डेंगी सङ्क्रमितको उपचार देशभर निशुल्क, परिक्षण शुल्कमा एक रूपता ल्याइने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी सङ्क्रमितको उपचार देशभर निशुल्क हुने बताएको छ । स्वास्थ्य तथा जनसंख्या सचिव डा रोशन पोखरेलले डेंगी सङ्क्रमितको उपचार संघीय देखि प्रदेश सम्मका सबै सरकारी अस्पतालमा निशुल्क भएको बताए । 

सरकारले सङ्क्रमितको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताए पनि आम नागरिक यसबारे जानकार छैनन् । अस्पतालहरू मन्त्रालयको निर्णय बिरामीलाई सुनाउने पक्षमा छैनन् । त्यसैले आम नागरिक सूचनाको पहुँचमा हुनु पर्नेमा सचिव पोखरेलले जोड दिए । 

डेंगीको महामारी र आगामी चुनौतीका बारेमा स्वास्थ्य पत्रकार मञ्चले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सचिव पोखरेलले डेंगी परीक्षणमा कालो बजारी भएको विषयलाई समेत उठाएका छन् । उनले जनता अफ्ठेरोमा परेका बेला सेवाका नाममा भएका कालोबजारी प्रति कठोर भएर मन्त्रालय लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले डेंगी परिक्षण शुल्कमा एक रूपता ल्याउने समेत बताए ।

यस आर्थिक वर्षमा मात्रै ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको छ । डेंगीका कारण ७ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले बताए । उनका अनुसार सबैभन्दा बढी संक्रमण कोशी प्रदेशको सुनसरीमा रहेको छ । 

निर्देशक डा मरासिनीका अनुसार एक वर्ष बिराउँदै दोस्रो वर्ष फैलिदै गएको छ । अघिल्लो वर्ष कम केस देखिएका क्षेत्रहरूमा यस वर्ष महामारीको रुपमा देखा परेको छ । अघिल्लो वर्ष महामारीको रूप लिएका जिल्लामा यस वर्ष भने न्यून केस पुष्टि भएको छ । 

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले डेंगी संक्रमणलाई लागि शशक्त भएर काम गरिरहेको बताए । संक्रमण नियन्त्रणमा जनशक्तिको भने अभाव रहेको उनको भनाई छ ।  हाल देशका ७७ वटै जिल्लामा डेंगीको संक्रमण देखिएको छ । 

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. विमलशर्मा चालिसेले नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखिएको बताए । अहिले काठमाडौंमा  डेंगीका बिरामी खासै नदेखिएको बताउँदै उहाँले डेंगीले काठमाडौंमा महामारी लिने या नलिने भन्न थप  २– ३ हप्ता कुर्नुपर्ने  बताए । 

उपचारात्मक सेवा महाशाखाका निर्देशक डा अनुप बास्तोलाले मिटिङ बस्नेत तर त्यसको कार्यान्वयन नहुदाँ अहिलेको अवस्था झेल्नु परेको बताए । लार्भा नष्ट नभएको उनको तर्क छ । उल्टै सरकारी अधिकारीहरूलाई बास्तोलाले प्रश्न गरे खै लार्भा कहाँ नष्ट भएको छ ? काला टायर बाटैभरि देखिन्छ, कसैले अहिले सम्म हटाएको छैन । बाग्मती सफाइ अभियान चल्न सक्ने तर, महामारीको रुपमा देखा परेको डेंगी नियन्त्रणमा लार्भा नष्ट गर अभियान चल्न नसक्ने भन्ने हुन्छ बास्तोलाले भने । यो अभियान निरन्तर नभए भविष्यमा दुख पाइने उनको बुझाइ छ ।  

डेंगीको सामान्य लक्षण
–एक्कासी उच्च ज्वरो आउनु (१०२) डिग्री
–अत्याधिक टाउको दुख्नु
–आँखाको गेडी दुख्नु
–ढाड जोर्नी तथा मांशपेशीहरू दुख्नु
–वाकवाकी लाग्नु,
–वान्ता हुनु
–ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु

गम्भीर लक्षण

–अत्याधिक पेट दुख्नु
–लगातार वान्ता आइरहनु
–छिटो छिटो सास फेर्नु
–गिजा वा नाकबाट रगत बग्नु
–थकान
–वान्ता वा दिशामा रगत देखिनु
–मुख सुख्खा हुनु
–छालाको रंग पहेँलो हुनु
–कमजोर महसुस हुनु

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ