शक्तिकेन्द्र मिलाउन सिपालु विकलका विश्वासपात्र नवीन कसरी जोगिए ?


काठमाडौं । कोरोनाकालमा स्थापित विध ल्याबका ‘सेयर होल्डर’ हुन् नवीन तुलाधर । आईटी माफिया भ्रष्टाचार विकल पौडेलका विश्वास पात्र समेत रहेका नवीन भियतनाम र नेपाल आउँजाउँ  गरिरहन्छन् ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयका मालिक समेत रहेका नवीन विकलसँगको संदिग्ध कारोबारमा जोडिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ९ गते विकलविरुद्ध ६२ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायार गरेको थियो । उक्त मुद्दाको अभियोगपत्रमा विध ल्याबका मालिक नवीनको पनि नाम उल्लेख छ । उनको हकमा थप प्रमाण भेटिएको अवस्थामा अनुसन्धान गरिने अख्तियारले विशेषलाई जानकारी दिएको हो ।

विकलसँगको संदिग्ध कारोबारमा जोडिएका व्यक्तिहरु नवीनसहित राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा, सुबिसुका सुधिर पराजुली, म्याक्स इन्टरनेसनलका अकबर हुसेन, दीपक आनन्द, सरु थापा, देवकी खड्का, जुना न्यौपाने खत्री, प्रदीप कार्की, केशवराज बस्नेत, एलिसराज बस्नेत, विष्णुमाया राई, अरण श्रेष्ठ, विनयमान साउन रहेका छन् । उनीहरूको हकमा पनि अख्तियारले अभियोगपत्रमा उस्तै व्यहोरा उल्लेख गरेर विशेष अदालतमा पेस गरेको छ ।

स्वास्थ्य लाइभले २०७९ साउन १ मै “नवीनको डिजाइनमा आईटीदेखि औषधिसम्म माफियाराज” भनेर समाचार प्रकाशित गरिसकेको छ । उक्त सर्कलमा रहेका विकल पौडेल, सुनिल, पौडल, विशाल पण्डित, भीमकान्त भण्डारी, अकबर हुसेन, तुलहरि, दीपक भट्ट रहेका छन् । तीमध्ये अधिकांशलाई भ्रष्टाचार मुद्दा लागेको छ । तर, त्यसको डिजाइनर नवीन भने सधै उम्किँदै आएका छन् ।

नवीनको डिजाइनमा कोरोनाकालमा तुलहरिको ओम्नी स्वास्थ्य सामग्री खरिदमा छिरेको थियो । उक्त कम्पनी विवादमा आएपछि नवीन र भीमकान्त मिलेर विध ल्याब खोले । त्यसपछि सरकारी ठेक्का विध ल्याबको बर्चश्व कायम सुरु भयो ।

६० किलो सुन तस्करीमा नाइके दावा छिरिङसँग घनिष्ठ सम्बन्ध बनाएका भीमकान्तसँग नवीनको अत्यन्तै राम्रो सम्बन्ध रहेको पाइन्छ । नवीनले उनका भाइ राजेश र दिनेशलाई भन्दा भीमकान्तलाई बढी विश्वास गर्ने गरेका छन् । सुन तस्करी प्रकरणमा सीआईबी र जाँचबुझ आयोगले भीमकान्तलाई पटकपटक बयान लिइसकेको छ । हरेक कुराका ‘मास्टर माइन्ड’ नवीन आफू जोडिने वित्तिकै राज्य संयन्त्र मिलाउन खप्पिस छन् । त्यसैले अरुलाई मुद्दा लागेपनि नवीन भने जोगिँदै आएको छ ।

गत निर्वाचनमा निर्वाचन आयोगको ‘भिडिओ म्यानेजमेन्ट सिस्टम’को ठेक्का पनि नवीन-भीमकान्त कै विध ल्याबले हत्याएको थियो । सिसि क्यामेराको ठेक्कामा पनि उक्त कम्पनी जोडिएको देखिन्छ । स्वास्थ्य सेवा विभाग र अन्य प्रकारका खरिदमा पनि विध ल्याब आक्रामक तरिकाले लागेको पाइन्छ ।

नवीनलाई साथ दिने अर्का व्यक्ति हुन् दिनेश मानन्धर । उनी पनि आईटीका ठेक्कामा निकै सक्रिय बिचौलिया हुन् । सुरक्षण मुद्रण केन्द्रमा विकललाई दोहोऱ्याएर नियुक्ति गर्दा दिनेशले नै मध्यस्थकर्ताको भूमिका खेलेको चर्चा छ । कांग्रेस, एमाले, माओवादी, राजावादी र माफिया सबैसँग राम्रो सम्बन्ध भएका दिनेशको नवीन र विकलसँग पनि उत्तिकै घनिष्ठता रहेको पाइन्छ ।

दिनेश मानन्धर

हरेक घटनासँग जोडिएका नवीन अहिले झनै सक्रिय भएको चर्चा छ । नवीन-तुलहरि- अकबर हुसेनको ओम्नी-म्याक्स जेभीले विद्यालयमा सूचना प्रविधि (आईटी) ल्याब निर्माण गर्ने ठेक्का पाएदेखि उनी भियतनामभन्दा नेपाल बढी बस्न थालेका हुन् । विभिन्न शंकास्पद कारोबार र ठेक्कामा नवीनको नाम मुछिए पनि शक्ति केन्द्रले उनलाई जोगाउन काँध हालेको बुझिन्छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##विशाल पण्डित, #अकबर हुसेन, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #आईटी माफिया, #ओम्नी काण्ड, #तुलहरि, #दिनेश मानन्धर, #नवीन तुलाधर, #भीमकान्त भण्डारी, #माफियाराज, #विकल पौडेल, #विद्यालय आईटी ल्याब, #विध ल्याब

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ