प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै स्वास्थ्य मन्त्रालय लिन रस्साकस्सी, को बन्ला स्वास्थ्यमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिन दलहरूबीच रस्साकस्सी सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालय लिनका लागि प्रधानमन्त्री दाहाल नेतृत्वको पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टीबीच रस्साकस्सी चलिरहेका पाइएको छ ।
माओवादी केन्द्रले सूचना तथा सञ्चार प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय आफ्नो भागमा पार्न खोजेको छ । माओवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाइसकेको छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय लिँदै आएको माओवादी केन्द्रले यसपटक स्वास्थ्य लिने प्रयास गरिरहेको पाइन्छ ।
भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किराँतीलाई प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रको भागमा परेका मन्त्रालय रोजेर लिन भनेका छन् । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पाउने सम्भावना छ । तर उनी निकट व्यक्तिहरुले भने स्वास्थ्य मन्त्रालय लिनु पर्ने सुझाव दिएका छन् । प्रा.डा. शिवकुमार राईजस्ता अनुभवी व्यक्ति सांसद किराँतीको साथमा रहेकाले उनले स्वास्थ्यमा धेरै गर्न सक्ने उनीहरूको बुझाइ छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीको रोजाइमा पनि स्वास्थ्य मन्त्रालय परेको छ । उक्त दलबाट प्रा. डा. चन्दा कार्की र तोशिमा कार्कीको नाम स्वास्थ्यमन्त्रीको रुपमा चर्चामा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा प्रा.डा. चन्दा नै मन्त्री हुने सम्भावना रहेको उक्त पार्टीका एक पदाधिकारीले स्वास्थ्य लाइभलाई बताए ।
स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाबी गरेको छ । उक्त दलबाट मन्त्री बन्नेहरुको रस्साकस्सी चलिरहेको छ । जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाह स्वास्थ्यमन्त्री बन्ने सम्भावित व्यक्तिको रुपमा चर्चा चलिरहेको छ ।
जनता समाजवादी नेपालको भागमा स्वास्थ्य मन्त्रालय परेको अवस्थामा डा. वीरेन्द्र महतो स्वास्थ्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको छ । डा. महतो सिरहाबाट निर्वाचित सांसद समेत हुन् । संविधानसभा सदस्य समेत रहेका डा. महतोलाई जसपाबाट सम्भावित स्वास्थ्यमन्त्रीका रुपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस