स्तनपानको पाठ सिकाउने स्वास्थ्य मन्त्रालयकै स्तनपान कक्ष “मरुभूमि”
काठमाडौं । “आफ्नो आँको भैँसी नदेख्ने अरुको आँको जुम्रा समेत देख्ने” नेपाली उखान गाउँ घरमा व्यापक प्रचलनमा छ । स्वास्थ्य लाइभले केही समय अगाडि स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई यही कुरा सार्वजनिक रुपमा राखेको थियो । अहिले यो उखान पुन स्वास्थ्य मन्त्रालयमा लागू भएको छ । विभिन्न स्वास्थ्य संस्थामा अनुगमन गर्न जाने मन्त्रीले आफ्नै मन्त्रालयको बारेमा जानकारी राखेका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले विश्व स्तनपान सप्ताह मनाइरहेको छ । १ अगस्ट देखि ७ सम्म मनाइने स्तनपान दिवसमा आफ्नै मन्त्रालयको बेथितिका बारेमा बेखबर जस्तो भएका छन् । देशभर स्तनपानको चर्का नारा र पाठ सिकाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्रकै स्तनपान कक्ष मरुभूमि जस्तो छ ।
सुधार आफैबाट सुरु हुनुपर्छ । आफू सुध्रिए पछि बल्ल अरुलाई भन्न र गराउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुइँ तलामा एउटा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । “ स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिवद्धता” भन्ने नाराका साथ मनाइएको दिवस नाम मात्रैको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको स्तनपान कक्षमा सामान्य सोफा बाहेक केही छैन ।
एक अधिकारीले भने, यो स्तनपान कक्ष भन्दा बाहिरको चौर धेरै गुणा उपयुक्त छ । सानो कोठा छ । पानी खाने गिलास छैन । दूध खुवाउँने बटुको छैन । बच्चा राख्ने कोक्रो छैन । ऐना छैन । स्तनपान कक्षका लागि आवश्यक पर्ने केही उपकरण बिनाको स्तनपान कक्षले देशभर के सन्देश दिन्छ त्यो मन्त्री सचिवलाई जानकारी होला ।
स्रोतका अनुसार बटुको, ऐना, पानी माग्दा उच्च अधिकारीले घरबाटै ल्याउनु पर्ने अभिव्यक्ति दिएका छन् । शिशु मृत्युदर घटाउने, सुरक्षित मातृत्वको कुरा गर्ने तर, त्यसको नतिजा हासिल गर्न आवश्यक पर्ने यस्तो सेवामा भने राज्यको सहयोग शून्य देखिएको छ ।
विभिन्न संघ संस्थाले मातृ सुरक्षाका क्षेत्रमा ठुलो रकम खर्च गर्दै आएका छन् । पाँच तारे होटलमा रक्सी सहितको पार्टी दिने संघ संस्थाले स्तनपान दिवस मनाउँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उक्त कक्षलाई नमुनाका रुपमा देखाउनु पर्ने हो । तर, अरुलाई पाठ सिकाउनेहरुले मन्त्रालयकै स्तनपान कक्ष मरुभूमि बनाउँदा भोलिका दिनमा बोल्न लाज अवश्य होला नै । विशेषगरी विश्व स्वास्थ्य संगठन र युनिसेफले यस्ता क्षेत्रमा काम गर्दै आएको छ ।
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु स्तनपान हो । स्तनपान को दुई वटा मूलभूत मापदण्ड छन् । प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नु हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्दछ । शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउँछ ।
त्यस्तै शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो । शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै पर्याप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना खुवाउन आवश्यक हुँदैन । पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस