प्रसूति गृहसँगैको गुहेश्वरी स्कुलको जग्गा राणाहरूको गुठीले खाइदिन खोजेपछि..
काठमाडौं । थापाथलीस्थित प्रसूति गृहसँगै रहेको श्री गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले भोगचल गरिरहेको जग्गा राणाहरूको गुठीले खान खोजेको पाइएको छ । २०१५ सालदेखि नै गुहेश्वरी स्कुलले प्रयोग गर्दै आएको उक्त जग्गा राणाहरूको पञ्चायन देवता गुठीको नाममा दर्ता गर्ने प्रयास भएको पाइएको हो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट नजिकै रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ११ सिट नम्बर १०२-११४५-१८ कित्ता नम्बर १५२ को क्षेत्रफल १२ आना जग्गा राणाहरूको पञ्चायन गुठीले पूर्जा बनाएर खाने प्रयास गरेको पाइन्छ ।
टुंग संशेर जबराबाट स्कुलले दान पाएको उक्त जग्गा अहिले आएर राणा खलकहरूले दाबी गरेका छन् । राणाहरू उक्त जग्गा पञ्चायन देवता गुठीमा लान मालपोत कार्यालय, नापी कार्यालय हुँदै भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालयसम्म दबाव दिन पुगेका हुन् ।
राणा शासनमा जनताका छोराछोरी पढ्न पाउँदैन थिए भन्ने कुराको पुनः अनुभूति गराउने गरी राणाहरूले स्कुलको भोगचलनमा रहेको जग्गा खोसर गुठीमा लाने प्रयत्नमा लागको देखिन्छ । उनीहरूले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि स्कुलको अस्तित्व नै समाप्त पार्न खोजेका छन् ।
नापी कार्यालयको फिल्डबुकमा कित्ता नम्बर १५२ र ५३ को जग्गा गुहेश्वरी बाल विकास माध्यमिक विद्यालयले भोगचल गर्दै आएको उल्लेख छ । थापाथली पञ्चायन देवता गुठीले राणाहरूको देवाली पूजा गर्ने सामान राख्ने सत्तलका रुपमा प्रयोग गरेकै भरमा उक्त स्कुलको जग्गा हडप्न खोजेको खुल्न आएको छ । सामुदायिक स्कुलको सुधारको अभियानमा लागेका बालेनको नगरमा स्कुलकै अस्तित्व समाप्त हुने गरी राणाहरूले अत्याचार गर्न खोज्दा समेत उनी वेखबर छन् ।
पञ्चायन गुठीले स्कुलको जग्गा हडप्न खोजेपछि काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत राजभण्डारी, स्कुलकी प्रध्यानाध्यापक निता पोखरेललगायतको टोलीले भूमि व्यवस्था शहकारी तथा गरिबी निवारणमन्त्री रञ्जित श्रेष्ठ चौधरीलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ । भेटमा मन्त्री श्रेष्ठले स्कुलको जग्गा कसैले खान नपाउने स्पष्ट पारेकी छिन् । स्कुलले भोगचलन गरिरहेको र स्कुलकै हो भन्ने प्रयाप्त प्रमाण भएको जग्गा गुठीमा लान नहुने वडाध्यक्ष तण्डुकारको अडान छ । उनले स्कुलको नाममा जग्गाधनी प्रमाण पूर्जा दिलाउन समेत आग्रह गरे ।
नापी कार्यालय फिल्डबुक, २०६८ सालमा जिल्ला अदालतबाट भएको फैसला, वडा कार्यालयको पटकपटकको सिफारिस, २०२४ सालमा काठमाडौं नगर पञ्चायतले गरेको निर्णय हेर्दा उक्त जग्गा गुहेश्वरी स्कुलकै नाममा दर्ता हुनुपर्ने देखिन्छ ।
२०५९ साल मंसिर ५ गतेको निर्णयले साबिक कित्ता नम्बर ५८ बदर भइ कायम हुन आएको कित्ता नम्बर १५२ र १५३ मध्ये कित्ता नम्बर १५३ को क्षेत्रफल १ रोपनी ३ पैसा ३ दाम जग्गाको जग्गाधनी प्रमाण पूर्जा श्री गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयकै नाममा रहेको छ । कित्ता नम्बर १५२ को १२ आना जग्गा पनि उक्त स्कुलकै भोगचलनमा छ । तर, अहिले आएर उक्त जग्गा राणाहरूको पञ्चायन देवता गुठीले कर्लप्पै खान खोजेको छ ।
स्कुलको भोगचलनमा रहेको उक्त जग्गा जोगाउन वडाध्यक्ष तण्डुकारको टोली प्रयासरत छ । उक्त जग्गा गुठीले खाइदिए गुह्येश्वरी स्कुलको अस्तित्व नै समाप्त हुने निश्चित छ । थापाथलीस्थित गुहेश्वरी स्कुलको अस्तित्व जोगाउने विषयमा स्वास्थ्य लाइभले निरन्तर खबरदारी गर्ने छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ## प्रसूति गृह, #११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकार, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय, #राणाहरूको गुठी
तपाईको प्रतिक्रिया दिनुहोस