स्वास्थ्य लाइभ प्रभाव

एनएचएसएसपीको कब्जामा रहेको मन्त्रालयको कोठा खोसियो, भागे आइएनजिओ माफिया 


काठमाडौं ।  वर्षौदेखि सरकारी संरचना र स्रोत साधनमा मस्ती मारेका आइएनजिओका माफियाहरू स्वास्थ्य मन्त्रालयको कोठा छाडेर भागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कब्जा गर्ने  आइएनजिओ नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी) मन्त्रालयबाट भागेको हो । एनएचएसएसपीको नाम दिएर थुप्रै आईएनजीओकर्मीको साँठगाँठ त्यही कार्यालयभित्र हुँदै आएको थियो । 

स्वास्थ्य लाइभले एनजीओ, आइएनजिओको कब्जाभित्र स्वास्थ्य मन्त्रालय रहेको कुरा पटकपटक उठाउँदै आएको थियो । सरकारी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर आफू अनुकुल काम कारबाही गराउँने उद्देश्यले बसेका एनएचएसएसपी, डब्लुएचओ, निक साइमन, जस्ता एनजीओ, आइएनजिओले बिस्तारै मन्त्रालयबाट हात झिक्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयको भौतिक पूर्वाधारदेखि नीति निर्माणसमेतमा पहुँच राख्न सक्ने हैसियत भएको (एनएचएसएसपी)ले मन्त्रालयबाहिर सर्न मन्त्रालयलाई टेरेको थिएन । तर, निरन्तर मिडियाको दबाबमा परेपछि स्वास्थ्य मन्त्रालय छाडेर भागेको छ । 

मन्त्रालयको फाइलदेखि ट्वाइलेटसम्म कब्जा गर्ने एनएचसएएसपीका मुख्य व्यक्ति कृष्णप्रसाद शर्मा (गौतम) र उनका मुख्य साझेदार डा. सुशील बराल र सुरेश तिवारी हुन् । हर्ट इन्टरनेसनलका प्रबन्ध निर्देशक (एमडी) डा. बराल र बेलायती आइएनजिओ अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर डा. तिवारीसँग मिलेर शर्माले एनएचएसएसपी हाँकेका छन् । 

तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य उपेन्द्र यादव र प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले मन्त्रालय छाड्न एनएचएसएसपीलाई निर्देशन दिएका थिए । तर, स्वास्थ्य तथा जनसंख्या सचिव भएर लक्ष्मण अर्याल आएपछि एनएचएसएसपीले उल्टै संरक्षण पायो । उनीहरु झन् बलिया आइएनजिओ माफिया भएर निस्केको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । अहिले पनि आईएनजीओ माफियाहरूले कब्जानै गरी बस्नेत नियत राखेका थिए । अन्ततः शक्तिको दुरुपयोग गरेपनि मिडियासँग आइएनजिओ माफियाहरुले घुँडा टेकेका छन् । 

माफियाहरू भागेसँगै मन्त्रालयले उक्त हललाई ४१५ नम्बर रुममा स्थापित गरेको छ । यता वर्षौदेखि बन्द गरेर राखिएको शौचालय पनि खुलाइएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई नै कोठा अपुग भएका बेला यसले ठूलो राहत मिलेको छ । निर्लज्ज भएर बसेका आइएनजिओ माफियाहरु लाखापाखा लागेपछि मुलुकको साख जोगिएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ