“पेन प्लस” कार्यक्रमले ५ देखि १० वर्षमा मृत्युदर घटाउँछ : विज्ञ
काठमाडौं । सरकारले सुरु गरेको “पेन प्लस” कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढे आगामी ५ देखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । दमक अस्पतालमा सञ्चालित “पेन प्लस” कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विज्ञहरूले छलफल गरेका छन् ।
सरकारले दमक अस्पताल र बर्दियाको जिल्ला अस्पतालमा पाइलटिङको रुपमा “पेन प्लस” कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयको छलफलमा विज्ञहरूले यसलाई प्रभावकारी तरिकाले सञ्चालन गरेको खण्डमा आगामी १० वर्ष भित्र नेपालमा हुने मृत्युको सङ्ख्यालाई घटाउन सकिने बताए ।
नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्याङ्कका आधारमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को सहयोगमा कार्यक्रम सुरु भएको हो । “पेन प्लस” कार्यक्रम सुरु भएपछि हाल सम्म बर्दिया जिल्ला अस्पतालमा २५ सय र सोही अनुपातमा दमक अस्पतालमा बिरामीले सेवा लिएका छन् । तर, यसलाई समुदाय स्तरमा पुर्याउने र सकेसम्म बिरामीलाई अस्पताल पुग्नबाट रोक्ने “पेन प्लस” कार्यक्रमको उद्देश्य रहेको छ ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले “पेन प्लस” कार्यक्रमले अबको ५ देखि १० वर्षमा नेपालमा भएको मृत्युदर घट्ने बताए । संसारमा नसर्ने रोगहरू बढिरहेका बेला गरिब देशमा पनि नसर्ने रोग बढेको छ । नेपालमा हरेक वर्ष हुने मृत्यु मध्ये ७९ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको डा कोइरालाले बताए । उनले भनेका छन्, यो मृत्युलाई “पेन प्लस” कार्यक्रमले शून्यमा पुर्याउन सक्दैन तर, सबैको साथ सहयोगमा न्यूनिकरण गर्न सकिन्छ ।
डा कोइरालाले बिस्तारै बच्चाहरू पनि नसर्ने रोगको शिकार बन्न थालेको बताए । उनले बच्चामा पनि नसर्ने रोगको अवस्था अबको १० वर्षमा गम्भिर बनेर आउने भन्दै सचेत गराए । हाल भइरहेको उपचारको पिरामिड नमिलेको भन्दै डा कोइरालाले दुई तिहाइ बिरामी सिधै अस्पताल पुग्नबाट रोक्ने सिस्टम मिलाउने काम पनि “पेन प्लस” कार्यक्रमको भएको बताए । बिरामीले स्वास्थ्य उपचारका लागि ठूला अस्पतालमा जान आवश्यक छ वा छैन भने जाँचबुझ गर्ने काम “पेन प्लस” ले गर्ने छ ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईँले “पेन प्लस” कार्यक्रमलाई सफल बनाउन आफूले सबै क्षेत्रबाट सहयोग गर्ने बताइन् । तर, तीन तहको सरकार बीच आपसी समन्वय भने अत्यन्तै टाढा भएको दुखेसो गरिन् । उनले “पेन प्लस” कार्यक्रम सबै पालिकाहरूमा लैजाने र विद्यालय स्तरबाटै बुझाउन जरुरी भएको पनि बताइन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत “पेन प्लस” कार्यक्रमका प्रमुख फणिन्द्रप्रसाद बरालले दमक र बर्दियामा “पेन प्लस” कार्यक्रम पाइलटिङको रुपमा सञ्चालन भएको बताए । “सरकारले दुई स्थानमा “पेन प्लस” कार्यक्रम सञ्चालन गरेको छ, डा बरालले भने” यसलाई सफल बनाएर देशभर लैजाने योजना रहेको छ ।”
कार्यक्रमका सहभागीहरूले कार्यक्रम राम्रो भएपनि कसरी यसलाई दीर्घकालीन बनाउन सकिन्छ भनेर जिज्ञासा समेत राखेका थिए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेक्टर प्राध्यापक डाक्टर सञ्जीव शर्माले “पेन प्लस” कार्यक्रमलाई सफल बनाउन विपी प्रतिष्ठान सधैँ हातेमालो गर्न तयार रहेको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले “पेन प्लस” कार्यक्रम सरकारको भएकाले यसलाई स्थानीय तहले सञ्चालन गर्नुपर्ने बताए । डा मरासिनीले नसर्ने रोगलाई मध्यनजर गर्दै नेपाल सरकारले “पेन प्लस” कार्यक्रम ल्याएको बताए । हाम्रो काम विशेषज्ञ चिकित्सक सम्म बिरामी पुर्याउनु नपर्ने अवस्थाको सृजना गर्ने हो, उनले भने । उनले अब समुदायमा जानेगरी “पेन प्लस” कार्यक्रमको योजना बनाउनु पर्ने बताए । उनका अनुसार “पेन प्लस” कार्यक्रम लिएर समुदायमा जानुको कुनै विकल्प छैन ।
संघले यसका लागि औषधि खरिद गर्ने हैन । अब “पेन प्लस” कार्यक्रमलाई सञ्चालन गर्ने र औषधि किन्ने काम स्थानीय सरकारले गर्नुपर्छ । औषधिको गाइडलाइन प्रदेश र संघीय सरकारले बनाउँछ, तर, किनेर जनतासम्म पुर्याउने काम स्थानीय सरकारले गर्नुपर्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस