स्वास्थ्यका महाशाखा, केन्द्र र अस्पताल प्रमुख मोलमोलाइमा नियुक्त, स्वास्थ्यमन्त्रीको पुरै टिम स्वास्थ्य लाइभको निगरानीमा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र उनको सचिवालय स्वास्थ्य लाइभको निगरानीमा परेको छ । विगतमा राम्रो छवि नभएका कर्मचारीलाई धमाधम जिम्मेवारीमा ल्याउन थालेपछि मन्त्री र उनको टिम स्वास्थ्य लाइभको निगरानीमा परेको हो । बुधबार गरेको सरुवा पनि कनिष्ठ र भ्रष्टाचारमा मुछिएकाहरू धेरै छन् । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेललाई बनाएका छन् ।
बुधबार सरुवा गरेकाहरू डा. यदुचन्द्र घिमिरे बाहेक सबैको सेटिङमै सरुवा भएको छ । स्वास्थ्यमन्त्री र उनको सचिवालयको नाम बेचेर बिचौलियाहरू सल्बलाएका छन् । केही दिनका लागि मात्रै स्वास्थ्यमा रहने मन्त्री यादवको टोली जसरी पनि पैसा उठाउने मनसायमा परिचालित भएको बुझिएको छ । सचिवदेखि कर्मचारीका तल्लो तहसम्म धम्क्याउने खेल सुरु भएको छ ।
बुधबार गरेको सरुवापछि पनि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र खाली राखिएको छ । यस केन्द्रमा नियुक्तिका लागि पैसाको कुरो मिलेको छैन । त्यस्तै क्षयरोग केन्द्र भक्तपुरमा पनि निर्देशक परिवर्तन गर्ने तयारी भएको छ । आज मात्रै सचिवालयले केही फाजिलमा रहेका र निर्देशकको जीवनी मागेर लगेका छन् ।
विश्वस्त स्रोतहरूले दिएको जानकारी अनुसार क्षयरोग केन्द्रको निर्देशक बन्न २० लाख नभएपनि १५ लाख तिर्नुपर्ने छ । त्यस्तै एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक बन्न न्यूनतम पनि ५ लाख तिर्नुपर्ने छ । यी विषय नितान्त दुई पक्षबीचमा हुने मौखिक कुराहरू हुन् । नियुक्तिमा लिने र दिने विषयमा कुनै कागजी निर्णय हुँदैन । केही उच्च अधिकारीहरूले शाखा महाशाखाको दररेट निकै महँगो भएकाले अस्वीकार गरेका कुराहरू पनि स्वास्थ्य लाइभमा आएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस