अनियमित महिनावारीलाई वेवास्ता नगरौं, नन अल्कोहलिक फैटी लिभरको जोखिम हुन सक्छ


महिनावारी हुनु भनेको महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । महिलाको प्रजनन् स्वास्थ्यसँग जोडिएको महिनावारी नियमित भइरह्यो भने उसको प्रजनन् क्षमता राम्रो र ऊ स्वस्थ भएको बुझिन्छ । तर, महिनावारी नै नियमित भएन भने कुनै न कुनै स्वास्थ्य समस्या छ भनेर बुझ्नु पर्छ ।

सामान्यतया ११ वा १२ वर्षको उमेर अर्थात् किशोरावस्थामा महिनावारी सुरु हुन्छ भने कसै कसैमा एकदुई वर्ष ढिलो वा चाँडो पनि सुरु हुन सक्छ । जुन ४५ देखि ५५ वर्षको उमेरसम्म रहन्छ । प्रत्येक महिलाको महिनावारी हुने चक्र फरक हुन्छ र उसको शरीरमा यो निर्भर गर्छ । सामान्य महिनावारी चत्र २ देखि ८ दिनसम्म चल्छ । तर, प्रायः महिलामा ४ दिनसम्म महिनावारी हुने गरेको पाइन्छ ।

महिनावारीको क्रममा किशोरी वा महिलामा हार्मोन र शारीरिक परिवर्तन देखिन्छ । कहिलेकाहीँ महिनावारीसँग जोडिएका लक्षण सामान्य सम्झेर त्यसलाई वेवास्ता गरिन्छ । तर, केही लक्षणलाई वेवास्ता गर्नु खतरनाक हुन सक्छ ।

स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. रामनरेश पण्डितका अनुसार महिनावारी अनियमित हुनुलाई वेवास्ता गर्दा कलेजोसँग सम्बन्धित रोगको खतरा बढ्न सक्छ ।

उनका अनुसार यदि महिनावारी २४ देखि ३८ दिनमा भयो भने त्यसलाई मात्रै सामान्य र नियमित मान्न सकिन्छ ।

डा. पण्डितले लामो समय अर्थात् अनियमित महिनावारी भएका महिलामा नन अल्कोहलिक फैटी लिभर डिजिजको जोखिमको विकास गर्ने र जोखिम बढाउने गरेको बताए ।

सेक्स हार्मोन एस्ट्रोजोन र टेस्टोस्टेरोनको असामान्य स्तरले नन अल्कोहलिक फैटी लिभर रोगको जोखिम बढाउने गरेको उनको भनाइ छ ।

अनियमित महिनावारी हुनुका कारण :
तनाव
पोलिस्टिक ओभरी सिन्ड्रोम
रजनोवृत्तिको प्रारम्भिक चरण
रजनोवृत्तिको समयतर्फ उन्मुख हुँदा (पेरिमेनोपोज)
थाइराइडका कारण
हार्मोनल गर्भनिरोधक औषधिको सेवन
तीव्र शारीरिक व्यायामको बढावा
तौल घट्नु वा बढ्नु
एमेनोरिया
गर्भधारण भएमा
अन्य दीर्घरोग भएमा

डा.पण्डितले फैटी लिभरसँग सम्बन्धित रोगलाई रोक्नका लागि अनियमित वा असामान्य रुपले लामो समय महिनावारीको चक्र हुने महिलाका लागि कुनै उपाय नभएको बताए । तर, जीवनशैलीमा भएको राम्रो परिवर्तनले भने कलेजोसँग सम्बन्धित रोगको जोखिमलाई कम गर्न सकिने उनको भनाइ छ । र, ती परिवर्तन यस प्रकार छन्ः

शरीरको तौल कम बढी हुन नदिन
अत्यधिक मद्यपान नगर्ने
धुम्रपान नगर्ने
सन्तुलित र स्वस्थकर खानपान तथा नियमित व्यायाम गर्ने

डा.पण्डितका अनुसार असामान्य रुपले लामो समय महिनावारी चक्र हुने महिला र युवतिहरूमा जीवनशैली परिवर्तन गर्नाले नन अल्कोहलिक फैटी लिभर रोगको साथै कार्डियोमेटाबोलिक रोगको जोखिम कम गर्नमा पनि सहयोगी हुन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ