अत्यावश्यक औषधिहरू नेपालमै उत्पादन हुनुपर्छ: मन्त्री गिरी
काठमाडौं । स्वस्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधिहरू नेपालमै उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
मङ्गलवार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरूको स्वास्थ्य स्थिती पनि राम्रो भएर जान्छ । विभाग बिग्रियो भने ३ करोड नेपालीको स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘बजारमा अहिले पनि गुणस्तरहिन औषधि छ्याप छ्याप्ती छन् । जनशक्ति छैन भनेर पन्छने काम हामीले गर्न हुँदैन । नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन ।’
उनले सातै प्रदेशमा कार्यालय स्थापना गरेर विभागले बजारको अनुगमन र नियमन गर्नुपर्ने भन्दे यसका लागि कार्ययोजना तयार गर्न पनि आग्रह गरे ।
उनले भने, ‘कार्ययोजनासहित आउनुस् । आवश्यक सहयोग मन्त्रालयले गर्नेछ ।’
उनले अत्यावश्यक औषधिहरूको उत्पादन नेपालमै हुनुपर्ने बताए ।
‘पछिल्लो समय बङ्गलादेशले औषधि उत्पादनको क्षेत्रमा ठूलो फड्को मार्यो । हामीले पनि कम्तिमा अत्यावश्यक औषधिहरुऊ आफैं उत्पादन गर्न सक्नुपर्छ । नाकाबन्दीमा हामीले कस्तो भोग्यौं । भोलिका दिनमा त्यस्तो अवस्था नआओस्,’ उनले भने ।
आठ महिना बितिसक्दा पनि विभागले पुँजीगत खर्चमा केवल ७ प्रतिशतमात्रै बजेट खर्च गरेको बताउँदै उनले यसमा तत्काल सुधार ल्याउन निर्देशन दिए ।
गुणस्तरीय औषधि, अनुगमन र नियमनमा विभागको ध्यान जानुपर्ने उनले बताए ।
‘जनतालाई औषधि व्यवस्था विभागको सिस्टममा, सेवामा, ड्युटीमा परिवर्तन आएको छ भन्ने अनुभूति गराउनेगरी जुट्नुस् । त्यसमा हाम्रोतर्फबाट पर्याप्त सहयोग हुन्छ । औषधि, प्रयोगशालाको क्षमता वृद्धि गर्नुपर्छ , यसरी नै हुँदैन ।’ उनले थपे ।
जनशक्ति, पूर्वाधार, ल्याबको व्यवस्था गर्नका लागि मन्त्रालयबाट कुनै कसर बाँकी रहनेछैन । तपाईंहरू पनि नतिजा दिनेगरी काममा लाग्नुहोला,’ उनले भने, ‘अब स्वास्थ्यको क्षेत्रमा आधारभूत रुपमा जनताले परिवर्तन अनुभव गर्न पाउनुपर्छ ।’
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस