कृष्ण जन्माष्टमीमा जन्मिएको प्रसुती अस्पताल ६४ वर्षमा प्रवेश
काठमाडौं । ०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिनमा ४० शैय्याबाट सेवा सुरु गरेकाे परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल ६४ वर्षमा प्रवेश गरेकाे छ ।
श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसुती गृह नामले स्थापित भएको हाे । विकास समिति गठन आदेश ऐन अन्तर्गत २०६४ साल असोज १३ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नामकरण भएको थियाे ।
मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धि यो केन्द्रिय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या संख्या ४१५ भएता पनि बिरामीको चाप लाई मध्यनजर गरि ४८९ शैय्या संचालन गरि रहेको छ ।
सीमित साधन र श्रोतका बावजूद पनि बिश्व कै नमूना प्रसूति केन्द्रको रुपमा स्थापित यो अस्पतालमा गत ०७९/ ०८० मा कुल ३४ हजार १ सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार ९ सय ४७ तथा स्त्रीरोग तर्फ ५ हजार ४६ रहेको थियो ।
त्यसै गरि नवजात शिशु सघन उपचार तर्फ २ हजार १ सय ९२ र मातृ सघन उपचार तर्फ ४ सय ८३ भर्ना भएका थिए भने बहिरंग सेवा तर्फ १ लाख ८० हजार ८ सय ९० जना महिला दिदिबहिनी हरुले सेवा लिएका थिए ।
प्रसूति तर्फ भर्ना भएका २६,९४७ मध्ये २४,६७२ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको थियो जस बाट २४,९१५ जना शिशुको जन्म भएको थियो, जसमा ९,८२१ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सनबाट डेलिभरी भएको थियो ।
स्त्रीरोग गाईनोकोलोजी शल्यक्रिया तर्फ गत ०७९/० ८० मा २९४६ जनाको शल्यक्रिया भएको मध्ये २२३ जनाको दुरविन प्रबिधि (ल्याप्रोस्कोपीक) र २७२३ जना चिरफार प्रबिधि बाट शल्यक्रिया भएको थियो ।
नेपाल सरकारअन्तर्गत २०६८ सालमा संचालित देशकै पहिलो सर्भसुलभ आई.भी.एफ. सेवा २०७२ सालको भुकम्प पश्चात स्थगनमा रहेको र आ.व. २०७८।७९ साल देखि यस सेवालाई स्तरोन्नती गरि पुनः नियमितरुपमा संचालनमा ल्याई हालसम्म ३८ जना सेवाग्राहीलाई आई.भि.एफ. प्रबिधिबाट सेवा दिईसकिएको छ । गत आ.व.मा जम्मा ८,३०९ जना निशन्तान सम्बन्धि सेवाग्राहीहरुले ओ.पी.डी.बाट सेवा लिएको, जसमध्ये २५४ जना महिलाहरले आई.यू.आई. सेवा र २७ जना निशन्तान सेवाग्राहीहरुले आई.भी.एफ.सेवा लिएका छन ।
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत बिभिन्न विषयमा स्नाकोत्तर तथा फेलोसिप संचालन भइरहेकोमा गत शैक्षिक सत्र देखि इन्फर्टिलिटी विषयमासमेत फेलोसिपको पढाई शुरु भएकोले बाँझोपन पिडित महिलाहरु तथा निसन्तान दम्पत्तिहरुको उपचारको लागि अझै सहज हुने अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारीले बताए ।
२०७३ साल देखि अस्पतालले आफ्नै परोपकार नर्सिङ्ग क्याम्पस समेत संचालन गर्दै आएकामा चिकित्सा शिक्षा आयोगको स्थापना पश्चात स्नातक तहमा २० जना मिडवाईफरीको विद्यार्र्थी भर्ना भई अध्ययन अध्यापन भईरहेकोमा आगामी बर्ष देखि ३० जना मिडवाईफ्रि विद्यार्थीहरुका लागि पहल गरिएको छ, अधिकारीले भने ।
स्त्रीरोग उपचार गराउन आउने गरिब, बिपिन्न तथा असहाय महिला उपचारमा अस्पतालमा स्थापित सामाजिक सुरक्षा इकाई (एस.एस.यु) बाट उल्लेख्य सहयोग पुर्याएकोले आर्थिक अभावका कारण कुनै पनि सेवामा कुनैपनि बिरामीले उपचारबाट बन्चित हुनु परेको छैन निर्देशक अधिकारी भन्छन् । १११५ जना अति गरिबले निशुल्क सेवा लिएका छन् ।
दूर दराज तथा दुर्गम जिल्लाका महिलाहरु उपचारबाट बन्चित नहुन भन्ने उदेश्यका साथ स्थापना भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निशुल्क हवाई उद्धार सेवाबाट उद्धार गरी ल्याएका ३९ जना महिलाहरुको गतबर्ष उपचार गरिएको थियो ।
निर्देशक अधिकारीका अनुसार लैङ्गकि हिंसाबाट पिडित महिलाहरुको लागि अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओ.सी.एम.सी.) बाट गत आ.व.मा ४०३ जना विभिन्न लैंगिक तथा यौन हिंसा बाट पिडित महिलाले सेवा लिएका छन् ।
महिलाको प्रजनन स्वास्थ्यको अधिकारलाई सुरक्षित गर्दै अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिनेहरु १७७९ जना रहेका छन् ।
नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै प्रसुती अस्पतालमा पूर्ण स्तनपान नीति लागु गरि बट्टाको दुध पूर्णत निषेधित छ । नेपाल सरकारको प्राथमिकता प्राप्त स्तनपान प्रोत्साहन नीतिलाई अझै बढी व्यापक रुपमा फैलाउन र यसको उपयोग बढाउन स्थापित ह्युमन मिल्क बैक काेष दाता आमाहरुबाट संकलन गरेको दुधलाई संक्रमणमुुक्त गरि ६ महिनासम्म भण्डारण गर्न सकिने भएकोले आवश्यकता अनुसार आमाको दुधबाट बन्चित शिशुहरूलाई प्रत्यक्ष लाभान्वित बनाएको छ ।
सेवाग्राहीहरु को विश्वसनियता, न्यून शुल्क मा गुणस्तरीय सेवा र अस्पताल बाट बिरामी नफर्काउने नीतिले गर्दा संचालित ४८९ बेड संख्याले पनि सेवामा कठिनाई भएकाले ७०० बेड को स्वीकृतिको लागि प्रकृया अगाडि बढाइएको अधिकारी बताउँछन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस