स्वास्थ्य लाइभ प्रभाव

स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा महानगरको डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाले थापागाउँ धोबीखोला करिडोरस्थित वडा स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाएको छ । स्वास्थ्य लाइभले उक्त ठाउँमा सरकारी जग्गा कब्जा गरी अनधिकृत संरचना बनाएको तथ्य सार्वजनिक गरेपछि काठमाडौं महानगरपालिकाले डोजर लगाएको हो ।

आइतबार काठमाडौं महानगरपालिकाले थापागाउँ धोबीखोला करिडोरका ती अनधिकृत संरचनामा डोजर लगाएको काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारले जानकारी दिए ।

स्वास्थ्य लाइभको खोजीमा काठमाडौं महानगरपालिका वडा नम्बर सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर २६४, २८९, ४१२ को झन्डै १ रोपनी सरकारी जग्गा भूमाफियाको कब्जामा रहेको फेला परेको थियो । उक्त विषयम स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएपछि कित्ता नम्बर १६८ को आधा रोपनी सरकारी जग्गामा बनेको अनधिकृत संरचना हटेपनि बाँकी संरचना हटेको थिएन । त्यो विषयमा स्वास्थ्य लाइभले निरन्तर फलोअप गरेपछि १० नम्बर वडा कार्यालयले रेखाङ्कन गर्ने काम गर्‍यो । रेखाङ्कन गरेको १५ दिनपछि ती अनधिकृत संरचनामा महानगरपालिकाको डोजर चलेको हो ।

काठमाडौं महानगरपालिकाले डोजर चलाएका ती अनधिकृत संरचना रहेका सरकारी जग्गामा उक्त क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको अग्रसरतामा खोज्ने कार्य भएको थियो । सांसद श्रेष्ठले मालपोत कार्यालय डिल्लीबजार र नापी कार्यालय मैतीदेवी पुगेर ती जग्गाको अवस्था बुझेका थिए । उनले कागजात उपलब्ध गराएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले सरकारी जग्गा छुट्याउने प्रक्रिया अघि बढाए । आज महानगरले डोजर लगाएर अनधिकृत संरचना ढालेको छ ।

स्थानीय सरोज गुप्ता श्रेष्ठ, अशोक कार्की, सुवर्ण खड्का, दीपक थापा, गोरूभक्त निरौल, गोमा बराल, श्याम थापालगायतले उक्त सरकारी जग्गामा भएको अतिक्रमण हटाउन पहल गरिदिन सांसद श्रेष्ठलाई आग्रह गरेका हुन् । त्यसपछि उनी प्रमाण जुटाउन मालपोत र नापी पुगेका थिए । रेखाङ्कनका क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्मालगायतको पनि उपस्थित रहेको थियो । सँगैको जिल्ला निर्वाचन कार्यालय रहेको ३० नम्बर कित्ताले भने सरकारी जग्गा हालसबिक गरेर आफ्नोमा घुसाएको पाइन्छ । यी विषयमा थप खोजी हुने स्थानीयहरुले बताएका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ