स्वास्थ्यमा नयाँ सचिवको आगमनसँगै डा रोशनलाई स्वास्थ्यमा काम गर्न सहज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको द्धन्द्ध सकिएको छ । प्रशासन तर्फका सचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएसँगै प्राविधिक सचिव डा रोशन पोखरेललाई काम गर्न सहज भएको छ ।
उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा आएका बुर्लाकोटी एउटा लयमा अगाडि बढेका थिए । तर, उपेन्द्र यादवको पार्टी फुटेर उनी सरकारबाट बाहिरिएसँगै प्रदीप यादव स्वास्थ्य मन्त्री भएका थिए । नयाँ स्वास्थ्यमन्त्री यादव र सचिव बुर्लाकोटीको पहिलो दिनमै मनमुटाव सुरु भएको थियो ।
भेरी अस्पतालको मेसु परिवर्तन गरेका बुर्लाकोटीलाई मन्त्री यादवले पदबहाली गरेकै दिन अंकुश लगाएपछि सचिव बुर्लाकोटी मन्त्रालय छाड्ने मुडमा थिए । विवाद मन्त्रीसँग मात्रै सीमित भएन । मन्त्रीसँग कुन सचिव नजिक हुने भन्ने सोचले डा रोशन र बुर्लाकोटीको दिनहुँ भनाभन हुन थालेको थियो । उक्त भनाभन मन्त्रालयमा मात्रै सीमित भएन बुर्लाकोटीले सामाजिक सञ्जालमा समेत पोस्ट्याउने गरेका थिए ।
पछिल्लो शुक्रबार सचिव बुर्लाकोटी हुँदा हुँदै डा रोशनले केही महाशाखा, शाखा र अस्पतालका १० जना उच्च अधिकारीको सरुवा गरेपछि सचिवहरूको विवाद थप छताछुल्ल भएको थियो । शनिवार बुर्लाकोटीले प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, मुख्य सचिवलाई भेटेर जसरी पनि सरुवा गर्न दवाव दिएका थिए ।
मन्त्री, दुई सचिव बिचको विवादले कर्मचारीमा नराम्रो असर परेको थियो । स्वास्थ्यमा उत्पन्न विवाद शिथिल हुने नदेखेपछि बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीको सरुवा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।
बुर्लाकोटीलाई सरुवा गरेपछि उनको स्थानमा महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि प्रसाद मैनालीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । मैनालीको स्वास्थ्यमा आगमन हुनु नै स्वास्थ्य सचिव डा पोखरेल शक्तिशाली हुनु हो । मैनाली र तत्कालीन स्वास्थ्य सचिव देवकुमारी गुरागाँई उस्तै हुन् । लामो समय सचिव भएर स्वास्थ्यमा काम गरेकी गुरागाइँको पनि घुम्नेबाहेक स्वास्थ्यमा कुनै उपलब्धि भएन ।
टिप्पणीको दाईना, बाइमात्रा हेरेर दिन कटाएर घर जाने गुरागाइँलाई मात खुवाउने सचिव मैनालीको स्वास्थ्यमा आगमन भएको छ । सरकारले स्वास्थ्यमा डा रोशनलाई सक्रिय रुपमा काम गर्ने वातावरण मिलाउन कमजोर र विगत राम्रो नभएको कर्मचारी पठाएको छ । मैनालीको विगत राम्रो छैन । स्वास्थ्यमा आएका उनले गुरागाँईले जस्तो जुम्रा मारेर बस्छन् वा काम गर्छन् त्यो केही दिनमा थाहा हुने नै छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस