महानगरमा ‘ह्याट्रिक’ हानेर रेनुको सहयोगी बनेका स्थानीय तहका बादशाह वीरेन्द्रदेव भारती ढले


समाचार टिप्पणी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका बादशाहका रूपमा परिचित सहसचिव वीरेन्द्रदेव भारतीलाई ढालिदिएको छ । गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनाको अभियोगमा उनीमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता भएसँगै स्थानीय तहका बादशाह भारती नराम्रोसँग ढलेका हुन् ।

सहसचिवमा नाम निकालेपछि गोदावरी नगरपालिका छाडेका भारती शक्तिशाली कर्मचारीमा गनिन्छन् । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ‘ह्याट्रिक’ हान्दै भरतपुरमा प्रधानमन्त्री पुत्री रेनु दाहालको सहयोगी बन्न पुगेका स्थानीय तहका बादशाह भारती अख्तियारले डामेसँगै ढलेका छन् । उनी पोखरा महानगरपालिकाबाट ललितपुर महानगरपालिका हुँदै रेनुको सहयोगी बन्न भरतपुर महानगरपालिका पुगेका हुन् । रेनुको विश्वास जितेर भरतपुरबाट काठमाडौं महानगरपालिका वा अन्य मालदार ठाउँमा फड्को हान्ने दाउमा रहेका भारतीलाई अख्तियारले भ्रष्टाचारमा छिर्के हानेसँगै बल्ड्याङ खाएका छन् ।

अख्तियारले गोदावरी नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत भारतीसहित विश्वराज मरासिनी, कृष्णप्रसाद जैसी र प्रविन कोइरालालाई भ्रष्टाचारमा डामेको छ । उनीहरूविरुद्ध झन्डै १ अर्ब ५ करोड बिगो दाबी गरेर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रमाण नष्ट गरेको भनेर अख्तियारले थप सजाय समेत मागेको छ ।

गजेन्द्रबहादुर महर्जन ललितपुरस्थित गोदावरी नगरपालिकाको मेयर जितेर आएपछि भ्रष्टाचारमा डामिएका मरासिनी प्रमुख प्रशासकीय अधिकृत बनेर गएका थिए । मरासिनीले त्यहाँबाट फड्को हानेपछि जैसी पुगेका थिए । गोदावारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा अख्तियारले डेढ लाख घुससहित रंगेहात समातेपछि निलम्बित जैसीको ठाउँमा भारती पुगे । उनी सहसचिव भएपछि मात्र गोदावरी छाडेर हिँडेका हुन् ।

बुटवल उपनगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा बालकृष्ण खाँण र विष्णुप्रसाद पौडेलसँग सन्तुलन मिलाउन सफल भारती अख्तियारबाट जोगिन भने असफल भएका छन् । बुटवल सन्तुलनले यता काम गरेन ।  छक्कापञ्जा हान्न सक्ने क्षमता भएका भारतीको अख्तियारको अगाडि दाल गल्न सकेन ।

कमल थापा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री हुँदा दैलेखी भारती उनको सचिवालयमा बसेका थिए । दैलेख कै कुन्ती शाही स्थानीय विकास राजमन्त्री भएको फाइदा उनले राम्रैसँग उठाए । कमल र कुन्तीको विश्वास जितेर त्यहीँ बेला काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको कार्यकारी पड्काउन सफल भए । काठमाडौं कै गोकर्णेश्वर नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा पनि कार्यकारी भएर भारतीले शानसँग जागिर खाए । उनका साथीहरुलाई पनि इर्ष्या हुने गरी ।

डोल्पाको कृषि विकास बैंकमा कार्यरत भारतीले २०५६ सालमा प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकालेका हुन् । २०६६ सालमा उपसचिव भएपछि भारतीले डोल्पालगायतका जिल्लामा स्थानीय विकास अधिकारीको भूमिकामा समेत काम गरे । त्यो बेला उनी नेपालगञ्ज नगरपालिका (हाल उपमहानगरपालिका)को कार्यकारी बनेर समेत गएका थिए । भारतीको परिवार दैलेखबाट नेपालगञ्ज बसाइसराई गरेर गएको हो ।

१५ वर्षदेखि स्थानीयमा एकछत्र राज गरेका भारतीले एकपटक वैदेशिक रोजगार कार्यालय, ताहाचलको प्रमुख समेत भएर ‘रिफ्रेसमेन्ट’ गरेका थिए । त्यसपछि उनी पुनः स्थानीय तहमै फर्किए ।

पछिल्लो समय स्थानीय तहको बादशाहका रूपमा परिचित भारतीलाई अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै नराम्रो धक्का लागेको छ । २०७८ असोजमा सहसचिव बनेका भारती बुटवल, पोखरा, ललितपुर हुँदै भरतपुर पुगेका थिए । भरतपुरकी मेयर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनुलाई खुसी पारेर आफ्नो काम तमाम पार्ने दाउमा रहेका सहसचिव भारती उपसचिवको हैसियतमा गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदाको काण्डमा परेर खुत्रुक्कै भएका छन् । उनी अहिले निलम्बनमा परेर साइजमा आएका हुन् ।

भारती कै हाराहारीका गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र कृष्णराज जैसी पनि एउटै काण्डमा जाकिएका छन् । स्थानीय तहमै काम गर्दा मरासिनीले ४ वटा भ्रष्टाचारको मुद्दा खेपेका छन् । सिम्रौनगढ नगरपालिकाको काण्डमा अख्तियारले हालेको भ्रष्टाचार मुद्दामा एउटामा सफाइ पाएका उनी अर्कोमा भ्रष्टाचारी ठहर भएका छन् । अख्तियारले रंगेहात पक्राउ गरेका जैसी पनि उनीभन्दा कमिका देखिँदैनन् ।

उपसचिव भएपछि मोरङको उर्लाबारी र ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदै गोदावारी पुगेका भोजपुरे प्रविन कोइराला पनि अख्तियारको फेला परेका छन् । गोदावरीमा सरुवा थमौती गरेर बसेका उनलाई त्यहीँ कदम गलपासो बन्न पुगेको छ । गोदावरीका पूर्वप्रमुख प्रशासकीय अधिकृतहरुकै शैली अपनाउँदा प्रविन पनि फसेका छन् । अरुले खनेको खाल्डोमा उनी नराम्रोसँग परेको पाइन्छ । कलिलै उमेरमा प्रविन करोडौंको भ्रष्टाचार मुद्दा खेप्न बाध्य भएका छन् । उनको ‘करिअर’मा पनि नमिठो दाग लागेको छ । उर्लाबारीका मेयर खड्ग फागोले ‘ठोक्छु’ भन्दा भागेका प्रविन गोदावरीका मेयर गजेन्द्रले ‘बोक्छु’ भन्दा नतमस्तक हुँदा डुबेको चर्चा सुरू भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव कृष्णप्रसाद जैसी, #उपसचिव प्रविन कोइराला, #उपसचिव विश्वराज मरासिनी, #गोदावरी नगरपालिका, #भरतपुर महानगरपालिका, #मेयर गजेन्द्रबहादुर महर्जन, #वीरेन्द्रदेव भारती सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ