जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण
नियमित खोप कभरेज आश्चर्यजनक ढंगले घट्यो, समग्र नेपालीहरुको स्वास्थ्यमा भने सुधार
काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाले समग्र नेपालीहरुको स्वास्थ्यमा सुधार भएको देखिएको छ । तर, बाल्यअवस्थामा दिइने खोपको कभरेज भने आश्चर्यजनक ढंगले घटेको छ ।
नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिएता पनि स्वास्थ्यका केहि क्षेत्रहरू अझ पनि स्थिर रहेको छ । तर, महत्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न अझै प्रयासहरू बढाउन आवश्यक देखिन्छ ।
सर्वेक्षणमा राष्ट्रको पुरै प्रतिनिधित्व हुने गरी १३ हजार ७ सय ८६ घरधुरीमा १५–४९ वर्षका १४ हजार ८ सय ४५ महिला र छनौटमा परेका आधा घरधुरीबाट १५–४९ वर्षका ४ हजार ९ सय १३ जना पुरुषहरुलाई अन्तर्वातामा समावेश गरिएको थियो । जसले महिलाहरूको लागि ९७ प्रतिशत र पुरुषहरूको लागि ९५ प्रतिशत उत्त प्रतिनिधित्व गर्दछ । सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन्न गरेको हो । यस सर्वेक्षणमा यूएसआईडीले आर्थिक सहयोग गरेको थियो ।
सन् २०२२ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, नेपालमा सन् १९९६ पछि गरिएको छैठौं जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो । यस सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिन्छ ।
नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेका छन् । ९४ प्रतिशत गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मी, जस्तै डाक्टर, नर्स वा अनमीबाट गर्भवती सेवा प्राप्त गरेका छन् । सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार २५ प्रतिशत महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा प्राप्त गरेका थिए, जुन उल्लेखनीय वृद्धि हो ।
सन् २०२२ को तथ्यांक अनुसार ७३ प्रतिशत गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराएका थिए । जुन आमा र बच्चा दुबैको लागि जोखिमहरू कम गर्न महत्वपूर्ण समय हो । साथै ८१ प्रतिशत गर्भवती महिलाहरूले सिफारिस गरे अनुसार कम्तिमा चार पटक गर्भवती सेवा प्राप्त गरेका थिए ।
सन् १९९६ को ल्ँज्क् मा ८ प्रतिशत जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने, ल्म्ज्क् २०२२ अनुसार ७९ प्रतिशत जीवित जन्महरू स्वास्थ्य संस्थामा जन्मेका छन् जुन उल्लेखनीय वृद्धि हो । बच्चा जन्मे पछि, १० मध्ये ७ महिला र नवजात शिशुहरूलाई जन्मेको दुई दिन भित्र स्वास्थ्य जाँच गराएको पाइएको छ ।
नेपालमा आधा भन्दा बढी बिबाहित महिलाहरुले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् । जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् र १५ प्रतिशतले परम्परागत विधिहरू प्रयोग गर्छन् । महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता परिवार नियोजनका साधन वा विधिहरु नेपालमा सबै भन्दा बढी प्रयोग भएको पाईएको छ ।
सन् २०२२ मा नेपालले कूल प्रजनन् दरलाई २ दशमलब १ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको देखिन्छ । सन् १९९६ मा प्रति महिलाले ५ बच्चाहरु जन्माउथे भने सन् २०२२ मा प्रति महिलाले २ जना बच्चाहरु मात्र जन्माउँछन् ।
पाँच वर्ष मुनिको बाल मृत्यु सुधार
पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको देखिन्छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति १ हजार जीवित जन्ममा १ सय १८ को मृत्यु हुने गथ्र्याे भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १ हजार जीवित जन्ममा ३३ को मृत्यु हुने गरेको छ । दीर्घकालिन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेर अनुसार उचाई कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ ।
यो सर्वेक्षण अनुसार स्वास्थ्यको धेरै क्षेत्रमा प्रगति भएको देखाएता पनि चुनौतीहरु अझै बाँकि छन् । नेपालमा ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई पूर्ण रुपमा स्तनपान गराउने प्रवृतिमा समयसँगै उतारचढाव भएको देखिन्छ र यो सन् १९९६ मा ७५ प्रतिशत थियो भने सन् २०२२ मा ५६४ मा झरेको छ ।
विश्व पोषण निर्देशिकाले शिशुहरूलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउन सिफारिस गर्दछ । साथै, नवजात शिशु मृत्यु दर पछिल्लो दशकमा प्रति १ हजार जीवित जन्महरूमा २१ मृत्युमा स्थिर रहेको देखिन्छ । किशोरीवस्थाको प्रजनन दर उच्च रहेको देखिन्छ, जसमा १५ देखि १९ वर्ष उमेर समुहका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने देखिएको छ ।
नियमित खोप कभरेज आश्चर्यजनक ढंगले घट्यो
कोभिड खोपमा सफलता मिलेता पनि, बाल्यकालमा दिइने नियमित खोप कभरेज आश्चर्यजनक ढंगले घटेको छ । तथ्यांक अनुसार अघिल्लो सर्वेक्षणहरुमा भन्दा घटेको पाईएको छ । हाल ८० प्रतिशत बालबालिकाहरूले सबै आधारभूत एन्टिजेन्सहरू विरुद्ध खोप लगाएका छन् जुन २०११ को सर्वेक्षणमा ८७ प्रतिशत थियो । २०२२ ले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि थोरै वृद्धि भएको देखाएको छ । जुन २०१६ मा ११ थियो भने अहिले २०२२ मा ४ प्रतिशत रहेको छ ।
पुरुषमा भन्दा बढी महिलामा चिन्ता
सर्वेक्षणमा १५–४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषहरूमा चिन्ताका लक्षणहरू अनुभव गरेका पाइयो । समग्रमा १५–४९ वर्षका महिलाहरू मध्ये २३ प्रतिशतले कुनै न कुनै समयम शारीरिक हिंसाको अनुभव गरेका छन् भने ८ प्रतिशतले १५ वर्षको उमेरदेखि यौन हिंसाको अनुभव गरेक छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस