नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरू


काठमाडौं ।  नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश पनेरू नियुक्त भएका छन् । नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनलाई नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा नियुक्त गरेको बताइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डलेलधुराका पनेरूलाई नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा नियुक्त गरेको हो ।

नेपाली कांग्रेसका नेता रमेश रिजालले नेतृत्व गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले देउवाको गृहजिल्ला डडेलधुराका पनेरूलाई नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छनोट समितिमा निर्धारित समयभित्र ९ जनाको आवेदन दिएका थिए । त्यसमध्ये डडेलधुराका पनेरू नेपाल औषधि लिमिटेडको महाप्रबन्धक बन्न सफल भएका छन् । पनेरूसँगै काठमाडौं पेप्सिकोलाका सूर्य उपाध्यय, ललितपुरका डा. राजकुमार थापा, काठमाडौंका जीना पौडेल, पर्साका उमेश गुप्ता, काठमाडौं कोटेश्वरका दिपेन्द्र देव  र भक्तपुर सूर्यविनायकका तेजप्रसाद दुलाल छन् । त्यस्तै डोटीका लोकेन्द्र बलायर, कैलालीका टेकेन्द्र पन्त पनि उनीसँगै प्रतिष्पर्धामा उत्रिएका थिए । तर, पनेरूले बाजी मारेका छन् ।

नेपाल प्रशासन सेवा सामूहीकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । उनका अनुसार मन्त्रिपरिषद्ले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको हो।

भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय समेत गरेको सञ्चारमन्त्री शर्माको भनाई छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ