सांसद घिमिरेको समाज डेण्टलले थापागाउँबासीलाई बनायो आतंकित


काठमाडौं । सांसद श्यामकुमार घिमिरेको समाज डेण्टल अस्पतालले नयाँ बानेश्वर थापागाउँबासीलाई आतंकित बनाएको छ । प्रतिनिधिसभा सदस्य घिमिरेसहितको स्वामित्वमा रहेको समाज डेण्टल अस्पतालले बानेश्वर थापागाउँबासीको चैन खोसिदिएको हो ।

काठमाडाैं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वर थापागाउँस्थित समाज डेण्टलको निर्माणाधीन भवनका कारण उक्त क्षेत्रका बासिन्दाहरुको निद हराम भएको छ । सिन्धुलीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद घिमिरेसहितको स्वामित्वमा रहेको  समाज डेन्टल अस्पतालले बेसमेन्टसहित ७ तले भवन बनाइरहेको छ । उक्त भवनका कारण थापागाउँ र आइफ्लेक्स महल जोड्ने बाटो भासिएको छ । उक्त बाटो मात्र होइन वरिपरिका घर समेत भासिने खतरा बढेको छ ।

बखुण्डोलस्थित कांग्रेस सांसद विनोद चौधरीसहितको स्वामित्वमा रहेको समिट  अपार्टमेन्टका कारण उक्त क्षेत्रमा दर्जनौं घर भासिएको खबर सेलाउन नपाउँदै कांग्रेस सांसद घिमिरेको अस्पतालले थापागाउँबासीमा आतंक मच्चाएको छ ।

सांसद घिमिरेको अस्पताल भवनका कारण कतिबेला घर भासिने हो भन्दै स्थानीयले स्वास्थ्य लाइभसँग गुनासो पोखे । भवन निर्माणस्थल वरपरका स्थानीयहरू निकै त्रसित र आतंकित देखिएका छन् । ओखरबोट मार्ग भासिएर गाडी हिँड्न बन्देज लगाइएको छ । यो विषयमा स्वास्थ्य लाइभले सांसद घिमिरेसँग सम्पर्क गर्दा बोल्न चाहेनन् । उनले आफूलाई यो विषयमा सोधेखोजी नगर्न आग्रह गरे ।

समाज डेण्टल अस्पताल कै कारण थापागाउँका आधा दर्जन घर जोखिममा परेका छन् । बाटो भासिएको छ । स्थानीयको निद्रा खोसिएको छ । तर, समाज डेण्टलका मालिक घिमिरे भने यो विषयमा बोल्न चाहँदैनन् । उनले पहुँच र प्रभावको भरमा स्थानीयलाई दपेटेका छन् । बर्खा मौसममा पानी परिरहेकाले स्थानीयहरू राति के हुने हो भनेर चिन्तित देखिन्छन् ।

७ करोडमा समाज डेण्टल अस्पतालको भवन निर्माण गर्ने ठेक्का पाएका थानापाती बिल्डर्स प्रालीका निर्देशक रोशन नेपाल भने अबको १५ दिनमा समस्याको समाधान हुने दाबी गर्छन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा भवन निर्माण गर्दा केही कमजोरी भएको स्वीकार गर्दै उनले आवश्यक क्षति रोक्न पहल गरिरहेको सुनाए ।

उक्त ठाउँ हुँदै सिंहदरबारबाट नीति निर्माण गर्ने मन्त्री र सांसदहरू बीआईसीसी भवन नयाँ बानेश्वर आउने जाने गर्छन् । तर, उनीहरूले समाज डेण्टल पीडित थापागाउँबासीको गुनासो सुन्ने प्रयास गरेका छैनन् । यो निकै गम्भीर, संवेदनशील र लाजमर्दो कुरा हो ।

समाज डेन्टलको भवन बनाउँदा चरम लापरबाहीका कारण बाटो र वरिपरिका घरहरूमा क्षति पुगेको देखिन्छ । समिट अर्पाटमेन्टको झल्को दिने गरी समाज डेण्टलले नयाँ बानेश्वर थापागाउँका आतंक मच्चाइरहेको छ ।

थापागाउँमा यति ठूलो दुर्घटना हुँदा समेत उक्त विषयमा काठमाडौं महानगरपालिकाले प्राविधिक टोली गठन गरेर तत्काल अनुगमन र छानबिन नगर्ने हो भने बखुण्डोलबासी कै हालत उक्त क्षेत्रका बासिन्दाले बेहोर्नु पर्ने देखिन्छ ।

अस्पतालको भवन निर्माण गर्दा चरम लापरबाही हुँदा समेत काठमाडौं महानगरपालिका मौन छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह वेखबर छन् । बखुण्डोलको समिटमा जस्तै थापागाउँको वरिपरिका घरहरू भासिएपछि मात्र उनले यो विषयमा चासो लिने त  होलान् !

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बानेश्वर थापागाउँ, #समाज डेन्टल अस्पताल, #सांसद श्यामकुमार घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ