बानेश्वर थापागाउँको पर्ती जग्गा कसरी पुग्यो डा. उप्रेतीको नाममा?
काठमाडौं । बानेश्वर थापागाउँको करिब २५ करोड रुपैयाँ पर्ने १ रोपनी पर्ती जग्गा डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा पुगेको पाइएको छ। पाटनका कुल नरसिंह शाक्यले ‘नून छरेर’ छोडेको पर्ती जग्गा डा. उप्रेती दाजुभाईको नाममा पुगेको पाइएपछि स्थानीयहरू आश्चर्यमा परेका छन्।
बाजेले धेरै सन्तान हुन् भनेर नून छरेर छोडेको जग्गा व्यक्तिको नाममा पुगेको सुन्दा कुल नरसिंहका नाति त्रिलोक समेत आश्चर्यमा परे। डा. उप्रेती दाजुभाईले पर्ती जग्गा ‘किर्ते’ गरेर दर्ता गरेको तथ्य फेला पारेपछि स्वास्थ्य लाइभको टोलीले निरन्तर खोजिरहेको छ।
पाठशाला स्कुलले डा. उप्रेती परिवारसँग उक्त जग्गा भाडामा लिएर पार्किङ गर्न थालेपछि स्थानीय समेत उक्त जग्गा संरक्षण गर्न जुर्मुराएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत डा. प्रेमरमण र दीपकरमणको नाममा दर्ता भएको पर्ती जग्गाको विषयमा छानबिन गरिरहेको छ। किर्ते गरेर पर्ती जग्गा डा. उप्रेती दाजुभाईको नाममा दर्ता भएको भन्दै स्थानीयले अख्तियार गुहारेका हुन्। उनीहरूमाथि किर्तेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बानेश्वर थापागाउँका स्थानीयको माग छ।
तत्कालीन महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ७९ को को करिब २ रोपनी जग्गा पाटनका व्यापारी कुल नरसिंहले नून छरेर छाडेपछि पर्ती भनेर दर्ता भयो। ७ नम्बर पर्ती (सरकारी) उल्लेख भएको जग्गा मालपोतका कर्मचारी र उप्रेती परिवारको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको पाइएपछि स्थानीयले चासो देखाएका हुन्।
पुस्तौंदेखि १-१ जना छोरा भएपछि उक्त जग्गामा बाजेले नून छरेर छाडेको नाति त्रिलोकले स्वास्थ्य लाइभलाई सुनाए। स्थानीयहरूले लामोसमयदेखि उक्त जग्गालाई सार्वजनिक/सरकारी रूपमा भोगचलन गर्दै आएका थिए । निर्वाचनमा समेत थापागाउँको उक्त पर्ती जग्गा प्रयोग हुँदै आएको थियो । टोलबासीले पानी खाने साझा ट्युबेल धारा समेत उक्त ठाउँमा रहेको थियो। तर, पाठशाला स्कुलले एक्कासी पार्किङ बनाउन टिनले घेरेपछि स्थानीयहरू झस्किए। पाठशाला स्कुल सार्वजनिक सम्पत्ति दुषित दर्ता गर्नेसँग मिलेपछि स्थानीयहरू स्कुल व्यवस्थापनसँग रुष्ट बनेका छन्।
डा. उप्रेती परिवारसँग पाठशाला स्कुलले मिलेमतो गरेर पर्ती जग्गा घेरेपछि स्थानीयसँगै स्वास्थ्य लाइभको टोली वास्तविकता खोज्न लागि पर्यो। बुझ्दै जाँदा उक्त जग्गा डा. प्रेमरमण अप्रेती र दीपकरमण उप्रेतीको नाममा दर्ता भएको पाइयो।
थापागाउँमा रहेको २ रोपनी जति पर्ती जग्गा धेरै जसो बाटो विस्तारमा परेको थियो। बाँकी रहेको १५ आना जग्गा पनि उप्रेती दाजुभाईको नाममा पुगेपछि स्थानीयहरू स्वास्थ्य लाइभको टोलीसँगै खोजीमा लागेका छन्। यो जग्गा किन्न पाठशाला स्कुलका संचालकहरू लागिपरेको स्थानीयको दाबी छ।
अख्तियारले मालपोत कार्यालय डिल्लीबजारसँग उक्त जग्गाको विवरण माग्दा सरकारी प्रकृतिको हुन सक्ने र फिल्डबुक अप्रमाणित रहेको जवाफ दिएको देखिन्छ। फिल्डबुक अप्रमाणित रहेको जग्गाको व्यक्तिको नाममा लालपूर्जा बन्नु नै बदमासी रहेको प्रस्ट हुन्छ।
डा. प्रेमरमण र दीपकरमणले मातपोतमा दिएको निवेदनमा महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ११६ को जग्गाको नामसारी गरी धनी पूर्जा माग गरिएको छ। त्यसैमा पर्ती जग्गा समेत घुसाएर निवेदन मार्फत दर्ता गरिएको रहस्य फेला परेको छ। मालपोतमा हेर्दा प्रेमरमणले आफ्नो नामको जग्गा आफ्नै नाममा नामसारी गरी धनी पूर्जा मागेको देखिन्छ। यसले त्यहाँ मिलेमतोमा पर्ती जग्गा दर्ता गराइएको सजिलै अनुमान लगाउन सकिन्छ।
स्वास्थ्य लाइभको टोलीले खोज्दा पर्ती जग्गा आफ्नो नाममा लाने डा. प्रेमरमण ललितपुरको बालकुमारीमा बस्दै आएको खुलेको छ। दीपकरमण भने क्यानडाका नागरिक बनिसकेको स्थानीयको भनाई छ ।
अब अख्तियारले डा. प्रेमरमण उप्रेतीलाई बोलाएर उक्त जग्गाको स्रोत के हो भनेर सोध्नु पर्छ। राजीनामा, बकसपत्र कि छोडपत्र उक्त जग्गा कसरी प्राप्त गर्यौँ भनेर अख्तियारले बयान लिन जरुरी छ।
कुल नरसिंह शाक्यको साविक लगतको जग्गा उनले गौचरणमा छाडिदिएको देखिन्छ। नापी हुँदा पर्ती जनिएको उक्त जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुनु आश्चर्यको विषय भएको स्थानीयहरू बताउँछन्।
साविक देखिकै पर्ती जग्गामै पर्ती रुपमा रहेको तर एक्कासी घेराबार लगाएपछि स्थानीय खोजी गर्दा व्यक्ति विशेषको नाममा खुल्न आएको हो। अख्तियारले डा. उप्रेतीसँग उक्त जग्गाको साविकको स्रोत खोज्नु पर्ने स्थानीयहरुको माग छ।
फिल्डबुकको ब्यहोरामा कुनै निलोमसीले कुनै कालोमसीले लेखिएको पाइएकाले यो पछि थपेको हो भन्ने प्रस्ट हुन्छ। पर्तीलाई किर्ते गरेर प्रर्ती बनाइएकाले यो विषयमा छानबिन गर्न अख्तियारले सीआईबीमा लेखी पठाउन जरुरी छ।
वडा सदस्यको सही आवश्यक नै नपर्ने ठाउँमा रहेको पाइएको छ। वडा सदस्य सुभद्राको उक्त सही गलत ठाउँमा रहेको र नक्कली भएको स्थानीयको दाबी छ। अख्तियारले नापी विभाग मिनभवनमा रहेको अभिलेख (माइक्रोफिल्म)मा उक्त कित्ताको फिल्डबुक मागेर हेर्दा किर्ते गरेर दर्ता गराइएको पर्ती जग्गाको पटाक्षेप हुने स्थानीयहरू बताउँछन्। उक्त जग्गा अख्तियारले चाँडै पर्ती नै कायम गराउन पहल गर्नु पर्नेमा थापागाउँका स्थानीयहरू एकमत छन्। पर्ती जग्गाको खोजीमा स्थानीयहरू जुर्मुराएको अवस्थामा अख्तियारले विशेष चासो दिए सरकारी जग्गा संरक्षण हुने उनीहरूको विश्वास छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #किर्ते', #डा. प्रेमरमण, #दीपकरमण उप्रेती, #नयाँ बानेश्वर थापागाउँ, #पर्ती जग्गा, #मालपोत कार्यालय
तपाईको प्रतिक्रिया दिनुहोस