केन्द्रीय कारागार अस्पताललाई ५० शय्याको बनाउने तयारी


काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार अस्पताललाई ५० शय्याको बनाउने तयारी भएको छ ।

कैदीबन्दीको चापलाई मध्यनजर गर्दै हाल २५ शय्या क्षमताको उक्त अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न लागिएको हो । केन्द्रीय कारागार अस्पतालको नेतृत्वमा डा. प्रकाश बुढाथोकी गएपछि उक्त अस्पताललाई ५० शय्या बनाउन पहल सुरु भएको छ ।

गृह मन्त्रालयका अनुसार ५० शय्याको अस्पताल बनाउन प्रस्ताव आएको छ । यो विषयमा मन्त्रालय समेत सकारात्मक रहेको छ ।

अस्पतालका निर्देशक डा. बुढाथोकीले ५० शय्याको अस्पताल बनाउन गृह मन्त्रालयमा प्रस्ताव गरिएको बताए । अस्पतालको आवश्यकता हेरेर मापदण्डलाई केही परिमार्जन गरेर ५० शय्यामा स्तरोन्नति गर्ने गरी प्रस्ताव पठाइएको उनको भनाइ छ ।

‘केन्द्रीय कारागार अस्पतालमा अन्य अस्पतालमा जस्तो सबै किसिमको सेवा आवश्यकता नपर्न सक्छ त्यसैले आवश्यकता अनुसारको कुरा समेटेर ५० शय्या बनाउन प्रस्ताव गरिएको छ’ डा. बुढाथोकीले स्वास्थ्य लाइभसँग भने ।

डा. बुढाथोकीले केन्द्रीय कारागार अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पताल सुधार र सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको देखिन्छ । उनको कामलाई कैदीबन्दीले समेत प्रशंशा गर्न थालेका छन् । कारागार अस्पताल भन्नेवित्तिकै ११ औं तहमा स्वास्थ्यका अधिकारीका लागि’डम्पिङ साइट’का रुपमा हेर्ने गरिन्थ्यो । डा. बुढाथोकीले त्यो दृष्टिकोण नै परिवर्तन गर्ने अवस्थामा पुर्याउन खोजेको पाइन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ