मुख्यमन्त्री खगराज अल्पमतमा पर्दा पनि स्वास्थ्यमन्त्री गुरूङ सत्तामा टाँसिरहे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्दा पनि सामाजिक विकास स्वास्थ्यमन्त्री पञ्चराम गुरूङ सत्तामा टाँसिरहेका छन् । राप्रपाबाट अधिकारी सरकारको स्वास्थ्यमन्त्री बनेका गुरूङ सरकार अल्पमतमा पर्दा पनि सरकारमा टाँसिरहेका हुन् ।
नेकपा माओवादी केन्द्रले अधिकारी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेको हो । अल्पमतको सरकारमा राप्रपाको आदर्शविपरीत स्वास्थ्यमन्त्री गुरूङ टाँसिरहेको भन्दै आलोचना भएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका २७ सांसद छन् । कांग्रेसलाई ४ सांसद भए सरकार बनाउन पुग्छ । माओवादी केन्द्रका ८ सांसदले नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुग्ने देखिन्छ । तर, सरकार अल्पमतमा पर्दा पनि न मुख्यमन्त्री अधिकारी राजीनामा दिएका छन् न स्वास्थ्यमन्त्री गुरूङले नैतिकता देखाएका छन् ।
यता नेपाली कांग्रेस गण्डकी प्रदेशले मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिन आग्रह गरेको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा दिन आग्रह गरेका हुन् । मुख्यमन्त्री अधिकारी सजिलैसँग सत्ता छाड्ने पक्षमा देखिँदैनन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस