राष्ट्रपति कार्यालय अगाडिको सरकारी जग्गामा कान्ति सांस्कृतिक केन्द्रको रजाइँ, बालेनले के गर्लान् ?


काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि कै करिब ४ रोपनी सरकारी जग्गामा कान्ति सांस्कृतिक केन्द्रले रजाइँ गरिहेको छ । केन्द्रले लामो समयदेखि सरकारी जग्गा कब्जा गरेर पार्किङ तथा अन्य उपभोगमा प्रयोग गरी आय आर्जन गरिरहेको पाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ वडा कार्यालयसँगै रहेको करिब ४ रोपनी जग्गा कब्जा हुँदा र भाडा लगाएर खाँदा पनि वडा कार्यालय टुलुटुलु हेरेर बसिरहेको छ । कित्ता नम्बर ३ को ४ रोपनी सरकारी जग्गामा कान्ति सांस्कृतिक केन्द्रले भाडा असुल्दा वडा कार्यालय रमिते बनेर बसेको पाइन्छ । उक्त जग्गाको मूल्य अर्ब हाराहारी पर्छ ।

उक्त केन्द्रले उपयोग गरेको जग्गासम्बन्धी निर्णय र सोको शर्त तथा उक्त जग्गाको उद्देश्य अनुरुपको कार्यमा प्रयोग भए/नभएको सम्बन्धमा यकिन गरी सरकारी/सार्वजनिक उपयोगमा ल्याउन छानबिन एवं कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापा कान्ति सांस्कृतिक केन्द्रका पूर्वअध्यक्ष हुन् । उनकै नेतृत्वमा त्यो ठाउँ प्रयोजनविपरीत भाडामा लगाउने काम भएको आरोप लाग्दै आएको छ । महालेखापरीक्षकको कार्यालयले माग्दा समेत विवरण नदिएको पाइएको हो । कान्ति सांस्कृतिक केन्द्रमा नाममा भाडामा लगाएर खाइरहेको उक्त जग्गा संरक्षणमा काठमाडौं महानगरपालिकाले तत्काल कदम चाल्नु पर्ने देखिन्छ ।

प्रेम थापा- वडाध्यक्ष एवं कान्ति सांस्कृतिक केन्द्रका पूर्वअध्यक्ष

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सरकारी सार्वजनिक जग्गा हडप्ने र भाडा खानेविरुद्ध कठोर कदम चाल्दै आएका छन् । कान्ति सांस्कृतिक केन्द्रले भाडा खाइरहेको उक्त जग्गाको विषयमा पनि तत्काल छानबिन गरेर बालेनको ‘डोजर’ लगाउनु पर्ने अवस्था आएको छ । संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालयले नै उक्त विषयमा बलानलाई ‘डोजर’ लगाउने बाटो खुला गरिदिएको देखिन्छ । अब बालेनले के गर्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #कान्ति सांस्कृतिक केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ