तराईका जिल्लामा तापक्रम बढ्यो, तातो हावा र लु चल्ने सम्भावना रहेकाले सचेत रहन सरकारको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराई मधेश लगायतका जिल्लाहरूमा तातो हावा र लु चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो केहि दिनदेखि तापक्रम बढेसँथै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
पछिल्लो समय मधेश प्रदेशका अधिकांश जिल्लामा ४० डिग्री तापक्रम मापन गरिएको छ भने बुटबल, नेपालगञ्ज, धनगढी लगायतका जिल्लामा पनि तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै तातो हावा तथा लु लाग्दाका असरहरू र जोगिने उपायबारे जानकारी दिएको छ ।
तातो हावा तथा लु लाग्दाका असरहरूः
हृदयको गति तीव्र हुने
श्वासप्रश्वास र रक्तचाप कम हुने
शरीरबाट पसिना ननिस्कने
टाउको अत्यधिक दुख्ने
चक्कर लाग्ने र अचेत हुने
शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने
छाला सुक्खा हुने, रातो र तातो हुने
त्यसबाहेक सरकारले यदि कसैलाई यस्तो समस्या देखिएमा नजिकैको अस्पताल वा चिकित्सकको परामर्शमा लिएर जान पनि आग्रह गरेको छ ।
गर्मीमा तातो हावा तथा लुबाट जोगिन के गर्ने ?
दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कने
चिसो पानीले नुहाउने
क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडायुक्त पेयपदार्थको सेवन नगर्ने
फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
बाहिर निस्कनै परेमा पातलो सुतिको खुकुलो कपडा लगाउने र टाउको छोप्ने वा छाताको प्रयोग गर्ने
मदिरा सेवन नगर्ने
चिनीको मात्रा बढी भएको झोल पेय पदार्थको सेवन बढी मात्रामा नपिउने
तपाईको प्रतिक्रिया दिनुहोस