स्वास्थ्य बीमाबाट सेवा नपाएको अवस्थामा १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने नयाँ व्यवस्था कति वैज्ञानिक ?


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ११ सय ३३ प्रकारका औषधि बीमामा समावेश गरेको छ । तर, सरकारी फार्मेसीमा आधा पनि औषधि बिरामीले पाउँदैनन् । पाएका औषधि पनि आधिकांश दोहोरो अङ्क भन्दा कम मूल्यका छन् । नागरिकले स्वास्थ्य बीमा गराएका छन् तर, दसौं हजारको औषधि निजी फार्मेसीबाट किन्नु पर्छ भने केही सयको मात्रै बीमाबाट पाइन्छ । यस्तो सेवा प्रति आम नागरिक खुसी छैनन् । 

स्वास्थ्य बीमाबाट पाउने सेवालाई जनतामुखी नबनाई उल्टै बिरामीले सेवाको १० प्रतिशत आफैले तिर्नुपर्ने प्रावधान वैज्ञानिक नभएको अधिकारीहरू बताउँछन् । स्वास्थ्य बीमाबाट सेवा नपाएको अवस्थामा १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने नयाँ व्यवस्था कति वैज्ञानिक ? 

स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने को – पेमेन्ट प्रणालीको सुरु गर्ने जनाएको छ । उसले माघ १ गतेदेखि लागू हुनेगरि उक्त व्यवस्था गरेको हो ।  सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका अध्यक्ष डा गुणराज लोहनीले बताए । अधिकारीहरू भन्छन् १० प्रतिशत रकम बिरामी आफैले तिर्नु पर्ने अवस्थामा सबै तिरेर उपचार सेवा लिदा फाइदा हुने छ । 

बोर्डले बताए अनुसार अस्पतालबाट प्रदान गरिने बहिरङ्ग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजियोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह – भुक्तानीको व्यवस्था लागू हुनेछ । 

को–पेमेन्ट प्रणाली लागू गर्नु अघि हुनुपर्ने सुधार

 बीमाको सुरक्षा थैलीमा औषधि तथा सर्जिकल सामग्रीको संख्या बढाउनु पर्ने छ ।

समयसापेक्ष औषधि तथा सर्जिकल  प्याकेजको मूल्य परिमार्जन गर्नुपर्नेछ, जतै इन्फ्लुएन्जा भ्याक्सिन मूल्य रु १३०० बाट रु ३३०० पुगेको छ । 

बीमाको सुरक्षा थैलीमा एकल मलिकुल मात्र रहेकोमा अब विशेष गरी सुगर तथा प्रेसरका औषधिको हकमा संयुक्त मालीकुलको पनि मूल्य निर्धारण गरी सूचीमा थप्नु पर्नेछ ।

चिकित्सकलाई बीमामा आबद्ध बिरामीहरूलाई औषधि प्रेसक्राइब गर्दा जेनेरिक  नाम बाट गर्नु पर्ने। अस्पताल फार्मेसीमा सबै ब्रान्डको औषधि नहुने र डाक्टरले सिफारिस गरेको ब्रान्डको औषधि नहुँदा बिरामीलाई औषधि दिन नसकिने हुन्छ।

सरकारी अस्पताल फार्मेसीमा औषधि तथा सामाग्रीहरू टेन्डरबाट खरिद गर्दा धेरै सस्तो मूल्यमा उपलब्ध हुन्छन्। निर्देशिका बमोजिम बिरामीलाई औषधि बिक्री गर्दा खरिद मूल्य को २० प्रतिशत मात्र मुनाफा लिन पाउने भएकोले बीमामा उल्लेख गरेको मूल्य निकै महङ्गो पर्न जाने हुन्छ । साथै बिमाको मूल्यमा बिक्री गर्दा २० प्रतिशत भन्दा बढी हुन जान्छ ।  यस समस्यालाई समाधान गर्न अस्पताल फार्मेसीले खरिदको २० प्रतिशतमा मात्र मुनाफा राखी  बिक्री वितरण  गर्ने प्रावधान कडाइका साथ लागू गर्नु पर्नेछ ।

चिकित्सकले बिमाका बिरामीलाई खाद्यपूरक औषधि धेरै प्रेसक्राइब गर्ने र फार्मेसीले उक्त औषधि उपलब्ध गराउन नसक्ने वा फार्मेसीमा राख्न नपाउने र  बिमाको लिस्टमा नभएकोले  बिरामीले औषधि नपाएको  गुनासो  रहिरहेकोले सो निराकरण गर्न उक्त खाद्यपूरक औषधि बिमाका बिरामीलाई प्रेस्क्राइब गर्न निरुत्साहित गराउने । यस्ता समस्या सुधार नगर्दा सम्म को  पेमेन्टको  व्यवस्था  सफल नहुने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ