले खेतीमा प्रयोग गर्दा झन जोखिम निम्त्याएको छ ।
एन्टिबायोटिक्सले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैवि प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलनको कार्य सुरु भएको छ ।
जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैवी प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रिय प्रयोगशालाले गर्नेछ । पशु प्रयोगशालाले ४ वटा ब्याक्टेरियाको सर्वेक्षण गर्नेछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस