स्वास्थ्य मन्त्री बस्नेतलाई विभिन्न सुझावसहित स्वास्थ्य पत्रकार मञ्च नेपालको ध्यानाकर्षण पत्र


काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च, नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई विभिन्न सुझाव तथा मागहरूसहितको ध्यानाकर्षण पत्र पेश गरेको छ ।

शुक्रवार मञ्चका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको टोलीले मन्त्रालय पुगेर मन्त्री बस्नेतलाई सुझाव तथा धारणासहितका ध्यानाकर्षण पत्र बुझाएको हो।

बस्नेत स्वास्थ्य मन्त्री नियुक्त भएपछि स्वास्थ्य पत्रकारहरूको साझा संस्था स्वास्थ्य पत्रकार मञ्चसँग धारणाहरू माग गरेका मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले जानकारी दिए । सोही अनुसार शुक्रवार मन्त्री बस्नेतसँग भेट गरी धारणा तथा सुझावहरू पेश गरेको ढुङ्गेलको भनाइ छ।

अध्यक्ष ढुङ्गेलले मन्त्री बस्नेतलाई स्वास्थ्य पत्रकार मञ्चको उद्देश्य, मञ्चका गतिविधि तथा स्वास्थ्य क्षेत्रमा मञ्चको भूमिकाबारे जानकारी गराएका थिए ।

मन्त्रीलाई बुझाइएको १८ बुँदे सुझाव तथा प्रस्तावहरूमा केही स्वास्थ्य पत्रकारका सरोकारका विषय, केही स्वास्थ्य क्षेत्रका समस्या तथा स्वास्थ्य क्षेत्रमा आवश्यकता देखिएको विषय समेटिएको अध्यक्ष ढुङ्गेलले बताए।

स्वास्थ्य सम्बन्धी नीति नियम बनाउँदा स्वास्थ्य पत्रकार मञ्चलाई पनि सहभागि गराउनु पर्ने, खोजमुलक स्वास्थ्य पत्रकारिता गर्ने ५ जनाका लागि हरेक वर्ष पुरस्कारको व्यवस्था हुनुपर्ने जस्ता माग मञ्चले मन्त्री समक्ष राखेको छ।

सार्वजनिक स्वास्थ्य संस्थाले दिने सेवा सुधार गर्नुपर्ने, जीर्ण बनेको आयुर्वेद क्षेत्र सुधार गर्न, स्वास्थ्य क्षेत्रका मेसिन, उपकरण तथा स्वास्थ्य सामाग्रीको गुणस्तर कायम गर्नुपर्ने, खरिद प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनु पर्ने जस्ता सुझाव मञ्चले मन्त्रीसमक्ष पेश गरेको छ ।

स्वास्थ्यबारे देखिएका विभिन्न समस्या तथा त्यसमा समाधान गर्न सकिने विषय पनि मञ्चले उठाएको छ ।

मन्त्री बस्नेतले संस्था विशेष तथा क्षेत्र विशेषका समस्या उल्लेख गरेर दिएमा आफूलाई काम गर्न सजिलो हुने धारणा राखेका थिए । त्यस्ता समस्या तथा विषय उठान गरी सचिवालयमा ल्याएर बुझाउन सकिने बताए ।

बजेट निर्माण अन्तिम चरणमा रहेका बेला मन्त्री नियुक्त भएकाले आफूले चाहेर पनि थुप्रै विषय समेट्न नसकिने अवस्था रहेको गुनासो मन्त्री बस्नेतले गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ