महानगरमा पुरानाले गरेको फोहोर सोर्दै बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई पुरानाले गरेको फोहोर सोर्न व्यस्त भएका छन् । फोहोरमैला व्यवस्थापनदेखि स्मार्ट पार्किङ, भोटाहिटी सव-वे, काठमाडौं भ्यू टावर (पुरानो बसपार्क), सिटी मार्केट, कबाडी कर संकल हुँदै गोंगबु बसपार्कसम्मको बेथिति चिर्न बालेन तम्सिएका छन् ।

काठमाडौंको दरबारमार्ग, न्युरोडलगायतका मुख्य सडकहरूमा स्मार्ट पार्किङका नाममा दिएको ठेक्का बालेनले तोडेका छन् । काठमाडौं महानगरपालिकालाई देखाइएको आम्दानीको २०/३० प्रतिशत मात्र आउने र अरु सबै ठेकेदार र नेताहरुले कमिसन बापत बुझ्दै आएका थिए । २०७५ साल माघ ८ गते तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा भएको उक्त ठेक्का सम्झौतामा उल्लेख गरिएको रकमको पनि अघिल्लो ३ वर्ष २० प्रतिशत र पछिल्लो २ वर्ष ३० प्रतिशत मात्र महानगरलाई बुझाउने सर्त राखिएको थियो । स्मार्ट पार्किङ ठेक्का अनियमिततालाई निरन्तरता नदिएपछि अहिले बालेनविरुद्ध नियमित कमिसन बुझ्नेहरु हात धोएर लागेका छन् । न्युरोडको केसमा बालेनविरुद्ध संघदेखि स्थानीय तहका जनप्रतिनिधि र संयन्त्र खनिनु त्यसैको उपज भएको बताइन्छ ।

२०५९ सालमा २५ वर्षका लागि वार्षिक १ लाख ४४ हजार रुपैयाँमा भाडामा लगाइएको भोटाहिटी सव-वेको ठेक्का अनियमिततामा पनि बालेनले छानबिन समिति गठन गरेका छन् । वार्षिक महानगरले १ लाख ४४ हजार रुपैयाँमा पाउने भनेपनि उक्त रकम महानगरको राजस्व खातामा जम्मा भएको देखिँदैन । भोटाहिटी सव-वेको भाडा खोज्नका लागि बालेन नै अग्रसर भएर लागेका हुन् । भोटाहिटी सव-वेको रकममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साँच्चिकै छानबिन प्रक्रिया अगाडि बढाउने हो भने अहिलेसम्मका राजस्वका कर्मचारी भ्रष्टाचारमा जाकिने निश्चित छ ।

२०७१ सालमा ठेक्का लगाइएको काठमाडौं भ्यू टावर (पुरानो बसपार्क)को हालत पनि उस्तै छ । जलेश्वर स्वच्छन्द बिकोई जेभीले ३० वर्षका लागि काठमाडौं महानगरपालिकासँग लिजमा लिएर निर्माण सुरु गरेको काठमाडौं भ्यू टावरको अनियमितताको फोहोर पनि बालेनले सोर्नु परेको हो । उक्त कम्पनीले ४ करोड ५४ लाख ५३ हजार ५ सय २८ रुपैयाँ राजस्व पनि महानगरलाई बुझाएको छैन । उक्त राजस्व बक्यौता उठाउन बालेनले चासो देखाएका छन् ।

काठमाडौं महानगरपालिकाले गणेश इलेक्ट्रोनिक्सलाई ठेक्कामा दिएको पुरानो बसपार्कस्थित सिटी मार्केट पनि हालत खराब छ । सिटी मार्केटबाट महानगरलाई २ करोड ५१ लाख रुपैयाँ राजस्व नोक्सानी भएको छ ।

काठमाडौं महानगरपालिकाले २०७८ फागुन २६ गते लगाएको कबाडी कर संकलन ठेक्का उस्तै फोहोरी देखिएको छ । विद्यासुन्दरका पालामा ३ वर्षका लागि मारुती ढुवानी सेवालाई कवाडी कर संलकनको ठेक्का लगाइएको पाइन्छ । उक्त कवाडीको फोहोर व्यवस्थापन गर्न पनि बालेन तम्सिएका छन् । बालेनले शहरको मुख्य भागमा प्रदूषण गरेर बसेका कवाडीलाई हटाएका छन् । तर कवाडीबाट कमिसन बुझ्नेहरु बालेनको कदमको विरोधमा उत्रिएका हुन् ।

काठमाडौं महानगरपालिकाले लोहोत्से बहुउद्देश्यीय प्रालिलाई गोगंबु नयाँ बसपार्क अनियमित तरिकाले ४५ वर्षका लागि लिजमा दिइएको छ । उक्त विषयमा पनि बालेन खरो उत्रिएका छन् । तर, कमिसनखोरहरुले गोगंबु नयाँ बसपार्कको ठेक्कामा पनि बालेनलाई अवरोध खडा गर्न सक्छन् ।

अनुमति बेगर काठमाडौं महानगरपालिकाभित्र फोहोर संकलन गरिरहेका ३७ वटा कम्पनी बालेनको निगरानीमा छन् । महानगरपालिकालाई १ रुपैयाँ पनि कर नतिरी ती कम्पनीहरुले उपभोक्ताबाट प्रति घरधुरी मासिक ४ सय रुपैयाँ उठाउँदै आएका छन् । वडास्तरका जनप्रतिनिधि र कर्मचारीसँग मिलेर फोहोरमा लुट मच्चाइरहेकाहरूविरुद्ध बालेन कडा रूपमा प्रस्तुत भएका छन् ।

काठमाडौं महानगरपालिकाले फोहोरको राजस्व मात्र १० औं अर्व गुमाएको छ । उक्त राजस्व महानगरको कोषमा जम्मा हुने गरी बालेनले कदम चाल्न खोजेका छन् । तर, फोहरको कमिसन बुझ्नहरू बालेनको कदमविरुद्ध सल्बलाएका छन् ।

महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरपालिकाभित्र देखाएका बेथितिहरूलाई व्यवस्थापन गर्न बालेन सक्रिय भएका हुन् । बालेनले पुरानाले गरेको फोहोर सोर्न डोजर नै लगाउनु पर्ने अवस्था आएको छ । हर बेथितिविरुद्ध जेहाद छेडेका बालेन कति सफल हुन्छन् हेर्न बाँकी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ