सबै स्वास्थ्य संस्थालाई १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन

अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको र जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नभएको भनाइ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई १० प्रतिशत शय्या छुट्याएर विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिश शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्ने व्यवस्था छ ।  उक्त मापदण्डमा टेकेर मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई १० प्रतिशत शय्या छुट्याएर विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो । अन्यथा अटेर गर्ने स्वास्थ्य संस्थालाई प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयको चेतावनी छ ।

मापदण्डको दफा ७२ (ट) मा बिरामीले संस्थाबाट प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्ने उल्लेख छ । तर, अस्पतालको अनुगमनका क्रममा मापदण्ड बमोजिम नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नभएको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य संस्था सञ्चालनसन्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाले पूर्ण रुपमा पालना गर्न/गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।  अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले सबैमा जानकारी गराएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #असहाय, #बेवारिसे बिरामी, #विपन्न, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ