यस्तो छ बालेनको स्वास्थ्य नीति
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्वास्थ्य क्षेत्रसँग जोडिएका महत्त्वपूर्ण नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बालेनको स्वास्थ्य नीतिमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा बिन्दुको रूपमा सञ्चालन गरिने उल्लेख छ । महानगरपालिकाबाट उपलब्ध गराइने स्वास्थ्य उपचार सेवामा अन कल डाक्टर सेवा, विशेषज्ञ चिकित्सकीय सेवा, मनोसामाजिक परामर्श सेवा, नसर्ने रोगहरुको स्क्रिनिङ, उपचार तथा रेफर सेवा थप गर्ने र नागरिकहरुलाई निदानात्मक सेवा उपलब्ध गराउन सेन्ट्रल ल्याब स्थापना गर्ने बालेनको नीति रहेको छ ।
काठमाडौं महानगरपालिकासँग विशेषज्ञ स्वास्थ्य सेवाका लागि सहकार्य गर्न इच्छुक सामुदायिक तथा सरकारी अस्पताललाई प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराइने नीति रहेको छ ।
काठमाडौं महानगरपालिकाले महानगरवासीको न्यूनतम जीवनस्तरसम्बन्धी सूचकहरुसहितको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याउने र सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान र लागुऔषध प्रयोगलाई पूर्ण बन्देज लगाउनुका साथै जङ्ग फुडलाई निरुत्साहित गर्ने नीति र लिएको छ । महानगर क्षेत्रमा भित्रिने खाद्यपदार्थहरुको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उल्लेख गरिएको छ ।
महानगरपालिका क्षेत्राधिकार भित्र रहेका अस्पताल, पोलिक्लिनिक, फार्मेसीलगायतका स्वास्थ्य संस्थाहरूको दर्ता प्रणालीलाई सूचना प्रणालीमा आवद्ध गरी अनुगमन नियमन कार्यलाई तीव्रता दिइने पनि बालेनको नीति रहेको छ ।
बहुआयामिक सहरी गरिबीलाई न्यूनीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने र सहरी अति गरिबहरुको लागि एक घर-एक रोजगारी वा उद्यमशीलताको सुनिश्चितता गर्दै निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
जेष्ठ नागरिकमा रहेको ज्ञान, अनुभव, क्षमता र सीपलाई पुस्तान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तथा जेष्ठ नागरिकको समाजिक सुरक्षा, स्वास्थ्य उपचार र पोषण सुविधालाई निरन्तरता दिइने महानगरको नीति छ । मागको आधारमा ७० वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकलाई निवासमै आधारभूत औषधी उपचार तथा फलोअपको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
क्याटेगोरी : समाचारट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह
तपाईको प्रतिक्रिया दिनुहोस