स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेसँगै न्याम्सको भिसीमा भुपेन्द्रको सम्भावना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाली कांग्रेसको भागमा परेसँगै न्याम्सको उपकुलपति (भिसी) मा डा. भुपेन्द्रकुमार बस्नेतको सम्भावना बढेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का भिसी डिएन साहको ४ वर्षे कार्यकाल सकिएसँगै न्याम्समा नयाँ भिसीको खोजी भएको छ । स्वास्थ्य मन्त्रालय नेपाली कांग्रेसले पाउने भएसँगै न्याम्सको भिसीमा डा. भुपेन्द्रको सम्भावना बढेको हो ।
न्याम्स अन्तर्गतको वीर अस्पतालका निर्देशक र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी बनिसकेका भुपेन्द्र न्याम्सको भिसी बन्ने निश्चित जस्तै भएको छ । प्रजातान्त्रिक चिकित्सकहरू उनलाई न्याम्सको भिसी बनाउन लबिइङमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालय को समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रभावमा पारेर नेकपा एमाले निकट चिकित्सक दीपक थापाले न्याम्सको निमित्त भिसी फुत्काइसकेका थिए ।
‘नक्कली माओवादी’ बनेर थापाले न्याम्सको निमित्त भिसी बनाउन चलखेल गरेको स्वास्थ्य लाइभले खुलासा गरेपछि प्रधानमन्त्री दाहाल ब्याक भएका थिए । स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेपछि अब कांग्रेस निकट चिकित्सक नै न्याम्सको भिसी बन्ने निश्चित छ ।
न्याम्सको भिसी बन्न डा. भुपेन्द्रसहित डा. बुलन्द थापा, गुणराज लोहनीलगायत लागिपरेका छन् । तर, भिसी हुने दौडमा हरेक हिसाबले डा. भुपेन्द्र अगाडि देखिन्छन् ।
क्याटेगोरी : समाचारट्याग : #चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ), #डा. भुपेन्द्र बस्नेत, #न्यान्स भिसी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस