युक्रेनमा युद्धका बीच एन्टिमाइक्रोबियल रेसिस्टेन्टले बढायो चिन्ता, नेपालमा पनि बन्दैछ टाउको दुखाई
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको वर्ष दिन बितिसकेको छ । गत वर्षको फेब्रुअरीमा रुसले पहिलोपटक आक्रमण गर्दै युक्रेनसँग युद्ध सुरु गर्यो । दुई मुलुकबीच जारी युद्ध अझै कति समयसम्म चल्ने हो कसैले आँकलन गर्न सक्दैन ।
हुन त दुई देशबीचको युद्धका कारण विश्वको अर्थ बजारलाई प्रभावित मात्रै बनाएन हरेक क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाएको छ । लाखौं मानिस युक्रेनबाट पलायन भइसकेका छन् भने केही फर्केर आफ्नै मुलुक पनि आएका छन् । तर, युद्ध अन्त्य वा रोकिने कुनै सङ्केत देखिएको छनै ।
युक्रेनमाथि आफ्नो बर्चस्व जमाउन रुसले आक्रमण गर्ने रणनीति फेर्दै अघि बढिरहेको छ भने युक्रेनलाई अमेरिकासहितका पश्चिमा मुलुकको साथ रहेको छ । तर, युद्धमा लाग्ने खर्च र जनशक्ति परिचालन कसरी गर्ने भन्ने विषय दुबै मुलुकका लागि चुनौतीको विषय बन्दै गएको छ । यस अवस्थामा युद्धले कुन दिशा लिन्छ भन्ने हेर्न बाँकी छ ।
युद्धबाट दुबै मुलुक पछि हट्ने मनसायमा छैनन् । जसका कारण दुबै मुलुकमा आर्थिक समस्या बढ्न थालेको देखिन्छ । विशेषगरी युक्रेनमा महँगाईले गर्दा युद्धमा नयाँ मोड ल्याइरहेको देखिएको छ ।
केही समय पहिले युक्रेनमा घाइते भएका नागरिकलाई जर्मनीको अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यस क्रममा अधिकांश घाइतेमा मल्टिड्रग रेसिस्टेन्टको समस्या देखिएको पत्ता लागेको छ । मल्टिड्रग रेसिस्टेन्ट अर्थात् उपचाररत बिरामीमा औषधिले काम गरिरहेको छैन वा भनौं असर कम छ । जसले गर्दा डाक्टरहरू पनि चिन्तामा छन् । यो अवस्थामा घाइतेको उपचार कसरी गर्ने भन्ने विषयले डाक्टरहरूमा चिन्ता उत्पन्न भएको हो । यसलाई साइलेन्ट पेन्डेमिक भनिन थालेको र यसले विस्तारै विस्तारै विश्वलाई नै आफ्नो चपेटामा लिन थालेको डाक्टरहरूको भनाइ छ ।
युक्रेनमा किन देखिँदैछ यो अवस्था ?
९० को दशकमा रुसबाट छुट्टिए पछि युक्रेनले नयाँ तरिकाले आफूलाई बनाउन सुरु गर्यो । यस क्रममा मेडिकल साइन्स पनि प्रभावमा रह्यो । नयाँ अनुसन्धान, नयाँ प्रयोगशाला र अस्पतालको पनि दवाव थियो । यसै क्रममा बिरामी हुन थालेका मानिसहरूले आफ्नो उपचार आफैले गर्न थाले । सन् २०२१ सम्म युक्रेनमा एन्टिबायोटिकको खरिद बिक्रि डाक्टरको प्रेस्किप्सनबिना नै गर्ने गरिन्थ्यो । जसलाई गलत भनिएपनि त्यसका लागि कुनै ठोस नीति र कानून थिएन । गत वर्ष १ अगस्टदेखि युक्रेनमा एन्टिबायोटिकको औषधि खरिद बिक्रिका लागि नयाँ नियम लागू भयो ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको अवस्था कस्तो छ ?
नेपालमा पनि नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको अवस्था चिन्ताको विषय बन्दै गएको छ । मेडिकल भाषामा प्रयोग हुने सेकेन्ड लाइन र थर्ड लाइन ड्रगको असर कम देखिन थालेको छ । यसको अर्थ नेपालमा पनि
एन्टिमाइक्रोबियल रेसिस्टेन्टले आफ्नो प्रभाव देखाउन थालेको छ ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको बारेमा अध्ययन गर्दै आएका डा.सन्तोष दुलालले कम विकसित मुलुकमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको खतरा अन्य मुलुकको तुलनामा बढी रहेको बताए ।
उनले भने, ‘कम विकसित मुलुकमा जनचेतनाको अभाव छ । राज्य संयन्त्र पनि बलियो छैन । विद्यमान प्रयोगशालाहरू मध्ये अधिकांश उपयुक्त र गुणस्तरीय प्रयोगशाला छैनन् । जसका कारण एन्टिमाइक्रोबियल रेसिस्टेन्ट खतरातर्फ उन्मुख हुँदैछ ।’
एन्टिबायोटिक्स सेवन गर्दा मापदण्डको पालना नगर्ने, सर्वसाधारणले पनि डाक्टरको प्रेस्किप्सन बिना सजिलै खरिद गरेर सेवन गरिदिने, बजारमा पनि बिक्रिवितरण गर्नेले बिना मापदण्ड नै बिक्रि गरिदिनाले यसको जोखिम थप बढ्दै गएको उनले उल्लेख गरे ।
डा.दुलाले भने, ‘कुनैपनि औषधि सेवन गर्दा पूरा मात्रा सेवन गरिएन र त्यसलाई बीचमै छोडियो भने त्यसले शरीर भित्रका ब्याक्टेरियालाई थप बलियो बनाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणले चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक्स सेवन गर्नु हुँदैन भने सेवन गर्दा पूरा मात्रा सेवन गर्नुपर्छ ।’
पछिल्लो समय जनावर र पन्छीहरूमा पनि यसको प्रभाव देखिन थालेकोमा डा.दुलालले चिन्ता व्यक्त गरे ।
उनले कुखुराको दानामा पनि एन्टिबायोटिक्सको प्रयोग भइरहेको र त्यसको सेवनले मानिसलाई पनि नराम्रो असर गरिरहेको बताए । कति मात्रामा प्रयोग गर्ने, त्यसको मापदण्ड के हो भन्ने स्पष्ट मापदण्ड नहुँदा जोखिम बढिरहेको उनको भनाइ छ ।
त्यस्तै अस्पतालबाट निस्किने फोहोर, एन्टिबायोटिक्सको प्रयोग पछि निस्किने तत्वको उचित व्यवस्थापन नहुँदा त्यसले वातावरण, मानिस र पशुपालनमा पनि ठूलो जोखिम निम्त्याइरहेको डा.दुलालले बताए ।
उनले भने, ‘अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा र त्यसलाई माटोमा गाड्ने वा खोलानालामा बगाउँदा त्यसले जमिन, पानी र वातावरणलाई दूषित बनाइरहेको छ । जसका कारण ती पानी खेतवारीसम्म पुग्छ र त्यसबाट उब्जने अन्नबालीले मानिस, वातावरण र
पशुपन्छिको स्वास्थ्यलाई जोखिम थपिरहेको छ । यसको मापदण्ड, नियमन र अनगुमनको पनि आवश्यकता छ।’
के हो मल्टिड्रग रेसिस्टेन्ट ?
मल्टिड्रग रेसिस्टेन्टलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) पनि भन्ने गरिन्छ । अर्थात् शरीरमा औषधिले काम नगर्नु वा असर नहुनु । जब ब्याक्टेरिया वा भाइरस अथवा कुनैपनि परजीविले आफ्नो स्वरुप बदलिन्छ र समय सँगसँगै औषधि त्यसमाथि बेअसर हुन थाल्छ भने त्यो अवस्थालाई एएमआर भनिन्छ । यसले गम्भीर मात्रै नभइ इन्फेक्सनको खतरा पनि हुन सक्छ । किनकी शरीरमा कुनैपनि एन्टिबायोटिकले काम नै गर्दैन ।
एएमआर किन हुन्छ ?
एन्टिबायोटिक औषधिको काम हुन्छ ब्याक्टेरिया, भाइरस आदिको विकासलाई रोकेर त्यसलाई नष्ट गर्नु । ब्याक्टेरियल बिमारीमा यी औषधि काम लाग्छन् । तर, यसको साइड इफेक्ट पनि धेरै हुन्छ । कैयौंपटक डाक्टरले पनि यसलाई ओभरप्रेस्क्राइब गरिदिन्छन् भने कैयौंपटक बिरामी आफैले ओभर द काउन्टर एन्टिबायोटिकको सेवन गर्ने गर्छन् ।
यदि आवश्यकताभन्दा बढी एन्टिबायोटिकको सेवन गर्ने हो भने ब्याक्टेरियामा त्यसको लागि प्रतिरोधात्मक क्षमता उत्पन्न हुन जान्छ । अर्थात् औषधिले ब्याक्टेरियामाथि काम गर्दैन र रोग कायमै रहन्छ । प्रतिरोधात्मक क्षमता ट्रान्सफर हुने समय ब्याक्टेरियाको एकबाट अर्को प्रजातिमा पनि परिणत हुने हुँदा त्यो चिन्ताको विषय बन्न जान्छ ।
सामान्य अर्थमाभन्दा ब्याक्टेरियाहरूको सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । एन्टिबायोटिक प्रयोग गर्दा पनि ब्याक्टेरियामा आएको परिवर्तन वा एन्टिबायोटिक पचाउन सक्ने क्षमताको कारणले एन्टिबायोटिकको असर नदेखिए त्यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ ।
रेसिस्टेन्ट, ब्याक्टेरियाले सङ्क्रमण गरेमा सामान्य अवस्थाभन्दा कडा एन्टिबायोटिक वा एकभन्दा बढी एन्टिबायोटिकको आवश्यक पर्ने, लामो समय अस्पताल बस्नु पर्ने र मृत्युदर पनि बढ्ने हुन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रुपमा देखा परेको छ । पछिल्लो समय क्षयरोग, निमोनिया, टाइफाइड लगायतका सङ्क्रमणहरूलाई एन्टिबायोटिक रेसिस्टेन्सको कारण उपचार गर्न कठिन हुँदै गइरहेको छ ।
एएमआर हुँदा के हुन्छ ?
एन्टिमाइक्रोबियल रेजिस्टेन्ट कतिसम्मको खतरनाक अवस्था हो भने त्यसको अनुमान लगाउन पनि गाह्रो हुन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एएमआरका कारण सन् २०१९ मा मात्रै विश्वभर १२ लाखभन्दा बढी मानिसको मृत्यु भयो । बिरामी ब्याक्टेरियल सङ्क्रमणको चपेटामा आउन थालेका थिए । तर, उनीहरूमा एन्टिबायोटिकले काम गर्न बन्द गर्यो । मेडिकल जर्नल ल्यानसेटमा प्रकाशित एक अध्ययनका अनुसार वर्तमान अवस्थामा औषधिको समझदारीलाई ध्यानमा राखेर केही समय पर्खेर त्यसको प्रयोग गर्नुपर्छ । जसले मानिसको शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले पनि रोगसँग लड्न सकोस ।
एन्टिबायोटिकको प्रयोगले ब्याक्टेरियाको स्वरुप परिवर्तन हुन सक्छ । र, त्यविरुप अनुसार नयाँ एन्टिबायोटिकको खोज वा अनुसन्धान गर्न सकिँदैन । तसर्थ, त्यस परिवर्तित ब्याक्टेरियाको उपचार गर्न सकिँदैन । र, समय बित्दै जाँदा एन्टिबायोटिक नहुनु र ब्याक्टेरियाको सङ्क्रमण बढ्दै जान्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस