यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि ज्यालादारीमा विभेद
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले अन्य समुदाय झै समान व्यवहार र ज्याला हुनुपर्ने बताएका छन् ।
अन्य क्षेत्र मात्रै होइन श्रम क्षेत्रमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि ज्यालादारीमा विभेद हुने गरेको भन्दै उनीहरूले समान ज्यालाको माग गरेका हुन् ।
सोमवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मितिनी नेपालले प्रायः सबैबाट बेवास्ता गरिएको एलजीबीटीआईक्यू प्लसको ज्यालादारी मजदुर समुदायसहित सबै कामदारहरूलाई समान ज्याला र व्यवहार हुनुपर्ने बताएको हो ।
एलजीबीटीआईक्यू प्लसमा काम गर्नेहरू लगायत सबै कामदारहरूसँग ऐक्यबद्धतामा खडा रहेको भन्दै मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले प्रायः कार्यस्थलमा भेदभाव र कलङ्को सामना गर्ने गरेको हुँदा सबैजना समान अधिकार र संरक्षणको हकदार रहेको बताइन् ।
समावेशी रोजगारी र सुरक्षित काम गर्ने ठाउँहरू श्रम अधिकारका सरोकार भएको र यिनीहरूलाई कुनै पनि श्रम अधिकार एजेन्डाभित्र एकीकृत गर्नुपर्ने उनको भनाइ छ ।
उनले अधिकारमा आधारित श्रम नीति गौरवको एजेन्डाको हिस्सा हुनुपर्ने भन्दै श्रम क्षेत्रमा एलजीबीटीआईक्यू प्लस समुदायमाथि हुने विभेद अन्त्यका लागि सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताइन् ।
एलजीबीटीआईक्यू प्लस समुदायका व्यक्तिहरूलाई श्रम क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि विभेद भइरहेको कुरा सर्वविदितै छ ।
हालसम्म पनि उनीहरूलाई वैवाहिक मान्यता पाउन, समाजमा सहज रुपमा आफूलाई स्थापित गराउन, सरकारी लगायत अन्य निकायमा सहज सेवा पाउन र सेवामा जान, विभिन्न किसिमका हिंसा भोग्नुपर्ने बाध्यता कायमै रहेको छ । त्यसकारण पनि एलजीबीटीआईक्यू प्लस समुदायका नागरिकलाई अन्य समूह जस्तै समान व्यवहार, समान ज्याला, संरक्षण लगायतको आवश्यका छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस