स्वास्थ्यमन्त्री नपाउँदै सरकार ढाल्न देउवा सक्रिय, समाजवादीका सांसद ओली-प्रचण्डको कब्जामा !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ मन्त्री नपाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न दिलोज्यान दिएर लागेका छन् । उनी रवि लामिछाने, माधवकुमार नेपाल र उस्तै परे राजेन्द्र लिङ्देनदेखि उपेन्द्र यादवसमलाई समेत प्रधानमन्त्री बनाउने कसरतमा रहेका छन् ।

प्रभु साह, अमरेशकुमार, योगेन्द्र मण्डललगायतका एकसिटे र स्वतन्त्र सांसदलाई समेत समेटेर प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागिपरेका हुन् । दुई छिमेकी मित्रराष्ट्र भारत र चीनबीच समेत सत्ता समिकरणमा हानथाप चलिरहेका बेला देउवाले सरकार ढाल्न सक्रियता ह्वात्तै बढाएका छन् । संसदीय राजनीतिका परिपक्व खेलाडी देउवा हिसाब-किताब लिएर वर्तमान सरकार ढाल्न तल्लिन छन् । यसका लागि उनले बुधबार बिहानदेखि नै कसरत थालेका हुन् ।

अमेरिकी प्रोजेक्ट एमसीसीका कार्यवाहक उपाध्यक्षा जोनाथन ब्रुक्स समेत म्यारियट होटलमा आएर बसेका छन् । उनी नेपाल भएकै बेला कांग्रेस-माओवादी सत्ता गठबन्धन उलटफेर भएको हो । अहिले माओवादीसँग प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी जोडिन आएका छन् । यो घटनाबाट बिच्किएका देउवा प्रचण्डसँग बदला लिन चाहन्छन् । यसैबीच उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा समेत देउवाले दरार पैदा गरिदिएका छन् ।

देउवालाई प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार ढाल्न भने सजिलो छैन । नेकपा एकीकृत समाजवादीका ७ जना सांसद प्रचण्ड-ओलीको नियमित सम्पर्कमा रहेको बुझिन्छ । एकीकृत समाजवादीका ५ सांसद ओली र २ सांसद प्रचण्डको नियमित सम्पर्कमा रहेको दाबी गरिएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि प्रचण्ड नेतृत्वको सरकार कै पक्षमा देखिन्छन् । उनले इलाम-२ बाट उपनिर्वाचनमा नयाँ गठबन्धनबाट टिकट खोजिरहेको चर्चा सुनिन्छ ।

यसले नेपाललाई प्रधानमन्त्री बनाएर प्रचण्ड सरकार ढाल्ने देउवाको डिजाइन तत्काल सफल हुने सम्भावना न्यून छ । तर, संक्रमणकालीन न्याय (टीआरसी) र विश्वासको मत लिने बेलासम्म प्रचण्ड नेतृत्वको सरकार ढाल्ने धेरैको अनुमान छ । अबको तीन महिनाभित्र नेपालको राजनीतिमा ठूलै उथलपुथल हुने संकेत देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ