सामाजिक सेवा एकाइ : कर्मचारी भर्ना गर्ने थलो बन्यो, काम बनेन 


काठमाडौं । देशभर ८६ अस्पतालमा सामाजिक सेवा एकाइ सञ्चालनमा रहेका छन् । अति गरिब, असहाय, अपाङ्गता, जेष्ठनागरिक, लैङ्गिक, हिंसापीडित, विपद् एवं प्राकृतिक प्रकोपबाट पीडित गरिब तथा विपन्न, आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजातिलाई लक्षितगरि सुरु गरिएको सामाजिक सेवा एकाइ पछिल्लो समय कर्मचारी भर्ती केन्द्रमात्र बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार आधिकांश अस्पतालमा गएको रकम सही सदुपयोग भएको छैन । अधिकारीहरूले बताए अनुसार भुईँ मान्छेले पाउनुपर्ने सेवा पाएका छैनन् । सामाजिक सेवा एकाइका नाममा ठूलाठाला र भनसुनका आधारमा पैसा हुनेहरूले पाएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उप सचिव रोशनी कार्कीको शब्द अनुसार सामाजिक सेवा एकाइ सञ्चालनका नाममा चरम बेथिती देखिएको छ । छिटफुट अस्पतालले सेवाको सही सदुपयोग गरेका छन् तर, धेरैले यसलाई कर्मचारी भर्ती केन्द्र मात्रै बनाएका छन् । सामाजिक सेवा एकाइ अस्पताललाई कर्मचारी भर्ना गर्ने थलो बन्यो तर सेवा नबनेको अधिकारीहरूको गुनासो छ ।

अति गरिब, असहाय, अपांगता, जेष्ठनागरिक, लैगिंक , हिंसापीडित , विपद् एवं प्राकृतिक प्रकोप बाट पीडित गरिब तथा विपन्न, आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति सामाजिक सेवा एकाइ भित्र पर्छन् । तर, उनीहरूको स्थानमा अरुले सेवा पाएको प्रसस्त उदाहरणहरू छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक वर्ष सामाजिक सेवा एकाइमा नाममा मात्रै करिब १८ करोड रुपैयाँ पठाउने गरेको छ । यसका लागि छुट्टै कर्मचारी अस्पतालले भर्ना गरेका छन् । अस्पतालको सेवाको अवस्था हेरेर ६ देखि २० जना सम्म कर्मचारी सामाजिक सेवा एकाइ सञ्चालनका नाममा भर्ना गरिएको छ । तर, उनिहरु बाट मन्त्रालयले कुनै उपलब्धि हात पार्न सकेको छैन् ।

भरतपुर अस्पतालमा सामाजिक सेवा एकाइको नाममा १२ जना कर्मचारी भर्ना गरिएको छ । तर, ५ जनालाई मात्रै समाजिक सेवा इकाईमा राखिएको स्वास्थ्य मन्त्रालय बताउँछ । यता अस्पतालका सूचना अधिकारी गोपाल पाण्डे भने १० जना मात्रै भर्ना गरिएको बताउँछन् । भर्ना गरिएका मध्ये केही सोही प्रयोजनमा काम गर्छन भने केहीलाई आवश्यकता अनुसार काममा लगाइने पाण्डेले बताए । नियम अनुसार जे प्रयोजनका लागि राखिएको हो त्यो भन्दा बाहिर गएर काम लगाउन पाइदैन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कञ्चनपुर अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल, डडेल्धुरा लगायत आधिकांश अस्पतालले समयमा रिपोटिङ समेत गरेका छैनन् । महाकाली अस्पताल कञ्चनपुरमा ६ जना कर्मचारी राखिएकोमा ३ जनालाई सामाजिक सेवा एकाइ भन्दा बाहिर काम लगाएको छ ।

निशुल्क तथा आंशिक छुट सेवा पाएका बिरामीको अभिलेख अनुसूची ५ र अनुसूची ६ मा दिएको ढाँचा बमोजिम मन्त्रालयबाट उपलब्ध गराएको अनलाइन सफ्टवेयर राखी हरेक महिनाको पहिलो हप्ताभित्र एकीकृत स्वास्थ्य सूचना प्रणालीमा समावेश गराउनु पर्ने व्यवस्था रहेको छ । तर, अस्पतालले मोटो रकम बुझेका छन् काम गरेका छैनन् ।

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गर्ने हक हुनेछ र कसैलाई पनि आर्थिक दृष्टिले शिक्षा, स्वास्थ्य र रोजगारीको मूल धारमा परेकाहरूका लागि आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्याउँदै विशेष सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा सहज, सरल र निशुल्क प्रदान गर्न आवश्यक भएकाले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी सामाजिक सेवा एकाइ स्थापना तथा सञ्चालन निर्देशिका २०७९ जारी गरिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ