अपरेशन ‘फोक्सट्रोट चार्ली’मा शर्मासहित ५ चिकित्सक पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चलाएको अपरेशन ‘फोक्सट्रोट चार्ली’मा सुनिल शर्मासहित ५ चिकित्सक पक्राउ परेका छन् । नेपाली कांग्रेसका सांसद समेत रहेका डा. शर्मासहित ५ जनालाई सीआईबीले आज निमन्त्रणामा लिएको हो ।
प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली लिएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा डा. शर्मासहित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. अमृत चौधरी, डा. रञ्जितकुमार यादव, डा.रामबाबु र डा.एरिना शाह रहेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले पनि सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले लैनचौरस्थित ब्युरोको हिरासतमा राखिएको छ । सांसद शर्मा पक्राउ परेको विषयमा सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । अक्त अपरेशनको टार्गेटमा १५ नक्कली प्रमाणपत्रधारी चिकित्सक रहेको सीआईबीको दाबी छ ।
यता सांसद शर्मा पक्राउ परेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
सभामुख लाई जानकारी गराइएको पत्रमा ‘कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाण पत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएकाले कानूनबमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको र यसैगरी शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आइएस्सी तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानूनबमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले’ भन्ने व्यहोरा खुलाइएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस