१० करोडमा ५ हजारका दरले २० हजार एचपिभी खोप खरिद गरेर ९ हजारलाई लगाउँदै सरकार
काठमाडौं । सरकारले १० करोड रुपैयाँमा २० हजार डोज एचपिभी खोप खरिद गरेर ९ हजार बालिकालाई लगाउने भएको छ । तर, खोपको सम्पूर्ण जिम्मा पाएको परिवार कल्याण महाशाखाले यसलाई लुकाएको छ । स्वास्थ्य लाइभले यस विषयमा अनुसन्धान गर्दा गत वर्ष नै एचपिभी खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बजेट बिनियोजन भएको थियो ।
गाभिले एचपिभी खोप अनुदानमा दिने बताइरहेका बेला सरकारले कमिसनको लोभमा खुसुक्क चीनसँग २० हजार डोज एचपिभी खोप खरिद गरेको थियो । परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका एक अधिकारीले बताए अनुसार एउटा नयाँ सप्लायरसँग ५ हजारका दरले २० हजार एचपिभी खोप खारि गरिएको हो । तर, यो कुरा बाहिर नल्याउने भित्री सहमति अनुसार भएको हो ।
२७ भदौ देखि पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सरकारले लगाइँदै छ । पहिलो चरणमा १४ वर्ष उमेर समूहका नौ हजार पाँच सय बालिकालाई लगाइने निर्णय सरकारले गरेको छ । यही विषयमा जानकारी दिन बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना समेत गरियो । करिब ५० जना पत्रकार भेला पारेर खोप तालिका मात्रै सार्वजनिक गरिएन, खोप “डेमो” मात्रै गर्न लागिएको दाबी गरियो ।
खोप शाखा प्रमुख डा अभियान गौतमले आफ्नो प्रस्तुतीको ३४ मिनेटमा १३ पटक समाचारमा “डेमो” मात्रै गर्न लागेको कुरा जोड्न अनुरोध गरिरहे । ऐतिहासिक काम गर्न लागेको सरकारलाई किन “डेमो” लेख्नु पर्यो रु यसको भित्री कथा अर्कै छ ।
गाभिले अनुदानमा दिने बताइसकेको छ । तर, गाभिले अनुदानमा खोप दिएपछि कर्मचारीको मुखमा माड लाग्दैन । त्यही भएर खुसुक्क १० करोडको खरिद भएको थियो । त्यो कुरा लुकाउन अहिले सरकारी अधिकारीहरू पत्रकार सामु खोपको “डेमो” मात्रै भएको बताउँदैछन् ।
अधिकारीहरूले बताए अनुसार गाभिले सरकारले खोप सुरु गरे अनुदानमा नदिने बताइसकेको छ । सरकारले लुकेर किनेको यथेष्ट प्रमाणहरू हामीले दिएका छौं, अब गाभिको घुर्की हो वा साँच्चै हो केही समय पछि थाहा नहुनेनै छ । खोप सुपरभाइजर भरत भण्डारी खोप किन्न आवश्यक नै नभएको बताउँछन् । ५ हजारका दरले खोप खरिद गरियो अझ अहिले पनि किन्न बजेट राख्ने कुरा हुदै थियो उनले भने, स्वास्थ्य सचिवले नमानेकाले रोकियो । अधिकारीहरूले भनेका छन् सरकारले कमिसनको लोभले खोप किनेर सुरु गर्यो अहिले नाटक गरिरहेको छ ।
सरकारी अधिकारीहरूले एक कार्यक्रममा बताए अनुसार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट आफैले खरिद गरेको खोप ‘डेमो’ का रूपमा सुरु गर्न लागिएको हो । यो भन्दा मजाक के होला । कमिसन भनेपछि कस्तो हेर्नु त १ विगतको कोरोना महामारीको समयमा १० लाख खोप ल्याएर आम नागरिकलाई आँखामा छारो हालेको जस्तो । १४ लाख बालिकालाई खोप लगाउनु छ, सरकारले कसैले थानपाउने गरी २० हजार खरिद गरेको छ ।
गाभिले सन् २०२४ मा खोप ल्याउने प्रक्रिया अघि बढेकाले १० देखि १४ वर्षसम्मका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर, अब कमिसन पाउने नाममा आफू खुसुक्क किन्ने बाँकी गाभिको आस गर्ने भएपछि दिने नदिने यकिन छैन ।
खोप लगाउन तोकिएका अस्पताल
प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
कोशी अस्पताल, विराटनगर
नारायणी अस्पताल, वीरगन्ज
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
भेरी अस्पताल, नेपालगन्ज
कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर
डडेल्धुरा अस्पताल
तपाईको प्रतिक्रिया दिनुहोस