रञ्जिता पर्यटनमन्त्री बन्दा स्वास्थ्यमन्त्री यादव हट्न सक्छन्


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जितालाई प्रधानमन्त्री दाहालले चाँडै पर्यटनमन्त्रीको जिम्मेवारी सुम्पन लागेका हुन् । प्रधानमन्त्रीले आफूलाई पर्यटनमन्त्री बनाउन लागेको रञ्जिताले पनि सार्वजनिक रुपमै बताएकी छिन् ।

स्वास्थ्य लाइभले डेढ हप्ता अगाडि नै रञ्जितालाई पर्यटनमन्त्री बनाउन लागेको खुलासा गरेको थियो । बजे आउनु अगाडि नै स्वास्थ्यमन्त्री फेर्ने र रञ्जितालाई पर्यटनमन्त्री बनाउने प्रधानमन्त्री दाहालको तयारी थियो । तर, समय अभावले उक्त कार्य सफल हुन सकेन । संघीय संसद्‌मा बजेट पेस भएलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल हेरफेरको तयारी थालेका हुन् । हुन त बजेट पास गराउने विषयलाई लिएर सत्ता गठबन्धन नै तलमाथि नहोला भन्न पनि सकिन्न । पछिल्लो समय प्रधानमन्त्री दाहाल कांग्रेसतिर ढल्किएको आशंका गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सदनमा प्रस्तुत गरेको बजेटलाई खुलेरै विरोध गरेका छन् । द्वन्द्वकालीन घटना निरुपण गर्न गठित दुई आयोगलाई लिएर पनि माओवादी-एमालेबीच ‘ब्रेकअप’ हुने सम्भावना जीवितै छ ।

सत्ता गठबन्धन मिलेर सहजै अगाडि बढे मन्त्रिमण्डल व्यापक हेरफेर हुने देखिन्छ । माओवादी केन्द्रका हितबहादुर तामाङ अहिले पर्यटनमन्त्री छन् । उनलाई ‘शहीद’ बनाएर रञ्जितालाई पर्यटनमन्त्री बनाउँदा माओवादीभित्र मतभेद बढ्ने खतरा उत्तिकै छ । हुन त हितबहादुर पर्यटनमन्त्री भएपनि उनी ‘छायाँ मन्त्री’ मात्रै भएको पर्यटन मन्त्रालयभित्रै टिप्पणी हुन थालेको छ । पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डे मुख्यसचिव डा. बैकुण्ठ अर्यालका विश्वासपात्र हुन् । बैकुण्ठको निर्देशनमा पाण्डेले काम गर्ने भएकाले पर्यटनमन्त्री तामाङ आजित देखिन्छन् ।

पर्यटन मन्त्रालयका उच्च अधिकारी नै काम गर्ने मुडमा छैनन् । मन्त्रालय नै बाहिरबाट चलाउन थालेपछि किन थपना मात्र बस्ने भनेर उनीहरू निराश पोख्न विवश छन् । माओवादीबाट मन्त्री बनेका नारायणकाजी श्रेष्ठ, रेखा शर्मा र शक्तिबहादुर बस्नेत पनि हट्ने चर्चा छ । ऊर्जामन्त्री हुन आम जनता पार्टीका प्रभु साह दौडधुपमा लागेका छन् । स्वास्थ्य मन्त्रालयमा एमालेले दाबी गरिरहेको छ । सिके राउतको ध्यान पनि त्यतै देखिन्छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रञ्जु ठाकुरलाई मन्त्री बनाउन दबाब छ । उक्त पार्टीबाट तीनजना मन्त्री बन्ने अवस्था आए प्रदीप यादव स्वास्थ्य छाडेर खानेपानी वा वन मन्त्रालयतिर पुग्न सक्छन् । रञ्जु विनाविभागीय मन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ । यहीँ साता मन्त्रिमण्डल हेरफेरको सम्भावना बढेको गएको छ । स्वास्थ्यमन्त्री यादव स्वास्थ्यबाट हट्ने सम्भावना प्रवल रहेको प्रधानमन्त्री दाहाल निकट उच्च स्रोतले दाबी गऱ्यो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ