अनामनगरमा गरे एक सय १३ जनाले रक्तदान (फोटोफिचर)
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको अनामनगरमा १ सय १३ जनाले रक्तदान गरेका छन् । शनिबार अनामनगरमा आयोजित रक्तदान कार्यक्रममा १ सय बढीले रगत दिएका हुन् ।
उक्त रक्तदान कार्यक्रममा अनामनगरका स्थानीय प्रमोद बाँस्कोटाले ६० औं पटक रक्तदान गरेका छन् । उनले अनामनगरमा आयोजित रक्तदान कार्यक्रममा हरेकपटक रगत दिने गरेका हुन् ।
त्रिवेणी युवा क्लबका सचिव ज्ञान श्रेष्ठका अनुसार १ सय १३ जनाले रक्तदान गरेका छन् । बिहान १० बजेदेखि २ बजेसम्म ४ घण्टा चलेको रक्तदान कार्यक्रममा सय बढी उपस्थित भएर रक्तदान गरेका हुन् ।
त्रिवेणी युवा क्लबको विशेष सक्रियतामा शनिबार अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।काठमाडौं महानगरपालिका वडा नम्बर २९ र सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोसँगको सहकार्यमा आयोजित उक्त वृहत्त रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको त्रिवेणी युवा क्लबले जनाएको छ ।
वृहत्त रक्तदान कार्यक्रमको सह-आयोजनमा शिखर युवा क्लब, नेपाल रेडक्रस सोसाइटी बानेश्वर उपशाखा, नेपाल होस्टल एसोसिएसन, कालिका महावीर स्पोर्टस क्लब र हाम्रो टिम नेपाल छन् ।
स्थानीय समाजसेवी एवं त्रिवेणी युवा क्लबका सचिव ज्ञान श्रेष्ठले वृहत्त रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको जनाएका छन् ।
अनामनगरमा ती संस्थाहरुले नियमित रक्तदान कार्यक्रम आयोजना गरिरहेका हुन्छन् । यसले रगत अभाव हुन नदिन ठूलो भूमिका खेलेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस