भूकम्पले देखाईदिएको कर्णालीको स्वास्थ्य सेवाको दुरावस्था


काठमाडौं । गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको स्वास्थ्य सेवाको दुरावस्था देखाएको छ । कर्णाली प्रदेशको रुकुम र जाजरकोटलगायतका जिल्लामा भूकम्पका कारण घाइते भएका व्यक्तिहरूलाई उपचार गर्न कर्णाली प्रदेशको स्वास्थ्य संरचनाले धान्न मुस्किल परेको हो । कर्णाली प्रदेशका जिल्ला अस्पतालमा चिकित्सक र प्रयाप्त मात्रामा औषधि नहुँदा भूकम्पमा घाइते भएकालाई तत्काल उपचार गर्न कठिन भयो । कर्णाली प्रदेश सरकारको ल्याकतले समेत भ्याएन । करिब डेढ सय घाइते थग्न नसक्ने कर्णाली प्रदेशको स्वास्थ्य संरचना रहेछ भन्ने भूकम्पले पुष्टि गरिदिएको छ ।
यसै त कर्णाली प्रदेश स्वास्थ्य पूर्वाधार र सेवाका हिसाबले कमजोर छ । भूकम्प गएपछि त झनै कर्णाली प्रदेश स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवा नाजुकै रहेछ भन्ने देखिएको हो । भूकम्पले घाइते भएका बिरामीलाई भुईंमा राखेर उपचार गर्नु पर्ने परिस्थितिले कर्णालीको स्वास्थ्य अवस्था नाजुक रहेको देखाउँछ ।
संघसँगै प्रदेश र स्थानीय तहले पनि स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । कर्णाली प्रदेशका प्राथमिक स्वास्थ केन्द्र मात्रै होइन जिल्ला अस्पताल पनि आफैं बिरामी रहेछन् भन्ने कुरा अहिले आएर स्पष्ट भएको छ । सरकारले कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्यका पूर्वाधार निर्माण गर्न थप लगानी गर्नु पर्ने देखिन्छ । कर्णाली क्षेत्रको स्वास्थ्य सुधारका लागि सरकारका लागि यो महत्त्वपूर्ण अवसर पनि हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ