कोरोनाकालमा धोबीखोला सिध्याउन संलग्न वडाध्यक्ष ढकालमाथि कारबाहीको माग
काठमाडौं । कोरोनाकालमा धोबीखोला सिध्याउन संलग्न काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष ढकालमाथि कारबाहीको माग गरेको छ । सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको हो ।
स्वास्थ्य लाइभले कोरोनाकालमा २ अर्बको धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा वडाध्यक्ष कुश ढकाल संलग्न भएको तथ्य सार्वजनिक गरेपछि समाजले कारबाहीको माग गरेको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सीआईबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो। वडा अध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नम्बर नम्बर ५ कित्ता नम्बर १४३ को जग्गामध्येकै स्थानीय समुदायको हीतमा प्रयोग हुँदै आएको साविक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झन्डै दुई अर्ब मूल्य पर्ने धोबीखोलाको १२ रोपनी भन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचन गुठी शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि २०७७ साल फागुन ९ गते सिफारिस गरी आफ्नो पदीय मर्यादा भुलेको आरोप लगाएको छ।
धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडा अध्यक्ष ढकाललाई तत्काल निलम्वन गरी छानपिबन गर्न आग्रहसमेत गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष ओमप्रसाद उप्रेतीले धोबी खोला क्षेत्रको २३ रोपनी सरकारी जग्गा भूमाफियाहरुले बेच्दै हिँडेको भन्दै त्यसको खबरदारी स्वरुप पत्रकार सम्मेलन गर्नुपरेको बताए। उनले सरकारको जग्गा सरकारकै नाममा रहनुपर्ने र स्थानीय सरकार संविधान अनुसार चल्नुपर्ने बताए। उनले स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने भएकाले बेचेर खाने अधिकार नरहेको बताए।
त्यस्तै समाजका महासचिव रक्षबहादुर रैका मगरले सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका जनप्रतिनिधिहरुले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु आपत्तिजनक भएको बताए। सार्वजनिक सरोकारको यो विषयलाई प्रतिनिधि सभामा समेत स्थान दिन समाजले आग्रह गरेको छ। २९ नम्बर वडाको आफ्नै भवन नभएकाले आफ्नै वडामा भवन बनाउनु उचित रहेपनि अध्ययन बिना काम गर्नु राम्रो नहुने समाजको बुझाइ छ।
कित्ता नम्बर ९ मा वडा भवन बनाउन उपयुक्त हुने प्रतिवेदन आइसकेकाले सोही प्रतिवेदन बमोजिम वडा भवन कार्यालय निर्माण गर्न पनि समाजले आग्रह गरेको छ ।
हेर्नुहोस् समाजको प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
काठमाण्डौ जिल्ला साबिक बानेश्वर महादेवस्थान वार्ड न ५ कित्ता नम्बर १४३ को २३ रोपनी धोबीखोला जनिएको सरकारी जग्गा हाल नयाँ नापीमा कामपा ३२ को हाल परिबर्तित २९ र १० नम्बर वडा अन्तर्गत पर्ने भै बिभिन्न कित्ता कायम भएका जग्गाहरु २०५२/५३ सालतिर देखि नै विभिन्न भूमाफियाहरुले अतिक्रमण गर्ने क्रम बढेकाले सो अतिक्रमण रोक्ने प्रयत्न स्थानीयबासीको हैसियतले ०५२ सालदेखि नै भैराखे पनि संस्थागत रुपमा सरकारी सम्पत्ति जोगाउने मुख्य उद्देश्य बोकेर मिति २०५९ सालमा सामाजिक विकास समाज अनामनगरको जन्म भएको जानकारी गराउन चाहन्छौ। स्थापनाकालदेखि नै समाजको उद्देश्य मुताबिक सरकारी जग्गा संरक्षण गर्ने अभियानमा निम्नानुसार कार्य गरिएको छ :-
१) का.जी. बानेश्वर महादेवस्थान वार्ड न ५ को धोबीखोला जनिएको २३ रोपनी सरकारी जग्गा बिभिन्न भूमाफियाबाट जोगाउन स्थानीय र नियामक निकायसंग समन्वय गरि मिति २०६६ सालमै १०-१२–२-१ जग्गा सरकारको नाममा कायम गरिएको छ ।
२) विभिन्न भूमाफियाहरुले अनधिकृत कब्जा गरेका अन्य सरकारी जग्गाको अतिक्रमण रोक्न र सरकारी कायम गराउन यस सामाजिक विकास समाजको पहलमा नेपाल सरकार नापी विभागका उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा तथा यस समाजका संस्थापक अध्यक्ष गोपाल जोशी सदस्य रहेको छानबिन समिति गठन गरि सो समितिले प्रस्टसंग सरकारी जग्गा अतिक्रमण गर्ने व्यक्तिको नाम किटान गरि २०६३ सालमै प्रतिबेदन बुझायको थियो ।
३) स्थानीय समाजको तर्फबाट अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा आवश्यक छानबिन गरि सरकारी जग्गा संरक्षण गर्न आग्रह गरिएकोमा आयोगले छानबिन गर्दा हरिप्रसाद गिरिलगायत बिभिन्न व्यक्तिहरुले सरकारी जग्गा मिची आफ्नो जग्गामा घुसाई हालासाबिक गरि पुर्जा समेत निकालेकोले सो सरकारी जग्गा आफ्नो जग्गामा घुसाई हालासाबिक गर्ने व्यक्तिहरुको पुर्जा खारेज गरि सरकारको नाममा पुर्जा कायम गर्न मालपोत कार्यालको नाममा २०६५ मङ्सिर ९ गते नै निर्देशन गरेको थियो ।
४) साबिक कि न १४३ कै सरकारी जग्गा कित्ताकाट गरि कायमी कि न ६९७ को १-६-०-० जग्गा चन्द्रबहादुर थापा समेतलाई सरकारले गुह्येश्वरीको बगरको सट्टाभर्ना स्वरुप कर्मचारी समेतको मिलोमतोमा दिएकोमा नुनसंग सुन साट्न पाइदैन भनि यस समाजले प्रधानमंत्रीकार्यालय, विभागीय मन्त्रिहरु, मालपोत कार्यालय समेतमा आवाज उठाई सो जग्गा सरकारी बनाउन सफल भएको र पछि चन्द्रबहादुर समेतले सर्बोच्च अदालतमा मुद्दा दिएकोमा समाजको तर्फबाट शसक्त प्रतिरक्षा गरि निजलाई सरकारले अन्यत्र सोध भर्ना दिलाएकोले रिट खारेज गरि सरकारको नाममा ल्याउन सफल भएको हो । स्मरण रहोस सरकारको नाममा फिर्ता आएको १ रोपनी ६ आना जग्गामध्ये ४ आना जग्गा अहिले पनि हरिप्रसाद गिरीले कब्जा गरि राखेको छ। उक्त अतिक्रमण हटाउन भूमाफियाका संरक्षक वडा अध्यक्ष र सदस्यले कुनै चासो देखाएका छैनन्।
५) सरकारी जग्गा मिची हालासाबिक गर्ने व्यक्तिको श्रेस्ता खारेज गरि सरकारी बनाउनु भन्ने अख्तियारको आदेशबिरुद्दमा हरिप्रसाद गिरिलगायतले सर्बोच्च अदालतमा रिट दायर गरेकोमा सो मुद्दामा यस समाजले सार्बजनिक महत्वको बिषय उठाई शसक्त प्रतिरक्षा गरि सो रिट खारेज गर्न सफल भएका छ ।
६) यस समाजले १० औ बर्षसम्म सर्बोच्च अदालतसम्म मुद्दा लडेर बिभिन्न भूमाफियाहरुले हालासाबिक गरि आफ्नो नाममा पुर्जा बनाइ कब्जा गरेका सरकारी जग्गामध्ये ७ -७ – २- २ जग्गा मिति २०७८/१/२९ मा सरकारको नाममा फिर्ता ल्याउन समाज सफल भएको छ भने बिभिन्न शक्ति केन्द्रको आडमा अझै केहि सरकारी जग्गा भूमाफियाले अनधिकृत कब्जा गरि राखेका छन्। ती जग्गाहरु पनि सरकारको नाममा ल्याउने तथा समुदायको हितमा प्रयोगमा ल्याउने यस समाजले प्रयत्न गरिरहेको छ।
७) सामाजिक विकास समाजले मुद्दा लडेर भूमाफियाबाट फिर्ता गरेको उक्त सरकारी जग्गाहरुमध्ये समाजको पहलमा बिधिसम्मत ढंगले बिभिन्न निकायबाट बजेट बिनियोजन गराई केहीमा हरियाली पार्क, केहीमा खेलमैदान, केहीमा मन्दिर, सामुदायिक भवन बानाइ स्थानीय समुदायको हितमा प्रयोग गर्दै आइरहेका छौं ।
आदरणीय पत्रकार मित्रहरु,
आजको पत्रकार सम्मेलनको मुख्य उद्देश्य भनेको २९ नम्बरका वडा अध्यक्ष कुश ढकालले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नलाई सिफारिस गरेको बिषय हो। सार्बजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका वडा अध्यक्षले नै सरकारी जग्गा गुठीमा लगेर हिनिमिना गर्नु गम्भीर आपतिजनक कुरा हो। निज वडा अध्यक्ष ढकालले साबिक बानेश्वर महादेवस्थान वार्ड न ५ कित्ता न १४३ को जग्गामध्ये कै स्थानिय समुदायको हितमा प्रयोग हुँदै आएको साबिक धोबीखोला जनिएको सरकारी जग्गालाइ नै काठमाण्डौ महानगरपालिका वार्ड न २९ का वडा अध्यक्ष कुश ढकालले नक्कली गुठियार र मोही खडा गरि गुठीको नाममा दर्ता गरि झन्डै २ अर्ब मुल्य पर्ने धोबीखोलाको १२ रोपनीभन्दा बढि सरकारी जग्गा बिक्रि गरि खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरि कालमोचन गुठि शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि मिति २०७७/११/९ मा सिफारिस गरेर निज वडा अध्यक्ष कुश ढकालले आफ्नो पदिय हैसियतको दुरुपयोग गरि भ्रस्टाचार जन्य कार्य गरेको भनि स-प्रमाण बिभिन्न मिडियहरुमा समेत आएको हुँदा सो सम्बन्धमा यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सम्बन्धमा तत्काल छानबिन गरि आवस्यक कारबाही गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सीआइबि, काठमाणडौ महानगरपालिकालाइ स्थानीयबासीको तर्फबाट प्रत्यक्ष सरोकार राख्ने यस सामाजिक विकास समाज आग्रह गर्दछ । धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रस्टाचार भएकाले निज वडा अध्यक्ष ढकाललाई तत्काल निलम्बन गरेर छानबिन गर्न अख्तियारसमक्ष सामाजिक विकास समाज जोडदार माग गर्दछ। साथै सार्बजनिक सरोकारको यो विषयमा प्रतिनिधिसभामा समेत विशेष समय लिएर आवाज उठाउन माननीय साम्सदहरूलाई आग्राह गर्दछौ।
२९ नम्बरको वडा भवन सम्बन्धमा :-
यस वडा न २९ को आफ्नै वडा भवन नभयकोले आफ्नै वडामा वडा भवन बनाउनु आबस्यक रहेको ठहर गर्दै सोको लागि अनामनगर क्षेत्रमा रहेको सरकारी जग्गामध्ये कित्ता न ८ को १ रोपनी जग्गामा महानगर समेतको लगानीमा हरियाली पार्क र खेलमैदान रहेकोले कित्ता नम्बर ९को क्षेत्रफल १ रोपनी ६ आना वा अक्सिडेण्टल पब्लिक स्कुलले जबर्जस्ति कब्जा गरि राखेको कित्ता नम्बर १० को १ रोपनी ९ आना जग्गामा वडा भवन बनाउन प्राबिधिक रुपमा पनि उपयुक्त हुने भनि आम स्थानीयको सहभागितामा यस समाजले मिति २०६८ सालमै निर्णय गरि सम्बन्धित निकायहरु , महानगरपालिका र वडा कार्यालयमा पटकपटक समन्वय र आग्रह गर्दै आएका थियौ । तर भूमाफियाको डिजाइनमा तथा विभिन्न स्वार्थ समुहको चलखेल अनि सर्बदलीय सहमतिको नाममा अनामनगरका स्थानीयबासी र समाजलाई बाइपास गरेर कित्ता न ८ मा भै राखेको खेल मैदान र हरियाली मासेर वडा भवन बनाउन पटकपटक प्रयत्न हुँदै आएकोमा स्थानीबासिले रोक्दै आएका थियौं। स्थानीय निर्बाचन पश्चात पनि २९ नम्बर वडा अध्यक्षले भूमाफियासगको मिलोमतोमा कुनै प्राबिधिक अध्ययन नै नगरी स्थानीयको सहमतिबिना जबर्जस्ति ८ नम्बर कित्ता मै वडा भवन बनाउन प्रयास गरेपश्चात स्थनीयसग विवाद भै सो विवाद काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसमक्ष पुगेको थियो । प्रमुख बालेन्द्र शाहसंग वडाको प्रतिनिधि र स्थानीयको तर्फबाट यस समाजको प्रतिनिधिबीच प्रमुखज्यु कै कार्यकक्षमा छलफल हुँदा प्रमुखज्युले कित्ता नम्बर ८,९ र १० को ३ वटै फिल्ड हेर्ने र प्राबिधिक निरीक्षण गरि प्रमुखज्युले निर्णय लिने सो निर्णय २९ वडाका जनप्रतिनिधि र समाज दुवै पक्षले स्वीकार गर्ने भद्र सहमति भएको थियो । सोहि बमोजिम प्रमुखज्युको निर्देशनमा शहरी योजना आयोगले वडा भवन निर्माणको स्थान चयनको सम्बन्धमा आवश्यक प्राबिधिक अध्ययन गरि कित्ता नम्बर ९ मा वडा भवन बनाउन उपयुक्त हुने भनि मिति २०८० जेस्ठ १४ गते नै प्राबिधिक प्रतिवेदन दिएकोमा महानगर प्रमुख बालेन्द्र शाहज्यु विदेशमा हुनु भएको मौका छोपी मिति २०८० जेष्ठ २९ गते स्थानीयलाई कुनै थाहा जानकारी नदिई प्रमुखज्यु (मेयर) संग भएको भद्र सहमतिलाई समेत वडा अध्यक्षले लत्याई वडा अध्यक्ष कुश ढकालको निर्देशनमा सदस्यद्वय शन्तोष ढुंगेल र अनिल श्रेष्ठको नेतृत्वमा छापामार शैलीमा आइ जबर्जस्ति डोजर लगाई ८ नम्बर कित्तामा महानगरकै लगानीमा भैरहेको हरियाली बोटबिरुवा मासी , खेल मैदान पर्खाल र गेट समेत भत्काई सार्बजनिक सम्पतिको हानि नोक्सानी पुर्यायको घटनाले हामीलाई स्तब्ध बनाएको छ। यस्तो विध्वंशकारी कार्यप्रति आम स्थानियबासी र यस सामाजिक विकास समाज घोर भर्त्सना गर्दछ।साथै घटनाको बारेमा तत्काल छानबिन गरि संग्लग्नलाई हदैसम्मको कानुनि कारबाही गरि सरकारी सम्पत्तिको हानि नोक्सानी गरेउपर निज वडा अध्यक्ष ढकाल र सदस्यद्वय ढुंगेल र श्रेष्ठसमेतबाट उचित क्षेतिपूर्ति भराउन सम्बन्धित निकायसंग जोडदार माग गर्दछ।
अन्त्यमा वडा भवनको स्थान चयनको सम्बन्धमा महानगर प्रमुख(मेयर)ज्युको उपस्थितिमा वडा अध्यक्ष कुश ढकाल र यस समाजबीच भएको भद्र सहमति बमोजिम प्राविधिक प्रतिवेदनले कित्ता नम्बर ९ मा वडा भवन बनाउन उपयुक्त हुने भनि दिएको प्रतिवेदन बमोजिम ९ नम्बर कित्ता मै वडा भवन निर्माण गर्न समेत महानगर प्रमुखज्युसमक्ष हार्दिक आग्रह गर्दछौं।
अन्त्यमा, हामी सत्य, न्याय, विकास र समुदायको हितको पक्षमा छौं, जित जहिले पनि सत्य र न्यायको हुन्छ।
धन्यवाद !
रक्ष बहादुर रैका मगर
ओम प्रसाद उप्रेती,
अध्यक्ष
रक्ष बहादुर रैका मगर,
महासचिव
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #कामनपा वडाध्यक्ष कुश ढकाल, #समाजिक विकास समाज
तपाईको प्रतिक्रिया दिनुहोस