गृहमा पुगेका बसन्त अधिकारीको नेतृत्वमा काठमाडौं महानगरको टोली फोहोर हेर्न भारत जाँदा अनियमितता


काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको नेतृत्वमा १२ जना जनप्रतिनिधि र ६ जना कर्मचारी सम्मिलित टोली भारत भ्रमणमा जाँदा अनियमितता भएको महालेखा परीक्षकको कार्यालय ठहर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति नै नलिई सरकारी कोषबाट हवाई टिकट र दैनिक भ्रमण भत्ता लिई उक्त टोलीले अनियमितता गरेको महालेखाले औंल्याएको हो ।

फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्यायनका लागि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्तसहित १२ जना जनप्रतिनिधि र ६ जना कर्मचारीहरु भारतको इन्दौर, बम्बै र पूणे भ्रमणमा गएका थिए । उक्त भ्रमणमा हवाई टिकट बापत ९ लाख ९५ हजार रुपैयाँ र दैनिक भ्रमण खर्च भनेर ८ लाख २२ हजार २ सय ३४ रुपैयाँ भुक्तानी लिएको खुलेको छ । उक्त विषयमा महालेखाले अनियमितता देखाएको हो ।

स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ को बुँदा नम्बर ४(१)(ख) अनुसार स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणका लागि मनोनयन गर्ने अधिकार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको हुने उल्लेख छ । स्थानीय तहको सिफारिसमा मनोनयन भएका त्यस्ता पदधिकारीले मात्र सम्बन्धित स्थानीय तहबाट भ्रमण खर्च पाउने र यस बमोजिमबाहेक विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण वापतको खर्च कुनै पनि सरकारी कोषबाट नव्यहोरिने उल्लेख छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै काठमा काठमाडौं महानगरपालिका पुगेका बसन्त अधिकारीले उक्त निर्देशिकाको ठाडो उल्लंघन गर्दै आफूले पनि कानुनविपरीत भ्रमण खर्च लिएको र अरु जनप्रतिनिधि र कर्मचारीलाई पनि दिलाएको पाइएको हो ।

काठमाडौं महानगरपालिका कै ४ पदाधिकारीले भारतको मुम्बई र पुणे भ्रमणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहमति प्राप्त नभई वैदेशिक भ्रमणको हवाई टिकट बापत कानुनविपरीत २ लाख ६६ हजार ८ सय रुपैयाँ खर्च लिएको समेत महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

यस्तैयस्तै बदमासी गरेर काठमाडौं महानगरपालिका मेयर बालेन शाहले लेखेटेका बसन्त अधिकारीलाई गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा व्यवस्थापन गरेका छन् । सुशासनको खिल्ली उडाउँदै रविले बसन्तलाई विपद्‌मा लगेर आफ्नो असली अनुहार देखाएका हुन् । गृहमन्त्री लामिछानेले काठमाडौं महानगरपालिकामा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारका कर्मचारी भर्ना गर्दा अनियमितता गरेका बसन्तले फोहोर हेर्ने नाममा भारत जाँदा समेत त्यस्तै कार्य गरेको पाइएको हो ।

फोहोर हेर्न भारत भ्रमणमा जाँदा कानुनविपरीत राज्यकोषबाट खर्च लिनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्तसहित काठमाडौं महानगरपालिका नवीन मानन्धर, १० नम्बरका वडाध्यक्ष रामकुमार केसी र  ८ नम्बरका वडाध्यक्ष आशामान संगत रहेका छन् । ९ नम्बरका वडाध्यक्ष रामजी भण्डारी, १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जन, १६ का दिगंवत वडाध्यक्ष मुकुन्द रिजाल, २६ का वडाध्यक्ष ख्यामराज तिवारीलगायत पनि कानुनविपरीत हवाई टिकट खर्च र दैनिक भ्रमण लिने सूचीमा रहेको देखिन्छ ।

कानुनविपरीत काम हुन नदिन प्रमुख प्रशासकीय अधिकृतले भूमिका खेल्नु पर्ने हो । जनप्रतिनिधिलाई सबै प्रक्रिया थाहा नहुन पनि सक्छ । तर, बसन्तको बदमासी र बद्ख्याइले जनप्रतिनिधिहरु पनि उक्त कानुनविपरीत लिएको खर्च फिर्ता गर्नुपर्ने अवस्था आएको छ । सुशासनमा कठोर देखिँदै आएका मेयर बालेनले जनप्रतिनिधि र कर्मचारीले राज्यकोषबाट लिएको कानुनविपरीतको खर्च असुल गर्न कदम चाल्छन् कि चाल्दैनन् हेर्न बाँकी छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #इन्दौर भारत, #फोहोर व्यवस्थापन, #बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ