प्रशासनको सहसचिवलाई जिम्मेवारी नदिँदा स्वास्थ्य मन्त्रालयका कर्मचारीले तलब खान पाएनन्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भद्रगोल बन्दै गएको छ । पुँजीगत खर्चमा एकदम कमजोर अवस्थामा पुगेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले तलब समेत खान पाएका छैनन् । स्वास्थ्यमन्त्री भएर प्रदीप यादव आएपछि कर्मचारीले अहिलेसम्म तलब खान नपाएका हुन् ।
गत जेठ १५ गतेबाट स्वास्थ्यको प्रशासन हेर्ने सहसचिव जयबहादुर भण्डारीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि त्यो महाशाखा खाली छ । भण्डारी घर जानुभन्दा हप्ता दिन अगाडि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट ल्याइएका सहसचिव मदन कोइराला जिम्मेवारीबिहीन अवस्थामा छन् । उनलाई जिम्मेवारी नदिँदा स्वास्थ्यका कर्मचारीले तलब खान नपाएका हुन् ।
स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका दुई जना सहसचिव रहेका छन् । एकजना प्रशासन र अर्को जनाले जनसंख्या हेर्दै आएका छन् । जनसंख्या हेर्ने सहसचिव विनोदबहादुर कुँवरले आर्थिक विषयमा कलम चोबल्न नमानेपछि स्वास्थ्यका कर्मचारी सुख्खा बनेका हुन् ।
कोइराला लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बसेर आएका व्यक्ति हुन् । अख्तियार बसेको व्यक्ति भनेर उनलाई जिम्मेवारी दिन डराएको हुन सक्ने स्वास्थ्यका अधिकारीहरु नै सुनाउँछन् । वीरबाट स्वास्थ्य मन्त्रालय आएका कोइरालालाई झन्डै एक महिनादेखि कुनै जिम्मेवारी दिइएको छैन । यसले गर्दा स्वास्थ्यको प्रशासन अस्तव्यस्त बनेको पाइन्छ ।
कोइरालाभन्दा पछि सरुवा भएर आएका प्रशासनका सचिव हरिप्रसाद मैनालीले जिम्मेवारी पाइसकेको छन् । तर, उनकै मातहतको सहसचिवले जिम्मेवारी नपाउनु र कर्मचारीले तलब खान नपाउनुले सचिव मैनालीको निर्णय र अडान लिन सक्ने क्षमतामाथि पनि प्रश्न उठेको छ ।
सहसचिव कोइराला सामान्य प्रशासन मन्त्रालयमा बसेर राम्रै काम गर्ने व्यक्तिमा पर्छन् । बागमतीको पर्यटन सचिव हुँदा र प्युठानको प्रमुख जिल्ला अधिकारी हुँदा पनि खासै विवादमा आएनन् । मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री हुँदा वीर अस्पतालमा बिरामीलाई खाना खुवाउने बजेट कटौती हुँदा त्यसलाई व्यवस्थापन गर्न पनि उनी सक्रिय रहेका थिए । पछि बजेट आएर कार्यक्रमले निरन्तरता पायो । त्यस्ता व्यक्तिलाई लामो समयदेखि जिम्मेवारीबिहीन बनाउनुले स्वास्थ्य मन्त्रालयको आलोचना हुन थालेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मदन कोइराला
तपाईको प्रतिक्रिया दिनुहोस