डोल्पाका स्वास्थ्यकर्मीले आफै श्रमदान गरेर बिरामी जाने बाटो बनाए


काठमाडौं । डोल्पा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले आफैं श्रमदान गरेर बिरामी आउने/जाने बाटो बनाएका छन् । डोल्पाका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले ४ घण्टा श्रमदान गरेर बाटो खुलाएका हुन् ।

डोल्पा जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्याय (डोल्पाली)का अनुसार श्रमदान गरेर बाटो खुलाउन अस्पतालसहित जिल्ला निर्वाचन कार्यालय र नापीका कर्मचारीहरु पनि सहभागी भएका थिए ।अस्पतालसम्म स्ट्रेचरमा बोकेर बिरामी लान सकस परेपछि श्रमदान गरेर बाटो खुलाइएको उनको भनाइ छ ।

कुनै पनि योजना र समिति नकुरेर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले बाटो चौडा गर्ने र ढुंगा फ्याल्नेलगायतका काम गरेको डा. अखण्ड डोल्पालीले बताए । श्रमिक दिवसको अवसरमा स्वतस्फुर्त रूपमा डोल्पाका स्वास्थ्यकर्मीहरु श्रमदानमा जुटेका हुन् । श्रमदान गरेर बाटो चौडा गरेपछि बिरामीलाई अस्पतालसम्म स्ट्रेचरमा लाने बाटो सहज हुने डा. अखण्ड को विश्वास छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ कै शैलीमा श्रमदान गरेर उनीहरूले बाटो चौडा बनाउने उदाहरणीय काम गरेका छन् । ढुंगा बोक्ने काम र ठाउँ धरानमा मात्र छैन डोल्पा जिल्ला अस्पतालमा पनि छ भन्ने कुराको सन्देश डोल्पाका स्वास्थ्यकर्मीहरुले दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. अखण्ड डोल्पाली, #डोल्पा जिल्ला अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ