महालेखापरीक्षक बन्न दौडिएका शिशिर वाइडबडी ‘दुर्घटनामा’ परे


काठमाडौं ।  महालेखापरीक्षक बन्ने दौडमा निकै अगाडि रहेका पूर्व अर्थसचिव शिशिरकुमार ढुंगनविरुद्ध वाइडबडी विमान भ्रष्टाचार मुद्दा दायर भएको छ ।

महालेखापरीक्षकमा सिफारिस भएका तोयम राया भन्दा ‘कन्फर्म’ जस्तै देखिएका ढुंगाना महालेखापरीक्षक बन्नुको सट्टा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढुंगानाविरुद्ध १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बिगो मागदाबीसहित बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेपाल वायुसेवा निगम सञ्चालक समितिको सदस्य हुँदा उनी वाइडबडी विमान खरिद घोटालामा जोडिएका हुन् ।

ढुंगाना महालेखापरीक्षकमा सिफारिस हुनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुईवटा ‘केस’ बाधक रहेको रहस्य खुल्न आएको छ । एउटा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य हुँदा उनीविरुद्ध उच्च अदालत पाटनले अपहेलनामा मुद्दामा ३ हजार जरिवाना हुने फैसला गरेको छ । उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले २०७५ मै कम्प्लिट कन्ट्राक्ट कम्पनी प्रा.लि.विरुद्ध नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहल, काठमाडौं भएको अपहेलना मुद्दामा तिन हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उक्त फैसलाबाट महालेखाको उडान भर्न नपाएका ढुंगाना अहिले वाइडबडी विमान घोटाला ‘दुर्घटना’मा परेको टिप्पणी हुन थालेको छ । उच्च अदालतले ३ हजार रुपैयाँ जरिवाना गरेका ढुंगानालाई अख्तियारले विशेष अदालतमा ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अदालतको अपहेलना मुद्दामा उच्च अदालतलाई चुनाैती दिएर क्षमा मागी निवेदन नदिएका ढुंगानाले विशेष अदालतमा के गर्छन् हेर्न बाँकी छ ।  रोचन प्रसंग त ढुंगानासँगै अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएका तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष एवं पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल भने वाइडबडी ‘दुर्घटना’मा जोगिएका छन् । २ वटा वाइडबडी विमान खरिदको सुरुवातकर्ता तत्कालीन पर्यटनमन्त्री पोखरेललाई जोगाएर त्यसपछिका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई अख्तियारले मुख्य प्रतिवादी बनाएको छ ।

अदालतको अपहेलनामा तत्कालीन पर्यटनमन्त्री पोखरेलसहित सदस्यहरु सुरेश आचार्य (पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव), शिशिरकुमार ढुंगाना (भन्सार विभागका तत्कालीन महानिर्देशक), ईश्वरी पौडेल (तत्कालीन सहसचिव), सुखचन्द्र झा, सुगतरत्न कंसाकार ( नेवानिका तत्कालीन महाप्रबन्धक), ङिमा नोर्बु लाम र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक एवं संचालक समितिका सदस्यसचिव संजिव गौतम दोषी ठहर भएकाे देखिन्छ । उनीहरुलाई जनही ३ हजार रुपैयाँ जरिवाना हुने उच्च अदालत पाटनको फैसला छ । निर्वाचन आयुक्तबाट बिदाई भएका ईश्वरी अहिले प्रिन्टर खरिद घोटालामा अख्तियारको निगरानीमा रहेको पाइन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका हुँदा अदालतको अपहेलनामा दोषी ठहर भएका अध्यक्ष पोखरेल वाइडबडी घोटालामा जोगिए पनि ढुंगाना र कंसाकार फेला परेका छन् । तत्कालीन सहसचिव आचार्य प्राधिकरणमा जोडिएका छन् भने बुद्धिसागर लामिछाने वाइडबडीमा मुछिएका हुन् ।

यता नेपाल आयल निगमको हुन नसकेका कार्यकारी निर्देशक जीवनप्रकाश सिटौला पनि ढुंगानासँगै वाइडबडी ‘दुर्घटना’मा परेका छन् । ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव हुँदा लगानी बोर्डबाट आफ्ना लागि गाडी किन्न लगाएको चर्चा अझै सेलाउन पाएको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #ईश्वरी पौडेल, #महालेखापरीक्षक, #लगानी बोर्ड, #वाइडबडी विमान खरिद घोटाला, #शिशिरकुमार ढुंगाना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ