रविलाई अरुणको जवाफ ‘म जाँड, रक्सी, चुरोट खान्न’
काठमाडौं । कान्तिपुर टेलिभिजनका सम्पादक अरुण बरालले आफूले जाँड, रक्सी, चुरोट केही नखाने बताएका छन् ।
पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
रविले जड्या पत्रकारको संज्ञा दिएपछि बरालले अहिलेसम्म जाँड, बियर, रक्सी केही पनि पिउने, चुरोट तान्ने नगरेको जवाफ दिएका छन् । ‘चुरोट तान्ने गरेको छैन । मलाई चिन्नेहरुलाई मैले आफ्नो यो जोगीपन र सादगी चरित्रबारे बताउनैपर्दैन’, बरालले लेखेका छन्, ‘जसले मलाई चिन्नुभएको छैन, उहाँहरुले हप्ता उठाउने, जाँड खाने, पैसामा बिक्ने इत्यादि भनेको सुन्दा नचिनेर हो जस्तो लाग्छ । मैले आफूलाई चिनाउन सकिनँ भन्ने लाग्छ ।’,
यस्तो छ बरालको भनाइ
अरस्तुले भनेका छन्– ‘आफ्नो भनाइमा सहमत गराउने सबैभन्दा प्रभावकारी माध्यम चरित्र हो ।’ (तर्क होइन)
श्रीमद्भागवतमा भनिएको छ– कलियुगमा साधु र लुटेराहरु बस्त्रले मात्रै छुट्टिन्छन् ।
नेपालमा वैकल्पिक राजनीतिको जग बसाउने अपेक्षा गरिएका नेताले मजस्तो एउटा सामान्य मानिसको चरित्रमाथि भ्रमको तोप हानेपछि मेरो व्यक्तिगत चरित्र थाहा नपाउनुभएका कैंयौं अपरिचित मित्रहरुले सामाजिक सञ्जालमा विविध प्रश्न उठाउनुभएको छ । यसका लागि उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । यस अर्थमा कि मैले आफ्नो बारेमा केही बताउने मौका पाएँ ।
मेरो कुरामा तपाईहरु सहमत हुनुपर्छ भन्ने कुनै जरुरी छैन । अझै केही दशक बाँचिएला, एउटै डुंगामा छौं, परीक्षाहरु दिँदै जाऔंला, लिँदै जानुहोला । अहिले चाहिँ म आफ्नो बारेमा केही प्रष्ट्याउने दुष्प्रयास गर्दछु ।
मेरो विचारमा मानिसको मूल्यांकनको महत्वपूर्ण आधार उसको चरित्र हो । अनैतिक मानिसले समाजको नेतृत्व गर्ने हैसियत र नैतिकता राख्दैन भन्ने मेरो मान्यता छ । नारीलाई सम्मान नगर्ने स्त्रीपीडकहरु मेरो नजरमा समाजका कलंक हुन् । जहाँ नारीमाथि अपमान र धोका हुन्छ, त्यहाँ सभ्य समाजको कल्पना गर्न सकिँदैन भन्ने मेरो मान्यता रही आएको छ । म सभ्य नागरिक भएर जिउने प्रयासमा ५० वर्ष पुग्न लागेको नागरिक हुँ । महिला हिंसा, घरेलु हिंसा जातीय हिंसा र सबैखाले विभेदका विरुद्ध उभिँदै आएको छु र उभिइरहने छु ।
यौन अनुशासनजस्तै आर्थिक अनुशासन सभ्य नागरिकको अर्को न्यूनतम परिचायक हो भन्ने मेरो मान्यता छ । २०५७ सालदेखि पत्रकारितामा संलग्न मसँग कुनै चारपांग्रे, दुईपांग्रे सवारी साधन छैन । काठमाडौँमा अपार्टमेन्ट किनेको छैन, घर छैन । डेरामा बसेको छु । सार्वजनिक सवारी साधन प्रयोग गर्छु । तलब बाहेक कुनै अतिरिक्त आय आर्जन गर्ने गरेको छैन । बियर, रक्सी केही पनि पिउने गरेको छैन । चुरोट तान्ने गरेको छैन । मलाई चिन्नेहरुलाई मैले आफ्नो यो जोगीपन र सादगी चरित्रबारे बताउनैपर्दैन । जसले मलाई चिन्नुभएको छैन, उहाँहरुले हप्ता उठाउने, जाँड खाने, पैसामा बिक्ने इत्यादि भनेको सुन्दा नचिनेर हो जस्तो लाग्छ । मैले आफूलाई चिनाउन सकिनँ भन्ने लाग्छ ।
रविजीलाई धन्यवाद दिन चाहन्छु, उहाँले आइतबारको पत्रकार सम्मेलनमा अनलाइनखबरको समाचारलाई पुष्टि गर्दै आफ्नो तीतो विगतबारे स्वीकारोक्ति प्रकट गर्नुभयो । पहिलो घरबार बिग्रियो, दोस्रो महिलासँग सम्पर्क भएर बच्चा जन्मियो भन्नुभयो । भलै अनलाइनखबरमा त्यो समाचार मैले लेखेको थिइनँ । तर, सम्पादक भएकाले जिम्मा लिनैपर्छ, जिम्मा लिन्छु । समाचार अझै पनि इन्टरनेटमा खोज्दा भेटिएला । त्यसमा पहिलो श्रीमतीले अन्याय भयो भन्नुभएको छ । महिला हिंसाको विषय समाचार बन्न सक्छ कि सक्दैन ? यहाँलाई थाहै होला । अझ अर्की महिलाबाट बच्चा जन्मिएको त उहाँले आइतबार आफैं स्वीकारिसक्नुभयो । परिवारमा तेस्रो व्यक्तिको प्रवेश अनैतिकता र धोका मात्र होइन, गैर कानूनी कार्य पनि हो । आधा दशकअघिको समाचारमा चित्त नबुझेको भए त्यसको उपचारविधि पनि त थियो ।
हो, हाम्रो पत्रकारिताका जीवनमा लेखेका पढेका समाचारहरुले धेरैको चित्त दुखेको हुनसक्छ, धेरै शत्रुहरु कमाइएको हुन सक्छ । रविजीको पनि टीभीमा त्यस्तै भएको थियो होला । पत्रकार त के, न्यायाधीशले पनि त सबैलाई खुशी बनाउन सक्दैनन् ।
तर, कसैसँग आग्रह पूर्वाग्रह रहेको भए कान्तिपुर टीभीमा अन्तरवार्ताका लागि रिक्वेस्ट किन गरें होला ? म्यासेज पक्कै सुरक्षित होला, मेरो मोबाइल हैन, आफ्नै मोबाइल चेक गर्नुभए हुन्छ ।
रविजीले अहिले निकितासँग खुशी छु भन्नुभयो । तपाईको वैवाहिक जीवनको सफलताको कामना गर्दछु । अझ वैवाहिक जीवनमा आपसी विश्वास, प्रेम र खुशीको निरन्तरता कसरी कायम गर्ने ? फुर्सद भयो भने एकचोटि तपाईकै पितृसत्तावादी शब्दमा ‘सम्पादकनी भाउजू’ सुशीलासँग भेट्नुहोस्, उनले तपाईलाई महत्वपूर्ण सुझावहरु दिन सक्छिन् ।
स्पष्ट होस् म तपाईको पछि लागेको छैन । म कुनै पार्टी पत्रकारितामा विश्वास गर्दिनँ । विकृति विसंगतिमा चाहिँ निर्मम छु । अरुको जिम्मा म लिन्नँ तर, आफ्नो पूरै जिम्मा लिन्छु । तपाई पनि आफ्नो जिम्मा लिनोस् । अरुलाई चरित्रहीन देखाउन आफू चरित्रवान् हुनैपर्छ, अन्यथा त्यो आत्मघाती हुन सक्छ ।
प्लेटो भन्छन्– पहिलो र सर्वश्रेष्ठ जीत स्वयंमाथि विजय प्राप्त गर्नु हो ।
अन्त्यमा, म रविजीको टिमले थालेको नयाँ राजनीतिक अभियानको सफलताको कामना गर्दछु । त्यहाँ रहेका तोसिमा, सोबिता, विजयराज, शिशिरजस्ता होनहार युवाप्रति देशले आशा गरेको छ ।
तर “यो गीत मैले गाएको हैन, सम्झाइदिएको” भनेजस्तो रविजीलाई सम्झाइदिउँ – मन्त्री हुदाँ र निस्कँदा तपाईले आफ्नो सम्पति विवरण सार्बजनिक गर्नु भो? अनि के नयाँ थिति बसाउने कुरा गर्नु हुन्छ ? कसरी पत्याइदिने हामीले?
शुक्रबार राति बालकोटमा दुई घण्टासम्म स्क्रिप्ट रटेर आइतबार दिउँसो बसुन्धरामा एङकर पढ्दा नयाँ राजनीतिक धार बन्दैन । नयाँ राजनीतिक विकल्प दिने हो भने कसैको लहैलहैमा नलागी, नम्रतापूर्वक जनताको सेवा गर्नुपर्छ । मिडिया र नागरिक समाजको विश्वास जित्न सक्नुपर्छ । आलोचकहरुसँग पनि सहकार्य गर्न तयार हुनुपर्छ । सबैभन्दा ठूलो कुरा, कसैको कठपुतली नबनी आफ्नै सार्वमौम दिमागले चल्नुपर्छ ।
शुभकामना छ । गान्धीले भनेका छन्- मानिसलाई कसैले हराउन सक्दैन, आफैंले मात्र सक्छ।
ट्याग : #अरुण बराल, #रवि लामिछाने
तपाईको प्रतिक्रिया दिनुहोस