आज मुलुकले नयाँ स्वास्थ्यमन्त्री पाउने सम्भावना
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अझै पूर्णता पाएको छैन । स्वास्थ्य तथा जनसंख्या र वन मन्त्रालय अझै खाली छ । स्वास्थ्य र वनमन्त्री आझै नियुक्ति गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बुझिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी जनता समाजवादी पार्टी,(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दिन प्रधानमन्त्री प्रचण्डको तयारी देखिन्छन् ।
फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेसँगै मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन खोजिएको हो । त्यसका लागि उनी गृह कार्यमा रहेको बताइन्छ ।
जसपाबाट स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव र राज्यमन्त्रीमा दिपक कार्कीलाई पठाउने चर्चा छ । तर, उपप्रधानमन्त्रीको बरियतामा कुरो नमिल्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भइरहेको हो । स्रोतका अनुसार उपेन्द्रले नेकपा एमालेबाट नेतृत्व गरेर सरकारमा सहभागी रघुवीर महासेठभन्दा अगाडि आफू हुनुपर्ने अडान राखेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘त्यस्तो हुँदैन’ भनेपछि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो । उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका रघुवीरभन्दा अगाडि रहेर स्वास्थ्यमा आउन खोजेका उपेन्द्रलाई ओलीले रोक्न खोजिरहेको चर्चा छ ।
उपेन्द्रको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड प्रयासरत रहेकाले मुलुकले आजै नयाँ स्वास्थ्यमन्त्री पाउने सम्भावना उच्च छ । रवि लामिछानेभन्दा पछाडिको बरियतमा रहेर पनि सरकारमा जान उपेन्द्र तयार रहेको बालुवाटार स्रोतको दाबी छ । यसले पनि स्वास्थ्यमा नयाँ मन्त्री आउने सम्भावना देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस