“एक स्वास्थ्य” अवधारणामा समन्वयकारी भूमिका निभाउन सरोकारवालाको जोड, नेपालमा रेबिज दोस्रो ठुलो चुनौती 


काठमाण्डौं । राजधानीको एक होटलमा आयोजना भएको भव्य कार्यक्रमका सहभागीहरूले “एक स्वास्थ्य” अवधारणालाई गम्भीरताका साथ लिएर अगाडि बढ्नु पर्ने औँल्याएका छन् । विश्वमा पछिल्लो समय नयाँ नयाँ रोगहरूले महामारीको रूप लिन थालेको प्रति सचेत हुँदै मानव, कृषि तथा पशुपक्षी र वन तथा वातावरणका क्षेत्रमा आपसी समन्वय जरुरी देखिएको अधिकारीहरूले बताएका छन् ।

मानव, जनावर र वातावरणलाई एकै प्रणालीबाट अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले युएसएआइडी, विश्व स्वास्थ्य संगठन र एफएओको सहयोगमा राजधानीमा तीन दिने कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनावरबाट मानिसमा धेरै रोगहरू सर्ने गरेको भन्दै हाम्रो तयारीका प्रयासहरू “एक स्वास्थ्य” अवधारणामा केन्द्रित हुनु पर्ने बताए । विश्वव्यापी स्वास्थ्य खतराको सामना गर्न एकीकृत कार्यहरूको आवश्यकतालाई स्वीकार गर्ने नियमहरूलाई पूर्णरुपमा पालना गर्न नेपाल आफ्नो प्रतिवद्धतामा अडिग रहेको पनि मन्त्री यादवले स्पष्ट पारे ।

स्रोत साधनको कमीका बावजुत पनि बहुक्षेत्रीय संलग्नता र अन्तराष्ट्रिय प्रतिवद्धता र नियमहरूको पालनाका लागि राष्ट्रले सङ्कटको सामना गर्न लचिलो पना देखाएको छ । कोभिड १९ बाट सिकेका पाठले भविष्यमा आइपर्ने जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सचेत गराएको छ ।

मन्त्री यादवले भने, नेपाल उदयमान स्वास्थ्य चुनौतीको सामना गर्न सक्षम र तयार भएर बसेको छ । पशु, मानिस र वातावरणलाई सन्तुलित गर्ने यी तीन माध्यमबाट फैलिने रोगहरूबाट कसरी मानव जातिलाई जोगाउने भन्ने कुरा तीन दिनको छलफलमा विज्ञहरुबाट आउने अपेक्षा मन्त्री यादवले गरेका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले मानिसमा लाग्ने गरेका धेरै जसो रोगहरू पशुबाट सरेको भन्दै यसलाई समयमा न्यूनिकरण गर्न नसकेको खण्डमा ठुलो समस्या आउने तर्फ संकेत गरिन् ।

मानव स्वास्थ्यको सुनिश्चितताको लागि पशुबाट उत्पादन हुने दूध, घ्यू र मासुजन्य पदार्थ गुणस्तरीय र स्वास्थ्य हुन आवश्यक छ, मन्त्री शाहले भनिन् ।

शाहका अनुसार सबै विषयगत निकायको सहभागिता र अपनत्व सुनिश्चितता हुनेगरि संयुक्त कार्ययोजना तयार गरि लागू गर्न सकेको अवस्थामा यस्तो रोगहरूको निदान, रोकथाम तथा नियन्त्रणलाई अधिकतम स्वास्थ्य लाभ प्राप्त भएको हुने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले विषय वस्तु सबैलाई जानकारी भएको तर, एक आपसमा समन्वय मात्रै नभएको बताए । “सबैलाई आ–आफ्नो समस्याका बारेमा जानकारी छ, सचिव पोखरेलले भने, “समस्या हुदा हुँदै तीन मन्त्रालयको समन्वय अभाव भएको हो ।” उनले तीन दिन सम्म सञ्चालन हुने कार्यक्रममा अब, कसरी अगाडि जाने भन्ने विषयले प्राथमिकता पाउनु पर्ने धारणा राखे ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव रेवतिरमण पौडेलले नेपालमा १० रोगलाई प्राथमिकतामा राखेर काम भएको बताए । एक स्वास्थ्य रणनीति अनुसार मानव स्वास्थ्यमा अगाडि छौं, सचिव पौडेलले भने, तर, कृषि, पशु र वातावरणमा पछाडि छौं ।”

अहिले प्रमुख प्राथमिकतामा रेबिज रोग राखिएको छ । सन् २०३० सम्ममा कुकुरबाट रेबिज लागेर मर्ने मानिसको संख्या शून्यमा पुर्याउने बताएको छ । तर, यही अवस्थामा त्यो लक्ष्य हासिल गर्न सहज देखिएको छैन उनले भने ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले रेबिजको भ्याक्सिन आवश्यकता अनुसार पर्याप्त नभएको बताइन् । उनले स्वदेशमै रेबिजको भ्याक्सिन उत्पादनमा जोड दिन पनि आग्रह गरेकी छन् । उत्पादित रेबिजको भ्याक्सिन आगामी वर्षबाटै परीक्षणका रुपमा सञ्चालन हुनुपर्ने धारणा राखिन् । यसका लागि अनुसन्धानको अधिकतम उपयोग गर्न जरुरी देखिएको छ ।

पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले पशु विनाको जीवनको कल्पना पनि अधुरो हुने बताए । हामीले जनावरलाई लाग्ने रोगहरूका धेरै खोप उत्पादन गरेका छौं, महानिर्देशक दाहालले भने, तर, अहिले सम्म कुखुराको खोपमा आत्मनिर्भर बन्न सकिएको छैन । खोपको क्षमतालाई बढाउँदै लगेको दाहाल बताउँछन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले मानिसमा देखिएका रोग मध्ये ६० प्रतिशत जनावरबाटै सरेको कुरा सुनाए । सहरीकरण बढ्दै जाँदा वनजंगल मासिदै गएका छन्, यसले जोखिम पनि बढाएको छ ।

डा मरासिनीका अनुसार विस्तारै अरबियन चराहरू बासस्थानको खोजीमा नेपाल प्रवेश गर्न थालेका छन् । उनीहरू नेपाल प्रवेश गर्दा ती देशहरूमा देखिएका कतिपय नयाँ रोगहरू पनि नेपाल भित्रिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ