डा. फिरोज अन्सारीसहित ६ जनामाथि अभद्र व्यवहारमा मुद्दा
बसरुद्दिन अन्सारीको चलखेलमा सुटुक्क धरौटीमा रिहा
काठमाडौं । युवती र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा डा. फिरोज अन्सारीसहित ६ जनामाथि अभद्र व्यवहार मुद्दा दायर गरिएको छ । पर्सा प्रहरीका अनुसार नेसनल मेडिकल कलेज विरगञ्जका प्रबन्धक निर्देशक बसरुद्दिन अन्सारीका छोरा जहाँगिर अन्सारी, भतिजा डा. फिरोजसहित ६ जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको हो ।
नेसनल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका बसरुद्दिनका भतिज तारीख अन्सारी समेत अभद्र मुद्दामा परेका छन् । युवतीमाथि दुर्व्यवहार गरेपछि पक्राउ परेका उनीहरूले प्रहरीमाथि समेत दुर्व्यवहार गरेका थिए । तर, दुर्व्यवहारमा परेकी युवती र परिवारलाई दबाबमा उजुरी दिन अन्सारी परिवारले रोकेपछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीख अन्सारी, २५ वर्षीय जहाँगिर अन्सारी, २४ वर्षीय आशीष साह र आदित्य गिरीमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको हो । उनीहरू आइतबार नै जनही १०-१० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेको डिएसपी गिरीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका डा. फिरोज अन्सारीसहितका युवाहरु युवतीमाथि जाइलागेका थिए । ती युवतीलाई जोगाउन जाँदा डा. अन्सारीको टोलीले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका हुन् । पावर र पैसाको बलमा उनीहरूलाई १० हजार धरौटी लिएर छाडिएको गम्भीर आरोप लागेको छ । फिरोज इएनटीका डाक्टर हुन् । उनी पाकिस्तानमा पढेर नेपाल आएका हुन् ।
नेसनल मेडिकल कलेजको प्रबन्ध बसरुद्दिनका छोरा जहाँगिर जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी वीरगञ्ज पुगेर युवती र प्रहरीमाथि अभद्र व्यवहार गर्न भ्याएका हुन् । नेपाल मेडिकल कलेज समेत बसरुद्दिनले किनेका छन् । आफ्नै छोरा र भतिज युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा फस्ने भएपछि बसरूद्दिनले जिल्ला प्रशासन कार्यालयमा गएर चलखेल गरेको चर्चा हुन थालेको छ । बसरुद्दिन प्रहरीमै मुद्दा मिलाउन भने असफल भएका छन् ।
यता चिकित्सक नै सार्वजनिक स्थलमा युवतीमाथि जाइलाग्नु र प्रहरीमाथि अभद्र व्यवहारमा संलग्न भएपछि आलोचना भएको हो ।
क्याटेगोरी : समाचारट्याग : #जहाँगिर अन्सारीसहि, #डा. फिरोज अन्सारी, #बन्धक निर्देशक बसरुद्दिन अन्सारी
तपाईको प्रतिक्रिया दिनुहोस