गुठीले खाइदिएको धोबीखोलाको जग्गा जोगाउन लागिपरेका बालेनको नगरका वडाध्यक्ष
कोरोनाकालमा दिपक मल्होत्राको कब्जाबाट फिर्ता ल्याएको धोबीखोलाको जग्गा कसरी पुग्यो गुठीमा ?
काठमाडौं । २०२१ सालको नापीनक्सा हेर्दा काठमाडौंको बबरमहलस्थित किङ्स कलेज हुँदै धोबीखोला बगेको देखिन्छ ।व्यापारी दिपक मल्होत्राले संरचना बनाइ ओलम्पिया स्कुललाई भाडामा लगाएको जग्गाबाट प्रस्टै धोबीखोला बगेको नापी नक्साले देखाउँछ ।
नापी कार्यालयसँग सुरक्षित रहेको फिल्डबुकमा पनि सार्वजनिक/सरकारी जग्गा उल्लेख छ । तर, मालपोत कार्यालय डिल्लीबजारबाट श्रेस्ता उतार हेर्दा उक्त जग्गा केदारेश्वर महादेव गुठीको नाममा पुगिसकेको पाइन्छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ सिट नम्बर १०२-११४५-२० कित्ता नम्बर १२४ को धोबीखोला बग्ने सरकारी जग्गा केदारेश्वर महादेव गुठीमा पुगेको हो । मालपोत कार्यालयको रेकर्ड अनुसार २०६१ जेठ २२ गते उक्त जग्गा केदारेश्वर महादेव गुठीमा गएको हो । उक्त कित्ताको फिल्डबुकमा भने अझै सार्वजनिक/सरकारी जग्गा नै उल्लेख छ । १८४ सँगै जोडिएका कित्ता नम्बर २७, १८ लगायत भने अहिले पनि धोबीखोला कै सरकारी जग्गा कायम रहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार २०२१ सालको नापी नक्सामा धोबीखोला बगेको जग्गा केदारेश्वर महादेव गुठीमा पुगेको पाइएपछि छक्क परेका छन् । उनी धोबीखोलाको सरकारी जग्गा गुठीबाट फिर्ता ल्याउन कहिले गुठी संस्थान त कहिले मालपोत कार्यालय पुग्ने गरेका छन् ।
काठमाडौं महानगरपालिकाकै केही वडाध्यक्षहरु धोबीखोलाको जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुँदा ११ का वडाध्यक्ष तण्डुकार भने धोबीखोलाको अधिकार खोज्न तम्सिएका छन् ।स्वास्थ्य लाइभका प्रतिनिधि थापाथलीस्थित वडा कार्यालय पुग्दा उनी खोलाको जग्गा गुठीमा लगेर बदमासी गर्ने भन्दै झोकिदै थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह जस्तै वडाध्यक्ष तण्डुकार सरकारी/सार्वजनिक जग्गा संरक्षण गर्न सक्रिय भएर लागिपरेका छन् । बालेनको नगरमा मेयर जस्तै वडाध्यक्ष भेटिएका हुन् ।
वडाध्यक्ष तण्डुकारका अनुसार उक्त त्यो जग्गामा क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा मंगलादेवी पार्क बनाउने तयारी छ । त्यसका लागि आवश्यक बजेट समेत विनियोजन भइसकेको छ । पार्क बनाउन वडा कार्यालयले तारबार लगाउन खोज्दा गुठीमा प्रतिनिधि आएर डिस्टर्ब गरेपछि उक्त जग्गा गुठीमा पुगेको थाहा पाएको वडाध्यक्ष तण्डुकार बताउँछन् ।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह कै अगाडि खोला खाने गुठीका कर्मचारीलाई समेत हप्काएका छन् । बुढो ज्यान लिएर उनी खोलाको अधिकार खोज्दै दौडिरहेका भेटिन्छन् । तर, हिम्मत हारेका छैनन् । कोरोनाको समयमा प्रदेश सांसद दिपेन्द्रलाई अगाडि सारेर दिपक मल्होत्राबाट खोसेको जग्गा गुठीमा पुगेको पाइएपछि वडाध्यक्ष तण्डुकार छाँगाबाट खसे जस्तै भए ।
बच्चामा आफूले खेलेको खोला गुठीले लगेको पाइएपछि उनी निकै आक्रोशित समेत भेटिए । ‘बच्चा बेलामा हामीले त्यो ठाउँमा बगेको धोबीखोलामा पौडी खेलेको हो, अहिले गुठीले मेरो जग्गा हो भनेर हुन्छ ।’, स्वास्थ्य लाइभका प्रतिनिधिसँग कुरा गर्दै वडाध्यक्ष तण्डुकार झोक्किए ।
कोरोनामा व्यापारी मल्होत्राले भाडा लगाएर खाइरहेको संरचनामा दिपेन्द्रले डोजर लगाएर सार्वजनिक पहुँचमा ल्याएको उनी सुनाउँछन् । ‘दिपकले हडपेको जग्गामा दिपेन्द्रले डोजर लगाउने गुठीले खान खोज्ने, यस्तो पनि कहीं हुन्छ ।’, वडाध्यक्ष तण्डुकार भन्छन् ।
साबिकमा धोबीखोला बग्ने २ रोपनी १४ आना उक्त जग्गामा व्यापारी मल्होत्राले मासिक लाखौं भाडा खाइरहेका थिए । यो आधा अर्ब बढीको जग्गा हो । दिपेन्द्रले डोजर हानेर खाली गराएपछि पार्क बनाउने तयारी भएको वडाध्यक्ष तण्डुकारको भनाइ छ । तर, गुठीले बिनासित्तिमा दुःख दिएको उनको पीडा छ ।
गुठीले भने ‘बिजनेस कम्प्लेस’ बनाएर भाडा खाने दाउ बनाएको देखिन्छ । गुठीले उक्त जग्गा विभिन्न संस्थालाई भाडामा लगाउन खोजेपछि वडाध्यक्ष तण्डुकार झस्किएका छन् । खोला खानेसँग रिसाएका छन् । तर, उक्त कार्यमा संलग्न अधिकारीमाथि कुनै कारबाही भएको छैन । धोबीखोलालाई गुठीमा लान त्योबेला व्यापारी मल्होत्राको समेत भूमिका रहेको चर्चा छ । किनकी उनले त्यो जग्गा कब्जा गरेर स्थायी संरचना बनाएपछि धोबीखोला गुठीमा दर्ता भएको देखिन्छ ।
गुठीमा पुगेको धोबीखोलाको सरकारी जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल कदम चाल्नु पर्छ । धोबीखोलाको सरकारी जग्गा गुठीमा लाने यो काम अख्तियारको दुरुपयोग, भ्रष्टाचार, किर्ते, जालसाजी र बदमासी हो । उक्त जग्गा सरकारको नाममै पुन: फिर्ता ल्याएर संलग्न अधिकारीमाथि कानुनी कारबाही हुनै पर्छ । यसमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले समेत सक्रियता देखाउन जरुरी छ ।
गुठीमा पुगेको धोबीखोलाको सरकारी जग्गा फिर्ता ल्याउन वडाध्यक्ष तण्डुकारको खटाई र पहल लोभलाग्दो छ । उनी यसरी नै लागिपरिरहे भने गुठीमा पुगेको धोबीखोलाको सरकारी जग्गा फिर्ता आउनेमा ढुक्क हुन सकिन्छ । गुठी संस्थानले पनि तत्काल आफ्नो बदमासी सच्याउनु पर्छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : #११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकार, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #धोबीखोला, #व्यापारी दिपक मल्होत्रा
तपाईको प्रतिक्रिया दिनुहोस