डेंगु महामारी उत्कर्षतिर : स्वास्थ्यका दुई अतिरिक्त सचिव र ५ सह सचिव घरतिर 


काठमाडौं । डेंगु महामारी उत्कर्षतिर लागेको छ । जुलाई ३०, २०२३ सम्म ७० जिल्लामा डेंगु महामारी फैलिएको छ । तर, यस महामारीको क्षेत्रमा काम गर्ने सरकारका उच्च अधिकारीहरूलाई जिम्मेवारी विहीन बनाइएको छ ।

डेंगु महामारी उत्कर्षतिर लाग्दा स्वास्थ्य मन्त्रालयले दुई अतिरिक्त सचिव र ५ जना सह सचिवलाई जिम्मेवारीबाट मुक्त गरेको छ । डा विकास देवकोटा र डा टङ्क बराकोटी अतिरिक्त सचिवमा बढुवा भएको चार महिना पुगेको छ । उनीहरूको योग्यता र क्षमतालाई डेँगुको महामारीमा पनि मारिएको छ ।

जनवरी १ देखि हाल सम्म ५ हजार ६८८ जना संक्रमित भएको सरकारी अधिकारीहरू बताउँछन् । यस बिचमा ४ जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । देशभर डेँगुले महामारीको रूप लिदा दुई अतिरिक्त सचिव र सोही क्षेत्रमा काम गरेका ५ जना सह सचिव जिम्मेवारी मुक्त छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार डा देवकोटा र डा बराकोटी बाहेक डा चुमन लाल, डा राधिका थपलिया, डा पवनजंग रायमाझी, डा यदु चन्द्र घिमिरे र डा सुस्मिता भण्डारी जिम्मेवारी मुक्त छन् । डा चुमन यस अगाडि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा थिए । डा राधिका र सुस्मिता भने वर्षौ देखि जिम्मेवारी मुक्त छन् । जिम्मेवारी मुक्त भएका कर्मचारी हाजिर गर्ने र घर जाने गर्दै आएका छन् । अतिरिक्त सचिवको हकमा भने बस्ने कुर्सी दिइएको छ ।

कुर्सी दिए पनि दुई अतिरिक्त सचिवले फायलको स्वाद चाख्न पाएका छैनन् । क्षमतावान कर्मचारीलाई महामारीमा जिम्मेवारी मुक्त गर्दा जिम्मेवारी मुक्त गराउने व्यक्तिलाई मज्जा आएपनि देशलाई ठुलो घाटा गरेको हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ