स्वास्थ्यसहित १८ मन्त्रालय नेतृत्वबिहीन तर, ४ मन्त्री पेण्डुलम
काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले सपथ खाएको आज १७ दिन भइसकेको छ । पुष ११ गते उनीसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीहरुको सपथ खाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित १८ मन्त्रालय प्रचण्ड प्रधानमन्त्रीभएको १७ औं दिनसम्म पनि नेतृत्वबिहीन अवस्थामा रहेको छ । तर, उनीसँगै नियुक्ति भएका ४ मन्त्रीहरुको भने पेण्डुलम बनेका छन् । नेकपा एमालेको तर्फबाट मन्त्रीको सपथ खाएका राजेन्द्र राई, दामोदर भण्डारी, ज्वाला कुमारी साह र जनमतका अब्दुल खानले विभागीय जिम्मेवारी नपाउदा कन्तबिजोग भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित १८ वटा मन्त्रालयमा मन्त्रीको कुर्सी रित्तै छ । यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४ जना विभागीय मन्त्रीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । मन्त्रीहरु राई, भण्डारी, साह र खान प्रधानमन्त्री कार्यालयमा आएर हाजिर गर्दै टाप ठोक्ने (हाटा) गर्ने काम गरिरहेका छन् ।
सत्ता गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भनेर टुंगो नलाग्दा १७ दिन हुँदा समेत मन्त्रीहरू ‘बेरोजगार’ देखिएका छन् । यसले मन्त्रीको महत्त्व नै घटाइदिएको छ । आज बस्ने गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड टुंगो लगाउने र पेण्डुलम मन्त्रीहरूले काम गर्ने अवसर पाउने सम्भावना रहेको बताइन्छ ।
अहिले गृह मन्त्रालयको नेतृत्व रवि लामिछाने र अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा नारायणीकाजी श्रेष्ठले काम गरिरहेका छन् । उनीहरू तीनैजना उपप्रधानमन्त्री हुन् ।
गृह, अर्थ र भौतिक पूर्वाधारबाहेक स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वबिहीन अवस्थामा छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, महिला, बालबालिका तथा जेष्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा, रक्षा र परराष्ट्र मन्त्रालय मन्त्रीबिहीन छन् ।
त्यस्तै युवा तथा खेलकुद, ऊर्जा, जलस्रोत तथा सिँचाई, कुषि तथा पशुपन्छि विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीबिहीन हुँदा पनि ४ मन्त्रीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कन्तबिजोग अवस्था देखिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस